चमेरे नीति



चीनदेखि अमेरिकासम्म र कोरियादेखि युरोपेली मुलुकसम्ममा जति सरकार छन् तीभन्दा कोरोना भाइरस नै शक्तिशाली भएको प्रमाण विश्व स्वास्थ्य संगठनले नै सार्वजनिक गरिसकेको छ।

तर, नेपाल सरकार यी सबैभन्दा फरक देखिएको छ। कोरोनाको ग्राफले विश्वमा आकाश छुन लागिरहेका बेला यसले एसईई परीक्षाको घोषणा गरेको छ जो भोलि बिहीबारदेखि नेपालभर शुरू हुँदै छ।

दुईतिहाइ बहुमतको सरकारले कोरोना भाइरससँग झुक्ने कुरा सह्य थिएन र ऊ झुकेन पनि। तर, सरकारले के बुद्धि पनि लगायो भने, ‘बालीमा नमिलेको फाली’ हुनु पनि भएन। संसार कोरोना भाइरसका कारण आतंकित भइरहेका बेला आफू भने केही नभएको जस्तो गर्नु पनि भएन। भनिन्छ नि– ‘एउटा मात्र सद्दे गोडा भएको जमातमा उभिन पुग्दा आफूले पनि खुट्टा खोच्याउनु रे! त्यही भएर मन नलागी नलागी तीन साता विद्यालय गर्ने निष्कर्षमा सरकार पुग्यो। कस्तो मध्यमार्गी निर्णय’

कतिले भन्न सक्छन्, यो अवैज्ञानिक भयो– ‘विद्यालय बन्द गर्ने परीक्षा चाहिँ चलाउने, यस्तो के निर्णय हो ? तर, यसको जवाफ सरकारले दिनै पर्दैन, धरहराले नै दिन्छ।’ जवाफ हो– दुई जिब्रे सर्प र दोहोरो चरित्रको चमेरोबाट शुरू भएको भाइरसको सामना दोहोरो चरित्र देखाएरै गर्नु बुद्धिमानी हुन्छ, कि कसो ?

प्रतिक्रिया दिनुहोस्