कोरोना गेट



उहिल्यै धरहराको पालामा एसएलसी दिइन्थ्यो र परीक्षा उत्तीर्ण गरेपछि– आइरन गेट पार गरिस् स्याबास् भनिन्थ्यो। तर, अब एसएलसी भनिन्न, एसईई अर्थात् विद्यालय शिक्षा परीक्षा भनिन्छ। एसईई नाम दिएपछि आइरन गेट भन्ने कि नभन्ने भन्ने धरहरालाई अलमल थियो, तर यसपटकका लागि भने धरहरा चिन्तामुक्त भएको छ– मजाले कोरोना गेट भन्ने।
कोरोना भाइरसको महामारी चलिरहेका बेला दिने जाँचलाई अरू नामकरण गर्नै कुरै भएन।
कति बुद्धिजीवी, शिक्षाविद् र डाक्टरहरू भन्ने गर्छन्, ‘यस्तो कोरोना भाइरसको संक्रमण चलिरहेका बेला मानसिक दबाबमा रहेका विद्यार्थीले कसरी जाँच दिने, १५ दिन जाँच पर सारेर के बिग्रिन्छ ?’ तर, धरहरा यस्ता तर्कसँग कत्ति पनि सहमत छैन।
नेपाली भनेका वीर गोर्खाली हुन्, उनीहरू कोरोना–फोरोनासँग डराउनेवाला छैनन्। कोरोनासँग अमेरिका डरायो, चीन तस्र्यो, युरोप आत्तियो तर, हामी सामान्य छौं। आत्तिने कुरै आउँदैन। बरु मौका यही हो अरूलाई उछिन्ने।
अमेरिका, चीनजस्ता महाशक्ति र महाशक्ति उन्मुख मुलुकहरू क्वारेनटाइनमा बसेका बेला हामी भने फटाफट प्रगति गरेर अघि बढ्नुपर्छ ! लगाउने हो र विद्यार्थीलाई दबाब दिएर हुन्छ कि धम्क्याएर हुन्छ, बिहीबारदेखि एसईईको जाँच दिन लगाउने नै हो ⁄

प्रतिक्रिया दिनुहोस्