जनयुद्ध कि धनयुद्ध ?

0
Shares

१७ हजार नागरिकले ज्यान गुमाएको १० वर्षे सशस्त्र जनयुद्ध फागुन–१ बाट शुरू भएको धरहरालाई राम्ररी थाहा छ। चाहे त्यो राज्य पक्ष वा तत्कालीन विद्रोही पक्ष जोसुकैले
मारेका होऊन्, मारिने १७ हजार त नेपाली नै हुन्। हिजो फागुन–१ गते तत्कालीन माओवादीले शुरू गरेको जनयुद्ध २५ वर्ष पुगेको छ। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर २२ महिनाअघि नेकपा बनेसँगै जनयुद्ध दिवस मनाउने तरिका पनि फेरिएको छ।

नेकपाले जनआन्दोलन र जनयुद्ध दिवस नाम दिएको छ। पार्टी एकता भएको दुई वर्ष पुग्दासमेत पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने जनयुद्ध दिवसमा सहभागी हुन मन गरेका छैनन्। बिहीबार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा नेता र कार्यकर्ता टुलुटुलु प्रधानमन्त्री ओलीको बाटो हेर्दै थिए।

कारण थियो, पार्टीले लिखित रूपमा नै ओली जनयुद्ध दिवसमा सहभागी हुने भनेर गरेको पत्राचार। कुर्दा–कुर्दा ओली नआएपछि नेकपाले ओलीको सहभागिताविना नै जनयुद्ध दिवस मनाएको छ। विगतमा पनि ओली जनयुद्ध दिवसमा आउँछु–आउँछु भनेर अन्तिममा सन्चो भएन, भनेको दृश्य धरहराले देखेको थियो।

यस वर्ष पनि त्यस्तै भयो अन्तिममा प्रम ओली स्वास्थ्यको कारण देखाउँदै जनयुद्ध दिवसमा सहभागी भएनन्। धुम्बाराहीमा जनयुद्ध दिवस मनाउँदै गर्दा नेता र कार्यकर्ताले नेतृत्वलाई कानेखुसी गर्दै थिए, होइन यो जनयुद्ध हो कि धनयुद्ध हो ?