धुलिखेल अस्पतालमा ‘मेडिको लिगल’ सेवा



मोतिराम तिमिल्सिना काभ्रे

धुलिखेल अस्पतालले विशेषज्ञ सेवासहित पहिलोपटक मेडिको लिगल सेवा सञ्चालनमा ल्याएको छ। माघ १ गतेदेखि सञ्चालन गर्ने अनुमति प्राप्त गरेको अस्पतालले सेवाका बारेमा सरोकारवालालाई जानकारी गराएको छ।

काठमाडांै विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पताल नमुना अस्पतालका रूपमा अगाडि बढिरहेकाले यसले दिने सेवा नमुना हुनुपर्ने बताउनुभयो। गर्दागर्दा सिक्न र बुझ्न सकिने बताउँदै विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले मान्छेलाई सत्य कुरा बताउन सक्दा मात्रै सन्तुष्ट बनाउन सकिने बताउनुभयो।

डाक्टरी पेसा त्यस्तै भएकाले मान्छेभित्र भएको सत्य पत्ता लगाइदिन कन्जुस्याइँ नगर्न उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा जिल्ला न्यायाधीश पुरुषोतम ढकालले अनुसन्धानमा सहजता र न्याय सम्पादनमा सहयोग पुग्ने गरी अस्पतालले शुरू गरेको मेडिको लिगल सेवालाई गुणस्तरीय बनाउन सुझाव दिनुभयो।

कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक डा. रमेश माकजु श्रेष्ठले धुलिखेल अस्पतालले विशेषज्ञसहितको सेवामा ध्यान दिएको बताउनुभयो। फरेन्सिक मेडिसिन एसोसियट प्रोफेसर डा. राजकुमार कार्कीले ध्ुलिखेल अस्पतालले मेडिको लिगल शव परीक्षण र क्लिनिकल मेडिको लिगल परीक्षण सेवा शुरू गरेको बताउनुभयो।

३ जना विशेषज्ञसहितको टोलीले धुलिखेल अस्पतालमा २४सै घण्टा सेवा प्रदान गर्नेछ। विद्यार्थीहरूका लागि अध्ययनसमेत गराउँदै ५० दिने इन्टर्नसिपको समेत व्यवस्था गरिएको छ। नेपालमै पहिलोपटक विद्यार्थीहरूका लागि धुलिखेल अस्पतालले यस्तो प्रकारको सेवा शुरू गरेको हो। धुलिखेल अस्पतालले यस्तो सेवाका लागि बिगत धेरै वर्षदेखि प्रयास गरिरहेको थियो।

पूर्वाधारसहितका आधुनिक संरचना निर्माण गरी अलग्गै भवनसहितको व्यवस्थापन, जनशक्तिको व्यवस्थापनबाट मात्रै यो सेवा सञ्चालन सम्भव भएको अस्पतालका प्रमुख प्रशासक रमेश माकजुले बताउनुभयो।

कार्यक्रममा अस्पतालका प्रधुम्न श्रेष्ठले धुलिखेल अस्पतालले विभिन्न खालका सेवाहरू प्रदान गरिरहेको अवस्थामा यो फरक खालको सेवा शुभारम्भ गरी नागरिकको सेवामा अझै जिम्मेवार बन्दै गएको बताउनुभयो। कार्यक्रममा डा. जिनेश आचार्य, डा. पकंजकुमार सिंहलगायतले मेडिको लिगल सेन्टरका बारेमा बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्