हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान शुरू



विष्णु तिमिल्सिना, बर्दिया

राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्र्तगत आमऔषधि सेवन अभियान २०७६ बर्दियालगायत नेपालका १३ जिल्लामा सप्ताहव्यापी रूपले शुरू भएको छ।बर्दिया जिल्लाको गुलरिया नगरपालिकामा उक्त कार्यक्रमको शुभारम्भ वडा नं. ६ मदरसा विद्यालयमा आयोजित औषधि सेवन कार्यक्रममा नगरप्रमुख मुक्तिनाथ यादवले औषधि सेवन गरी गर्नुभयो।

सोही अवसरमा जिल्लाका कार्यालय प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधि, सञ्चारकर्मीले पनि औषधि सेवन गर्नुभएको थियो।
त्यसैगरी गुलरिया नपा वडा नं. ७ चौगुर्जीस्थित हिमाली आधारभूत विद्यालयमा रहेको बुथमा सोही वडाको वडाअध्यक्ष गीता बस्नेतले औषधि सेवन गरी अभियानको शुभारम्भ गर्नुभएको थियो।

सोही ठाउँमा स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डे, गैरसरकारी संस्था महासंघका विष्णु तिमिल्सिना, सञ्चारकर्मीहरू दीपक शर्मा र मुरली गोडियालगायतका व्यक्तिहरूले औषधि सेवन गर्नुभएको थियो।

विगत वर्षहरूमा औषधि सेवनको दर कम भएका गुलरिया नगरपालिकाअन्र्तगतका औषधि सेवन गर्ने बुथहरूमा समुदायमा उत्प्रेरणा जगाउनका लागि कार्यालय प्रमुख, जनप्रतिनिधि, बुद्धिजीवीहरू सो ठाउँमा गई औषधि सेवन गर्ने उद्देश्यअनुरूप विभिन्न ठाउँमा गएर औषधि सेवन गरेको कुरा गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताउनुभयो।

स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीको नेतृत्वमा जिल्ला अस्पताल बर्दिया व्यवस्थापन समितिका अध्यक्ष अंगत श्रेष्ठलगायतको टोलीले जिल्लाका विभिन्न स्थानमा औषधि सेवनको अवस्थाको विषयमा अनुगमन गर्नुभएको थियो।

उक्त अनुगमनको क्रममा प्रमुख गिरीले पहिलो दिन बढीमा ५० प्रतिशत र कम्तीमा १० प्रतिशत व्यक्तिहरूले औषधि सेवन गरेको जानकारी गराउँदै समुदायमा एक वा दुई जनाले मात्र औषधि सेवन गरेर हात्तीपाइले रोग निवारण नहुने भएकाले हामी सबै बर्दियालगायतका जनताहरूले औषधि सेवन गरी उक्त रोग निवारण अभियानलाई सफल पार्नुपर्ने बताउनुभयो।

यो रोग तीन प्रजातिका मसिनो धागोजस्तै परजीवीका कारणले हुने र संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकाले उक्त रोगविरुद्ध हामी सबैले पहिला औषधि सेवन गरेका वा नगरेका व्यक्तिहरूले औषधि सेवन गर्न आवश्यक भएको छ।

हात्तीपाइले रोगविरुद्धको औषधि विगत ८ वर्षदेखि ६३ वटा जिल्लामा अभियानका रूपमा सञ्चालन भई ५० वटा जिल्लामा निवारण भइसकेको र बाँकी १३ जिल्लामा गलत बुझाइका कारण सेवन गर्न हिच्किचाइ औषधि सेवन नगर्नाले यो अभियानलाई निरन्तरता दिइरहनुपरेको हुँदा औषधि सेवन गर्ने दर १ प्रतिशतभन्दा कम नहुञ्जेलसम्म यो अभियान जारी रहने कुरा प्रमुख गिरीले बताउनुभयो।

स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी तथा जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बजार क्षेत्रभन्दा ग्रामीण इलाकामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनको दर उच्च देखिएको बताउनुभयो। जिल्लामा औषधि खुलाउने अभियानमा जम्मा ४ सय जना स्वास्थ्यकर्मी र ८ सय ४१ जना महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गरिने कुरा उहाँले जानकारी गराउनुभयो।

संक्रमित लामखुट्टेको टोकाइबाट हुने हात्तीपाइले रोगका तत्काल देखिने लक्षणहरूमा जाडो लागी ज्वरो आउनु, शरीरमा कम्पन छुट्नु, लिम्फ नलीहरू सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीलाकाला धर्साहरू देखिनु, गिर्खाहरू बढ्नु, दुख्नु, पुरुषको अण्डकोष वरपरका नसाहरू फुल्नु, दुख्नु र दीर्घकालिन रूपमा देखिने लक्षणहरूमा पुरुषको अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खाहरू भेटिनु, अण्डकोष वरिपरि पानी भरिएर हाइड्रोसिल हुनु, महिलामा स्तन वा यौनाङ्ग सुन्निनु, दुख्नु, खुट्टा सुन्निएर हात्तीपाइले हुनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुख्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इयोसिनोफिलको मात्रा बढ्नु हो।

यो रोग विश्वका ७० भन्दा बढी मुलुकहरूमा पाइएको छ। यी देशहरूमा बसोबास गर्ने १ अरब ४० करोडभन्दा बढी मानिसहरू यस रोगको संक्रमणको जोखिममा रहेका छन्। हाल १२ करोड मानिसहरू संक्रमित भइसकेको अनुमान गरिएको छ। यीमध्ये १.५ करोड मानिसहरू हात्तीपाइले र २.५ करोड मानिसहरू अण्डकोष तथा यौनाङ्ग सुनिएको पाइएको छ। बाँकी २ तिहाई ८ करोड मानिसहरूमा सामान्य लक्षण देखापरेको छ।

यस कार्यक्रमबाट रोग फैलनुबाट रोक्नु र बिरामीको संख्यामा कमी ल्याउनु तथा रोगका बिरामीहरूलाई दीर्घ रोग, अशक्त र कुरूपता हुनबाट बचाउने उद्देश्य राखिएको छ। यस अभियानअन्र्तगत डीईसी (डाइईथाईलकार्वामाजिन) चक्की र अल्वेन्डाजोल चक्की खुवाइनेछ। यो औषधि दुई वर्षमुनिका बच्चाहरू, गर्भवती महिलाहरू, सिकिस्त बिरामीहरू र छारे रोग लागेका बिरामीबाहेक सबै व्यक्तिले सेवन गर्न जरुरी रहेको छ।

प्रतिक्रिया दिनुहोस्