भ्रमण वर्षको प्रचारप्रसार गर्न म्याग्दीमा माघेसङ्क्रान्ति मेला आयोजना



प्रताप बानियाँ, म्याग्दी ।

नेपाल भ्रमण वर्ष–२०२० को प्रचारप्रसार गर्ने उद्देश्यसहित हिमाली जिल्ला म्याग्दीमा माघेसङ्क्रान्ति मेला लगाइने भएको छ । परम्परागत रुपमा लाग्दै आइरहेको माघेसङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि मेलाको आयोजना गरिएको हो ।

नेपाल भ्रमण वर्ष–२०२० लाई म्याग्दीमा पनि शुभारम्भ गर्नेगरी आगामी पुस २९ देखि माघ १ गतेसम्म माघेसङ्क्रान्ति मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा यसवर्ष पनि माघेसङ्क्रान्ति मेला आयोजना गरिएको छ । माघी मेलालाई निरन्तरता दिनका लागि मेला लगाइने बताइएको छ ।

मेलाका बारेमा जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, पर्यटकीय क्षेत्रहरुको फोटो प्रर्दशनीसहित मेला आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापति सुनिता केसीले बताइन् ।

मेलाको मूल संयोजक समेत रहेकी सभापति केसीले माघेसङ्क्रान्ति मेलाको तयारी सुरु गरिएको बताउँदै सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएका बताएकी छिन् । उनका अनुसार मेलामा खुल्ला एकल लोकनृत्य तथा नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता राखिएको छ ।

यसैगरी खुल्ला अन्धनिसान, महिला/पुरुष छेलो फ्याँक्ने, महिला/पुरुष लठो तान्ने प्रतियोगिता पनि आयोजना गरिएको सभापति केसीको भनाइ छ । त्यस्तै स्थानीय जातजातिको कला र संस्कृतिको संरक्षणसहितका कार्यक्रमहरु प्रमुख आकर्षणका रुपमा रहेका छन् । लोकगीतमा जिल्लाका सबै स्थानीय तहलाई समेट्ने गरी सहयोगको प्रतिबद्धता प्राप्त भएको बताइएको छ ।

मेलाको अवसरमा सदरमुकाम बेनीमा जातीय भेषभूषासहित बजार परिक्रमा गरिने भएको छ । मेलामा आर्कषक नृत्य मयुर नाचलाई समेत ल्याउने पहल भैरहेको छ भने मेला अवधिभर महिला उद्यमीको उत्पादनलाई बिक्री वितरणको विशेष व्यवस्था रहेको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजना गरिने मेलामा जिल्लाभित्रका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रलाई समेटेर फोटो प्रर्दशनी गरिनेछ । कुल नौलाख ३५ हजारको आयव्यय प्रस्तुत गरिएको कार्यक्रममा करिब ४० हजार बचत गर्ने लक्ष्य रहेको आयोजक संस्थाका कोषाध्यक्ष सिर्जना भट्टचनले बताइन् ।

पत्रकार सम्मेलनमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले माघेसङ्क्रान्ति मेलाको अवसर पारेर नेपाल भ्रमण वर्ष–२०२० को म्याग्दीमा शुभारम्भ गरिने जानकारी दिए ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा, द्वितीय उपाध्यक्ष राजेश शाक्य, महासचिव लिलाराम गौतमलगायत महिला उद्यमीको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन महिला उद्यम विकास समितिका महासचिव विष्णु गुरुङ र समापन प्रथम उपाध्यक्ष लक्ष्मी भण्डारी कार्कीले गरेकी थिइन् । हरेक ३ वर्षको अन्तरालमा जिल्लामा म्याग्दी महोत्सव तथा वर्षैपिच्छे माघेसङ्क्रान्ति मेला आयोजना गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्