सुनसरी ।
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरानका पूर्वमेयर हर्क साम्पाङविरुद्ध उनकी जेठी पत्नी दिलमाया राईले दायर गरेको अंश मुद्दामा सुनसरी जिल्ला अदालतले दिलमायाको पक्षमा फैसला गरेको छ।
जिल्ला अदालतका न्यायाधीश मणिराम न्यौपानेको इजलासले वादी–प्रतिवादीबीच यसअघि कानुनबमोजिम अंशबण्डा भएको प्रमाण नदेखिएको भन्दै सम्पत्तिमा पाँच अंशियार कायम गरी अंश छुट्याउनुपर्ने फैसला गरेको हो। अदालतको उपलब्ध कागजातमा साम्पाङको नाम हर्कराज राई उल्लेख छ।
अदालतले हर्कराज राई, उनका दाजुहरू आशयकुमार राई र एकराज राई, आमा जसामाया राई तथा मूल पुरुषतर्फकी जेठी पत्नी धनकुमारी राईलाई पाँच अंशियार कायम गरेको छ।
फैसलाअनुसार समग्र अंश लाग्ने सम्पत्तिलाई पाँच भाग लगाउँदा हर्कराजको हिस्सा १/५ हुने र उक्त हिस्सालाई हर्कराज, दिलमाया र उनीहरूकी छोरी एलिसाबीच तीन भाग लगाउँदा दिलमायाले समग्र अंश लाग्ने सम्पत्तिबाट १/१५ हिस्सा पाउने देखिन्छ।
दिलमायाले २०७३ असोज ६ गते दायर गरेको फिरादमा हर्कराजसँग २०५४ पुस ८ गते प्रेम विवाह भएको र उनीहरूबाट छोरी एलिसा राई रहेको उल्लेख गरेकी थिइन्। आफूहरूबीच कानुनबमोजिम अंशबण्डा नभएको भन्दै उनले अंश माग गरेकी थिइन्।
फिरादमा उनले वैवाहिक जीवनमा झै–झगडा तथा कुटपिट हुने गरेको र आफूलाई घरबाट निकालिएको दाबीसमेत गरेकी थिइन्। यी दाबीमाथि अदालतले पेस भएका प्रमाण, बयान तथा तायदाती फाँटवारीसमेत अध्ययन गरेको फैसलामा उल्लेख छ।
यसैगरी, आशयकुमार राईको नाममा रहेका केही जग्गा ब्रिटिस सेनामा काम गरी कमाएको रकमबाट खरिद गरिएको भन्दै निजी आर्जन भएको दाबी प्रतिवादी पक्षबाट गरिएको थियो। तर उक्त दाबी पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको भन्दै अदालतले ती सम्पत्तिलाई अंशबण्डाबाट अलग राख्ने आधार नरहेको ठहर गरेको छ।
अदालतले दर्ता स्रेस्तामा कायम अंश लाग्ने सम्पत्ति पाँच भागमा विभाजन गरी कानुनबमोजिम अंश छुट्याउनुपर्ने तथा हर्कराज राईको हिस्साबाट दिलमायाको अंश कायम गर्नुपर्ने फैसला गरेको छ।











प्रतिक्रिया