स्तनपान प्रवर्द्धनमा कार्यस्थलदेखि कानुन कार्यान्वयनसम्म जोड

छ महिनाको तलबसहित प्रसूति बिदा कार्यान्वयन गर्न आह्वान

0
Shares

१० मध्ये सात शिशुले मात्रै पाउँछन् पूर्ण स्तनपान

काठमाडौँ .

नेपालमा छ महिनाभन्दा कम उमेरका १० मध्ये करिब सात शिशुले मात्र पूर्ण स्तनपान पाउने गरेको तथ्य सार्वजनिक भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने अभ्यास पनि अपेक्षाअनुसार हुन नसकेको भन्दै छ महिनाको तलबसहितको प्रसूति बिदा शीघ्र कार्यान्वयन गर्न, स्तनपानमैत्री कार्यस्थल बनाउन तथा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको अनुचित बजारीकरण नियन्त्रण गर्न आह्वान गरिएको छ ।
न्यूटि्सन फेलोसिपका विद्यार्थी तथा युवा स्वास्थ्यकर्मीले नेपालमा स्तनपानको संरक्षण, प्रवद्र्धन र सहयोगका लागि सरकार तथा सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

नेपाल बहुसूचक सर्वेक्षण २०२४–२५ अनुसार छ महिनाभन्दा कम उमेरका शिशुमध्ये १० मध्ये सात जनाले मात्र पूर्ण स्तनपान पाउने गरेका छन् । त्यस्तै, जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्ने नवजात शिशुको संख्या १० मध्ये चारभन्दा कम रहेको फेलोसिपको विश्लेषणमा उल्लेख छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्न तथा जन्मेको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराउन सिफारिस गर्दै आएका छन् । पूर्ण स्तनपान भन्नाले आमाको दूधबाहेक पानीसमेत अन्य कुनै खाना वा पेय पदार्थ नदिई स्तनपान गराउनु हो । छ महिना पुगेपछि पौष्टिक पूरक आहार सुरु गर्दै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरिएको छ ।

न्यूटि्सन फेलोसिपका अनुसार आमाको दूधले शिशुलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै प्रतिरोधात्मक तत्वमार्फत विभिन्न रोगबाट जोगाउन र स्वस्थ शारीरिक तथा मस्तिष्क विकासमा सहयोग पु¥याउँछ । स्तनपानका फाइदा बाल्यकालपछि पनि कायम रहने र स्तनपान गरेका बालबालिकामा बढी तौल तथा मोटोपनको सम्भावना कम हुने अध्ययनहरूले देखाएका छन् । स्तनपान आमाको स्वास्थ्यसँग पनि जोडिएको भन्दै फेलोसिपले स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्ने उल्लेख गरेको छ ।

बिदा र स्तनपानबीच प्रत्यक्ष सम्बन्ध

नेपाल सरकारले कम्तीमा छ महिनाको तलबसहितको प्रसूति बिदा र ४२ दिनको तलबसहितको पितृत्व बिदा उपलब्ध गराउने प्रस्ताव अघि बढाउनु महत्वपूर्ण कदम भएको फेलोसिपकोको धारणा छ । लामो अवधिको तलबसहितको प्रसूति बिदाले आमालाई प्रसूतिपछि स्वास्थ्यलाभ गर्न, नवजात शिशुको हेरचाह गर्न र स्तनपान स्थापित गर्न आवश्यक समय उपलब्ध गराउने भएकाले यसलाई महिला अधिकार र सम्मानसँग समेत जोडिएको छ ।

प्रस्तावित पितृत्व बिदाले भने नवजात शिशुको हेरचाहमा बुबाको सहभागिता बढाउने तथा आमाको स्वास्थ्यलाभ, स्तनपान र घरायसी जिम्मेवारीमा सहयोग गर्ने वातावरण निर्माण गर्न सक्ने फेलोसिपको भनाइ छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लिला विक्रम थापाले आमालाई छ महिनाको तलबसहितको प्रसूति बिदा उपलब्ध गराउनु महत्वपूर्ण कदम भएको बताउनुभएको छ । उहाँका अनुसार पोषण शाखा र परिवार कल्याण महाशाखाले साझेदार संस्था तथा समुदायसँगको सहकार्यमा पर्याप्त परामर्श तथा स्तनपान सहयोग सुनिश्चित गर्न काम गरिरहेको छ ।

स्तनपानको अभ्याससँगै बोतलबाट दूध खुवाउने प्रवृत्तिप्रति पनि ध्यान दिनुपर्ने देखिएको छ । एनएमआइसिएस २०२४–२५ अनुसार नेपालमा दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बोतलबाट दूध खुवाउने दर २८ प्रतिशत रहेको छ । बागमती प्रदेशमा यस्तो दर ५१ प्रतिशत पुगेको फेलोसिपले तयार पारेको सामग्रीमा उल्लेख छ । नेपालले पुड्कोपनसम्बन्धी लक्ष्य हासिल गरेको भए पनि रक्तअल्पत्ता र स्तनपानसम्बन्धी अभ्यासमा रहेका कमी अझै चुनौतीका रूपमा रहेको फेलोसिपको विश्लेषण छ ।