भीषण वर्षाको सम्भावना : असोज ८ र ९ गते विद्यालय बिदा गर्न आग्रह


काठमाडौँ।

सम्भावित भीषण वर्षा तथा विपद्को जोखिमलाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालयमा बिदा गर्न अनुरोध गरेको छ।

मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको पत्रमा असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुनसक्ने जनाएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको समेत सम्भावना रहेको उल्लेख गरिएको छ।

मौसम प्रतिकूल हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रह गरेको छ।

त्यसैगरी, विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने भनिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले सम्भावित विपद्का समयमा सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न पनि आग्रह गरेको छ।

यस्तै, अभिभावकलाई बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन र उनीहरूलाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन मन्त्रालयले अनुरोध गरेको छ।