इजरायल नेपाली कामदारहरुका लागि निकै आकर्षक मुलुक बनेको छ । इजरायल पुग्न निकै गाह्रो छ तर त्यहाँ पुगिसकेपछि काम पाउन कुनै गाह्रो छैन र आम्दानी पनि आकर्षक रहेको छ । द्वन्द्वग्रस्त मुलुकका रुपमा परिचित भए पनि त्यहाँ काम गर्न जानेले त्यस्तो कुनै अप्ठ्यारो अनुभूति गर्देैनन् । सिन्धुपाल्चोक घर भएका सांगे तामाङ भारत भएर इजरायल गएको धेरै भएको छैन तर उनले मासिक करिब ६ लाख नेपाली रुपियाँ कमाउँछन् । त्यो पनि हप्तामा पाँच दिन मात्र काम गर्छन् । दिनभरि काम गरेर साँझ १० बजेतिर जेरुसेलम बजारतिर साथीहरुसँग घुम्दै गरेका तामाङले हामी नेपालबाट गएका सम्पादकहरुसँगको भेटमा भन्दै थिए, ‘दिनभरि काम ग¥यो अनि साँझपख एक–दुई घण्टा बाहिर घुम्यो अनि राति सुत्यो, आनन्द छ ।’ द्वन्द्वग्रस्त मुलुकमा राति हिँड्दा डर लाग्दैन त ? भन्ने मेरो प्रश्नमा उनी भन्दै थिए, ‘केही डर हुँदैन, किनकि राति १२–१ बजेसम्म बालबच्चा, वृद्धवृद्धाहरुसमेत सडकमा निस्किन्छन् । त्यतै खानपिन र रमाइलो गर्छन् । त्यस्तो डर–त्रास भन्ने केही अनुभूति हुँदैन, किनकि कतैबाट बम प्रहार हुँदै छ भन्ने जानकारी हुनासाथ मोबाइलमा म्यासेज आउँछ, साइरन बज्छ अनि सुरक्षित स्थान (सेफ हाउस) बंकरमा जाने गर्छन् । अनि एकैछिन्मा बंकरवाट निस्के हुन्छ भन्ने म्यासेज आउँछ ।’
हामीले यहाँबाट हेर्दा कति गाह्रो होलाजस्तो लागे पनि सर्वसाधारण बिन्दास देखिन्छन् । साँझमा डान्स रेस्टुरेन्ट या बारमा मात्र नभई चोक–चोकमा संगीतको धुन बजाएर नाच्न शुक्रबार पर्खिनुपर्दैन । जनतालाई तिमीहरू सकेको खुशी मनाऊ, सुरक्षाको अनुभूति दिलाउने काम हाम्रो हो भन्ने कुरा त्यहाँको सरकारले भन्ने रहेछ । ‘शत्रु पक्षले रकेट बम प्रहार गरी आक्रमण गर्न खोजेको रहेछ भने त्यो समुद्रतिरै डिस्पोज गरिदिन्छ । त्यसैले कुनै त्रास भन्ने हामीले ठान्दै ठान्दैनौं’, सांगे तामाङ भन्दै थिए । उनको भनाइ एउटा प्रतिनिधिमूलक हो । इजरायलमा हुने नेपाली वा अन्य देशका नागरिकको पनि त्यही भनाइ थियो । तामाङका अनुसार नेपालले इजरायल जान सहज रुपमा खुला गरिदिएमा नेपालीहरु अन्य खाडी मुलुकमा गएर दुःख पाउने थिएनन् । खाडी मुलुकमा सन्तोषजनक कमाइ त के, धेरै नेपाली दुई–तीन वर्ष बसेर नेपाल फर्किंदासमेत रित्तै फर्किने गरेका कैयौँ दुःखदायी कहानी छन् । तर इजरायलमा हप्ताको पाँच दिन, त्यो पनि दैनिक ८ घण्टा काम गरेर ६ लाख रुपियाँसम्म कमाइ हुन्छ । त्यस्तो मुलुकका लागि नेपाल सरकारले खुला गर्नुपर्छ ।
सरकारले त्यसरी जान नदिने गरेको कारण सांगे तामाङसहित धेरै नेपाली भारत भएर त्यहाँ जाने गरेका रहेछन् । उनी भन्छन्, ‘हामी धेरै भारत भएर इजरायल आएका छौं । यहाँको सरकारले काम गर, दुई दिन आराम गर, रमाइलो गर भन्छ । त्यसैले हामी खुशी छौं । बर्सेनि घरमा राम्रै पैसा पठाएका छौं । विकास छ, पैसा छ, काम गर्न आनन्द छ । त्यसैले त जीटुजेबाहेक कम्तीमा ५ हजारभन्दा बढी नेपाली भारत भएर इजरायल गई काम गर्छन् । वर्षको एकपटक आफ्नो देश जान पाइन्छ । कन्स्ट्र«क्सन वा अन्य क्षेत्रमा काम पाउन कुनै गाह्रो छैन । लडाइँ छ र पनि हरेक हिसाबले अगाडि बढेको छ इजरायल । युद्ध भए पनि नागरिकहरु असुरक्षित महसुस गर्र्देैनन् । त्यसैले त नेपालीलगायत अन्य देशका नागरिकहरु त्यहाँ काम गर्न जान पाउँदा निकै खुशी हुन्छन् ।’
कृषिमा संसारमै नाम कमाएको इजरायलमा कृषि फार्महरुमा काम गर्ने नेपालीको संख्या उल्लेख्य छ । नेपालीहरुको कामप्रति इजरायल सरकार सन्तुष्ट पनि छ । त्यसै गरी केयरगिभरमा रहेका नेपालीहरुले पनि पाँच वर्ष मात्र होइन, कम्तीमा १० वर्ष काम गर्न पाउनुपर्ने माग गर्न थालेका छन् । भाषा सिकेर सबै बुझेको हुन्छ अनि घर फर्किने बेला हुन्छ, त्यो हुनुभएन । केयरगिभरको रुपमा काम गर्दै गरेका नेपालीहरुको एउटै स्वर थियो, ‘पाँच वर्ष होइन, १० वर्ष बनाउनुपर्छ । नेपालीहरुलाई खुला रुपमा काम गर्न जान सक्ने वातावरण बनाउनुपर्छ । होइन भने इजरायलमा जस्तो मासिक ५ देखि ६ लाख कमाउने गरी रोजगारीको वातावरण नेपाल सरकारले बनाउनुपर्छ ।’
नेपाल र इजरायल सरकारवीच भएको सम्झौताअनुसार केयरगिभर, खेती, गाई फार्म, डेरी उद्योगलगायतका क्षेत्रमा नेपालीहरुलाई पठाउँदा पाँच वर्षका लागि पठाउने गरिन्छ । एक हजार पठाउने गरी माग भएको छ भने २० हजारभन्दा बढीले आवेदन दिने गरेका छन् । मरुभूमिको देशमा समुद्रको पानी प्युरिफाइ गरेर खानेदेखि कृषि, फलफूल खेतीमा लगाइन्छ । त्यो देशले आफनो देशलाई पूर्ण बनाई संसारका धेरै देशमा तरकारी, फलफूल पु¥याउँछ तर हाम्रो कृषिप्रधान देश भए पनि त्यसको उपयोग गर्न सकिएको छैन । एक इजरायली कृषि विज्ञले भन्दै थिए, ‘तिमीहरुको जस्तो देश भएको भए त हामीले संसारका धेरै मुलुकमा तरकारी, फलफूल पु¥याउँथ्यौं ।’
१६ वर्ष उमेर पुगेपछि सबैलाई दिइने सैनिक तालिमले परेको बेला सबैजना देशका लागि खटिने सुन्दर पक्ष उदाहरणीय रहेको छ । इजरायलमा तालिम लिएर नेपाली सेनाको प्याराटुप्स स्थापना, त्यसपछि कृषि विज्ञताको आदानप्रदानले गर्दा अहिले इजरायल वैदेशिक रोजगारीको आकर्षणको केन्द्र बनेको छ । जति युद्ध भए पनि मुलुकलाई सिस्टममा चलाउने हो भने विकास हुँदो रहेछ भन्ने इजरायलबाट सिक्न सकिन्छ ।
करिब ३ हजार वर्षभन्दा बढीको इतिहास बोकेको जेरुसेलम यहुदी, मुस्लिम र क्रिश्चियन तीनवटै धर्मावलम्बीका लागि पवित्र शहर हो । यसको असाधारण धार्मिक र राजनीतिक महत्वकै कारण वर्षौंदेखि द्वन्द्व जारी छ । यहुदीहरूका लागि प्राचीन मन्दिर र वेस्टर्न वाल पवित्र प्रार्थना स्थल हो । मन्दिरमा प्रार्थना गरिन्छ भने वेस्टर्न वालको भित्तामा रहेका ढुंगाको बीचमा कागजको चिटमा आफूले माग्न चाहेको कुरा लेखेर राख्ने चलन छ । चिट भित्ताको ढुंगामा च्यापेपछि पछाडिबाटै हिँड्ने चलन रहेछ । यता इस्लामिक परम्पराअनुसार पैगम्बर मोहम्मदको ‘इश्रा र मेरोजा’ अर्थात् रातको यात्रा र स्वर्गारोहणसँग जेरुसलेममा रहेको अल अक्सा मस्जिद जोडिएको छ । जेरुसेलममा रहँदा हरेक कुरा धर्मसँग जोडिएझैँ लाग्थ्यो । पुरानो शहरमा प्रार्थना, भाकलजस्तै लाग्ने चाहना पूरा होस् भन्ने कामना, आफूले मान्दै आएको धर्ममा टेकेर उभिएको एउटा विश्वास । एउटै शहरमा मात्र नभई एउटै गल्लीमा केही मिनेटको दूरीमा रहेका फरक तीन धार्मिक स्थलको पवित्र भूमि हो । तर यति हुँदहुँदै पनि जेरुसेलम धार्मिक शहर मात्र होइन, यो धर्म, इतिहास, राष्ट्रियता, भूमि, पहिचान, राजनीति एकै ठाउँमा जोडिएको शहरको रुपमा परिचित रहेको छ ।
सन् १९४८ मा इजरायलको जन्म हुनुअघि जुइसहरू विभिन्न देशमा छरिएर रहेका थिए । उनीहरूको आफ्नो छुट्टै देश थिएन । हुन त अहिले पनि विश्वका विभिन्न मुलुकमा यहुदीहरूको बसोबास रहेको छ । दोस्रो विश्वयुद्धको समयमा ६० लाख यहुदीहरूको हत्या गरियो, हिटलर र ग्यास च्याम्बरको कथा यहुदीहरूको हत्यासँग जोडिएको छ । मानव इतिहासको ठूलो यो नरसंहारपछि यहुदीहरूका लागि सुरक्षित राज्यको आधार तय भएको हो । यसबीचमा प्यालेस्टाइन भूभाग, ब्रिटेनले प्यालेस्टाइनमाथि गरेको शासन, संयुक्त राष्ट्रसंघलगायतको भूमिकाका पक्षहरु छन् । ब्रिटेनले प्यालेस्टाइन समस्या समाधान गर्न नसकेपछि सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा यो विषय लगेको थियो । सन् १९४८ मा तत्कालीन आन्दोलनका अगुवा डेभिड बेन गुरिनले इजरायल स्थापनाको घोषणा गरे । जुन घोषणालाई प्यालेस्टाइन अरब र अरब स्टेटले अस्वीकार गरे । त्यसपछि तुरुन्तै युद्ध भयो, जुन युद्ध अहिलेसम्म जारी छ ।
इजरायलको भ्रमणमा हामीले त्यहाँको अस्पताल, वृद्धाश्रम, म्युजियम, मिडिया हाउस, दक्षिणी र उत्तरी भागमा रहेका गाजा र लेबनानको सीमानजिक पुगेर धेरै कुरा हेर्ने, सुन्ने र जान्ने अवसर पायौं । जेरुसलेमस्थित परराष्ट्र मन्त्रालयको ‘सिचुएसन रुम’ जाँदै गर्दा त्यस्तै अनुभव भयो । कडा सुरक्षा जाँचपछि मन्त्रालयभित्र प्रवेश गर्दा दक्षिण–पूर्वी एसिया हेर्ने निर्देशक मिसेल वेलियर तालले भनिन्, ‘अहिले हामी जुन बाटो हिँडिरहेका छौं, हाम्रा प्रधानमन्त्री बेन्जामिन नेतन्याहु हिँड्ने बाटो पनि यही हो । हामी एउटै परिसरमा छौं ।’ उनले थपिन्, ‘आजको हाम्रो मिटिङ सिचुएसन रुममा हुन्छ ।’ राष्ट्रिय, अन्तर्राष्ट्रिय संकट या आपत्कालीन अवस्थालाई एकै ठाउँबाट निगरानी, विश्लेषण र समन्वय गर्ने विशेष नियन्त्रण कक्ष ‘सिचुएसन रुम’ रहेछ । सुरक्षाका दृष्टिले संवेदनशील मुलुकहरूमा सिचुएसन रुमको भूमिका महत्वपूर्ण हुन्छ । इजरायलमा सुरक्षासम्बन्धी राष्ट्रिय र अन्तर्राष्ट्रिय बैठकहरू सोही हलमा हुने रहेछन् । प्राकृतिक विपत्ति या मानवसिर्जित विपत्ति दुबैमा कहाँ के भइरहेको छ ? स्थिति कस्तो छ ? अब के गर्नुपर्छ ? भनेर सबै सुरक्षा रणनीतिहरू त्यही ठाउँमा बनाइने रहेछ ।
इजरायलबाट फर्केका युवालाई व्यावसायिक कृषिमा आकर्षित गर्न नेपाल सरकारले सहुलियतपूर्ण कर्जा र उद्यमशीलताको अवसर प्रदान गर्नुपर्ने इजरायली अधिकारीहरूको सुझाव छ । सिकेर आएको सीप र प्रविधिलाई उपयोग गर्न नेपाल सरकारले कृषिमुखी नीति र आवश्यक पूर्वाधार तयार गरेमा नेपाली युवाले कृषिमा फड्को मार्न सक्ने उनीहरू बताउँछन् । यसै उद्देश्यलाई सघाउन सन् २०२० मा नेपालमा ‘कृषि उत्कृष्टता केन्द्र’ स्थापना गर्ने द्विपक्षीय सम्झौता भएको थियो ।
सन् २००१ बाट शुरु भएको नेपाल र इजरायल सरकारबीचको ‘कमाउँदै, कृषि प्रविधि सिक्दै’ (अर्न एन्ड लर्न) कार्यक्रमअन्तर्गत हालसम्म नेपालबाट पाँच हजारभन्दा बढी विद्यार्थी इजरायल गएर फर्किसकेका छन् भने जाने क्रम पनि जारी छ । तालिमका लागि जानेहरु पाँच दिन काम गर्छन्, एकदिन पढ्छन्, एकदिन बिदा मनाउँछन् । तालिमबाहेक भारत भएर अन्य काममा जानेहरुले दुई दिन नै बिदा मनाउँछन् । इजरायलबाट फर्केका युवालाई व्यावसायिक कृषिमा आकर्षित गर्न नेपाल सरकारले सहुलियतपूर्ण कर्जा र उद्यमशीलताको अवसर प्रदान गर्नुपर्ने इजरायली अधिकारीहरूको सुझाव छ । सिकेर आएको सीप र प्रविधिलाई उपयोग गर्न नेपाल सरकारले कृषिमुखी नीति र आवश्यक पूर्वाधार तयार गरेमा नेपाली युवाले कृषिमा फड्को मार्न सक्ने उनीहरू बताउँछन् । यसै उद्देश्यलाई सघाउन सन् २०२० मा नेपालमा ‘कृषि उत्कृष्टता केन्द्र’ स्थापना गर्ने द्विपक्षीय सम्झौता भएको थियो । तत्कालीन इजरायली विदेशमन्त्री गाबी अस्केनाजी र नेपालका तत्कालीन राजदूत डा. अन्जान शाक्यबीच भएको उक्त सम्झौताअनुसार हाल नेपालका विभिन्न प्रदेशमा कृषि उत्कृष्टता केन्द्र स्थापनाको काम भइरहेको छ ।
नेपाल र इजरायलबीचको सम्बन्ध ऐतिहासिक छ । सन् १९६० मा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको इजरायल भ्रमणका क्रममा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । इजरायलसँग औपचारिक कूटनीतिक सम्बन्ध कायम गर्ने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । नेपालजस्तो मुलुकले काम गर्न जानेहरुलाई सहज ढंगले जान दिने गरी सम्बन्धित मुलुकसँग सहमति गर्ने हो भने नेपालमा रोजगारीको व्यवस्था नहुन्जेल काम गर्न चाहनेका लागि अवसर हुने थियो । इजरायल सरकार पनि नेपाल र नेपालीहरुप्रति निकै सकारात्मक देखिन्छ ।
नेपालबाट मसहित सम्पादक साथीहरु इजरायल भ्रमणमा जानुअघि नेपालस्थित इजरायली राजदूत समुलिक एरिवासले भन्दै थिए, ‘तपाईंहरु जानुस्, हेर्नुस्, हाम्रो कुनै अपेक्षा छैन, तर नेपाल र नेपालीप्रति हाम्रो देशले निकै सकारात्मक दृष्टिले हेर्छ ।’ हुन पनि भोटेकोशीको बाढीले पारेको पीडामा इजरायल सरकारले इजरायली दूतावासमार्फत गरेको सहयोग उदाहरणीय छ । इजराययले जस्तो हाम्रो मुलुकले गर्न नसक्ने होइन तर मुलुकलाई त्यसका लागि सर्वप्रथम सिस्टममा चल्ने बनाउनुपर्छ । इजरायलमा बस वा सार्वजनिक ट्र«ाभल वा बत्ती, पानीलगायतका लागि मासिक रुपमा राज्यले तलबबाटै खर्च काट्छ अनि बस चढ्न परे पैसा बुझाइरहनुपर्र्देैन । रातदिन राज्यले खाली भए पनि सार्वजनिक यातायात चलाइरहन्छ, किनकि उसका लागि राज्यले नै सुविधा दिने गर्छ । नागरिकहरु कार्ड देखाएपछि जहाँ जति बेला पनि यात्रा गर्न सक्छन् । हरेक क्षेत्र वा निकाय सिस्टममा चल्ने गरेको छ । हामीले पनि नेपालललाई सिस्टममा ढाल्न ढिलाइ भइसकेको छ ।
(इजरायल भ्रमणबाट फर्केपछि लेखक पन्तबाट तयार गरिएको लेख ।)











प्रतिक्रिया