तीन दिन मुसलधारे वर्षा, बाढी–पहिरोको उच्च जोखिम

नागपुरबाट भित्रिँदै, उपत्यकासहित देशैभर ‘अति भारी’ वर्षा हुने

0
Shares

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभागले आज बेलुकादेखि देशैभर अत्यधिक वर्षा हुने अनुमान गरेको छ । नागपुर हँुदै भैरहवाबाट प्रवेश गर्ने वर्षा २ सयदेखि ४ सय मिलिमिटरसम्मको हुनेछ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापक एवं मौसमविद् दीपक अर्यालले हिजो बुधवार साँझ भारतको नागपुरमा प्रवेश गरेको वर्षा लुम्बिनी प्रदेशको भैरहवा हुँदै प्रवेश गर्ने र भोलि साँझ वा बेलुकादेखि लगातार ३ दिनसम्म अति भारी वर्षा हुने जानकारी दिनुभयो ।

उहाँले राजधानीमा पनि भारी वर्षा हुने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उपत्यकामा पनि भारी वर्षा हुनेछ, सम्भवतः डुबानै हुने सम्भावना छ । ५० मिलिमिटरमा डुबान हुने काठमाडौँ उपत्यका २ सय मिलिमिटरसम्म वर्षा भए पूर्ण डुबान हुनेछ ।’

जल तथा मौसस विकास विभागले बुधवार बिहान सूचना जारी गरी आगामी तीनदिनमा केही स्थानमा भारी, धेरै भारी र अति भारी वर्षा हुन सक्ने जानकारी दिएको छ । महाशाखाका अनुसार बुधवार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज बिहीवार राति कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग, बागमती प्रदेशको पहाडी र तराई भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज दिउँसो लुम्बिनी, कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्न सम्भावना रहेको छ । राती कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । भोलि शुक्रवार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

जिल्लागत रूपमा असोज ९ र १० गते वर्षाको फैलावट देशभर नै उच्च बिन्दुमा पुग्नेछ । यी दिनमा कोशी प्रदेशका ओखलढुङ्गा, भोजपुर, संखुुवासभा, बागमतीको रसुवा, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका तथा गण्डकीका गोरखा, मनाङ र मुस्ताङका शतप्रतिशत भूभागमा वर्षा हुने अनुमान छ । मौसमविद्हरूले पूर्वसूचनाका रूपमा बुझेर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

विभागले जारी गरेको विशेष मौसम बुलेटिनमा असोज ९ गतेदेखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने र एक–दुई स्थानमा अतिभारी २०० मिलिमिटरभन्दा बढी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

विभागले २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरलाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढीलाई अति भारी वर्षा मानिन्छ । यो प्रणालीको असरले उच्च हिमाली भेगमा भारी हिमपातसमेत गराउने भएकाले पर्वतारोहण र पदयात्रामा निस्कन पनि जोखिमपूर्ण हुने देखिएको छ ।

सरकारले ८ देखि १२ गतेसम्म लगातार वर्षा हुने भएपछि उच्चसतर्कता अपनाउन आग्रह गरेको छ । गृहमन्त्री सुधन गुरुङ र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मंगलवार जल तथा मौसम विभाग अवलोकन गरी वर्षाको अवस्थाबारे जानकारी दिनुभएको थियो । सरकारले वर्षाअघि र पछिको अवस्थापछि विपद् व्यवस्थापनको लागि पूर्ण तयारी गर्न देशैभरका जिल्ला प्रशासन कार्यालयलगायत मातहतका निकायलाई निर्देशन दिएको छ ।

हिजो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेष सूचना जारी गर्दै आम नागरिक र सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । प्राधिकरणले बाढी, पहिरो, गेग्रान बहाव र डुबानको उच्चजोखिम रहेकाले उक्त अवधिमा अत्यावश्यक कामबाहेक लामो दूरी र विशेषगरी रातीको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

साथै जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटरजस्ता उपकरणहरू तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । तीनवटै सुरक्षा निकाय, प्रदेश सरकार, स्थानीय तह र स्वयंसेवकलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सावधानी अपनाऔँ : प्रधानमन्त्री शाह

यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुग्नुभएका प्रम शाहले अमेरिकाबाटै फेसबुकमा स्टाटस लेखेर अनुरोध गर्नुभएको हो ।

‘मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक छ’ –प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ ।

अब २ दिनअगावै आकस्मिक बाढीको सूचना पाइने

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब दुई दिनअगावै आकस्मिक बाढीको पूर्वानुमान गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलवार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको भोलिपल्ट आकस्मिक बाढी पूर्वानुमानको समयावधि विस्तार गरेको हो ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार जल विज्ञान तथा बाढी पूर्वानुमान र पूर्व सूचनासम्बन्धी सेवामा थप सुधार गर्दै बुधवारदेखि तोकिएको प्रमुख नदीहरूको बाढीको पूर्वानुमानको समयावधि ३ दिनबाट ५ दिन तथा नेपालभरका स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान १ दिनबाट २ दिनसम्म विस्तार गरेको छ ।

‘बाटो र मौसम हेरेर मात्र यात्रा गर्नु’
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज बिहीवारदेखि असोज १२ गतेसम्म बाटो र मौसमको अवस्था हेरेर मात्र यात्रा गर्न आग्रह गरेको छ । बुधवार सार्वजनिक सूचना जारी गर्दै महासंघले यात्रा गर्नुपूर्व बाटो र मौसमको अवस्था बुझ्न आग्रह गरेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिदेखि भारी वर्षा हुने जानकारी दिएको छ । वर्षाले बाटो बिग्रिने, बाढी र पहिरो आउन सक्ने सम्भावना भएकाले प्राधिकरणले रातको समय र टाढाको यात्रा नगर्न सूचित गराएको छ ।

प्राधिकरणको सूचनालाई मध्यनजर गर्दै महासंघले सवारी चालक, परिचालक, बुकिङ कर्मचारी र यात्रुलाई सचेत गराएको हो । यात्रा गर्नुपरेमा पूर्वजानकारी लिन, स्थानीय र सुरक्षा निकायसँग समन्वय गर्न भनिएको छ ।