एकपटक आएको पर्यटक पटक–पटक आओस् भन्ने सोचका साथ काम भइरहेको छ



ललितपुर महानगरपालिकाले भ्रमण वर्षको स्वागत गर्न विशेष तयारी गरिरहेको छ। कलाकृतिको उत्कृष्ट नमुना रहेको महानगरक्षेत्रमा पर्यटकलाई भित्र्याउन महानगरले सबै वडामा कम्तीमा पनि दुईवटा पर्यटक लक्षित कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। पाटन प्रवेशद्वार पाटनढोकादेखि दरबारक्षेत्रसम्मको भागलाई विशेष किसिमले सजाउने काम भएको छ। प्रस्तुत छ, यसकै तयारीका सन्दर्भमा नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले मेयर चिरिबाबु महर्जनसँग गरेको कुराकानी :

ललितपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को तयारी कसरी गरिरहेको छ ?

ललितपुर महानगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रूपमा मनाउन महानगरका सल्लाहकार दिलेन्द्र श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ। यो समितिले विभिन्न कार्यक्रमहरू गर्ने योजना बनाएको छ। त्यसमध्ये केहीको प्रारूप तयार भइसकेको छ, केहीमा हामी छलफल गरिरहेका छौं।

त्यसो त ललितपुर महानगरपालिकाले भर्खरै आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका १ सय ५० भन्दा बढी नगरपालिका र शहर विकासमा काम गर्ने विभिन्न सरोकारवाला संघसंस्थाको अन्तर्राष्ट्रिय सञ्जाल सिटीनेटको ३८औं कार्यसमिति बैठक तथा सम्पदा तथा दिगो पर्यटन विषयक छलफलमा अन्तर्राष्ट्रिय सेमिनारले भ्रमण वर्षका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ। विभिन्न देशबाट आउनुभएका लगभग सय जनाले ललितपुरको कला, ऐतिहासिक महत्वका स्थान र यहाँको जानकारी आफ्नो ठाउँमा पुगेर वर्णन गर्दा पक्कै पनि त्यसको सकारात्मक सन्देश पुग्ने हामीले ठानेका छौं।

हामीले आफ्ना कार्यक्रममार्फत भ्रमण वर्षमा ललितपुरको प्रचारप्रसार गर्ने हो। यो प्रचारले वर्षैभरि ललितपुरलाई पर्यटकको मन र मस्तिष्कमा राख्नलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो।

हामीले ललितपुरबाट नेपाल भ्रमण वर्ष आरम्भ गर्न सरकारसँग आग्रह गरेका छौं। तयारीको अवस्था हेर्दा पाटनढोकालाई मुख्य प्रदेशद्वार बनाएर पर्यटकलाई वहाः बही घुमाउने, मंगलबजार र दरबारक्षेत्रलाई विशेष शृंगार गर्ने तयारी गरेका छौं। पाटनढोकादेखि मंगलबजारसम्म हेरिटेज टुरको व्यवस्था गरेका छौं। अहिले आधा दिनमात्र विदेशी पर्यटक घुम्ने व्यवस्थालाई अन्त्य गर्दै कम्तीमा पनि एक दिनको प्याकेज तयारी गरेका छौं। ऐतिहासिक नगरी पाटन सात दिनसम्म घुमाउने कार्यक्रमको खाका तयारी गरिरहेका छौं।

नेपाल भ्रमण वर्षको संघारमै गरिएको सिटीनेटको बैठकको प्रभाव त छ नै, यसबाहेकको तयारी बताइदिनुस् न ?

सन् २०२० मा २० लाख पर्यटकलाई नेपाल भित्र्याउने संघीय सरकारको लक्ष्यलाई पूरा गर्न ललितपुर महानगरपालिकाले आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछ। हामी ललितपुरमा रहेका रेस्टुराँहरूमा पर्यटकका लागि केही छुट गर्न अनुरोध गर्नेछौं। त्यसैगरी होटेलहरूसँग पनि हाम्रो यो अनुरोध रहनेछ। यो अवधिमा हामीले आफ्ना कार्यक्रममार्फत भ्रमण वर्षमा ललितपुरको प्रचारप्रसार गर्ने हो। यो प्रचारले वर्षैभरि ललितपुरलाई पर्यटकको मन र मस्तिष्कमा राख्नलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो। भित्री शहर अर्थात् पिम्बहाल, सालह्, नकवहीः दरबार चोकलगायत मुख्य क्षेत्रका बासिन्दा बस्ने स्थानको जीवनशैली देखाउने व्यवस्था गरेका छौ। पर्यटकहरू आफैले गाइड गर्नसक्ने गरी सेल्फ टुर गाइड अर्थात् (पर्यटक आफैले घुम्न सक्ने व्यवस्था) शुरूआत गर्दै छौं। पर्यटक घुम्ने क्षेत्रमा पर्यटकका लागि संकेत ९एरो० को व्यवस्था गर्दै छौं। त्यतिमात्रै होइन अडियो टुरको समेत व्यवस्था गर्ने गृहकार्य भइरहेको छ।

भौतिक पूर्वाधार र कला, संस्कृतिले मात्रै पर्यटक आकर्षित हुन्छन् त ?

पर्यटन प्रवद्र्धनका लागि पर्यटकलाई आकर्षित गर्नका लागि यी महत्वहरू महत्वपूर्ण छन्, तर पर्याप्त भने पटक्कै होइनन्। एकपटक आएका पर्यटकलाई फेरि पनि र पटकपटक आइरहन मन लाग्ने वातावरण बनाउन गेस्ट र होस्टबीचको सम्बन्ध राम्रो हुनुपर्छ। होस्टले गेस्टलाई गर्ने व्यवहार महŒवपूर्ण हुन्छ। यसतर्फ हामी सचेत छौं। त्यसका लागि हामीले स्थानीय गाइडहरूलाई तालिम दिएर लाइसेन्स प्रदान गर्ने तयारी गरेका छौं। त्यतिमात्रै होइन स्वेदेशी पर्यटकलाई समेत सजिलै घुम्न सक्ने गरी व्यवस्था गरेका छौं। भौतिक पूर्वाधारको धनी रहेको ललितपुरमा साइकल ट्र्याकको व्यवस्था गर्नेछौं। साइकल ट्र्याकको हिजोबाट शुरूआत गरिसकेका छौं।

हामीले शुरू गरेको साइकल ट्र्याक उपत्यकाको सबै स्थानीय तहसम्म पु¥याउने लक्ष्य लिएका छौं। साइकल ट्र्याक निर्माण भइसकेपछि साइकल चलाएरै ललितपुर मात्रै होइन ललितपुर महानगरसँग जोडिएका काठमाडौं महानगरपालिका, कीर्तिपुरलगायत भक्तपुरका पनि स्थानीय निकायसँग जोड्ने तयारी गरेका छौं। साइकल ट्र्याक निर्माण भएपछि उपत्यकाका पर्यटकीयस्थल भ्रमण गर्ने साहसिक यात्रा शुरू हुनेछ। होटल र रेस्टुरेन्टलाई विशेष छुटको प्याकेज दिन अनुरोध गरेका छौं। सायद यो व्यवस्था कार्यान्वयन भए पर्यटकको ओइरो लाग्ने अपेक्षा गरेका छौं। लाइट एन्ड साउन्डको विशेष व्यवस्था गर्नेछौं। पाटन दरबार क्षेत्रमा रातभर पुर्ण रूपमा सुरक्षाको बन्दोबस्त गर्नेछौं। सुरक्षाको विषयमा हामीले सुरक्षा निकायसँग कुराकानी गरिसकेका छौं।

स्वदेशी होस् वा विदेशी जहाँको पर्यटक आए पनि सजिलैसँग घुम्न सक्ने गरी लाइटिङको व्यवस्था गर्ने तयारी गरेका छौं। निजीक्षेत्रको सहयोगमा लाइट व्यवस्थापन गर्ने विषयमा छलफल गरिसकेका छौं। दरबार क्षेत्रमा मात्रै नभई पिम्बहाल पोखरीमा समेत लाइटिङ व्यवस्थापन गर्ने योजना बनाएका छौं।

ललितपुर महानगरपालिकाको भित्री शहरमा नेपाल भ्रमण वर्षका बेला पर्यटक लक्षित कार्यक्रम कस्ता छन् ?

ललितपुर महानगरपालिकाको मुटु पाटन दरबारक्षेत्र र त्यस वरपरका क्षेत्र केन्द्रित गरेर कार्यक्रम तय गरेका छौं। ललितपुर महानगरले तय गरेको हेरिटेज वाक रुटमा साँझ भ्रमण गराउने, ऐतिहासिक र पुरातात्विक महत्वको पाटन म्युजियममा विशेष सुविधा र व्यवस्था गर्ने, त्यसै गरी रानीपोखरीभन्दा पुरानो पोखरी पिम्बहाः पोखरीमा विशेष कार्यक्रम गर्ने योजना बनाएका छौं। पिम्बहाः पोखरीको जीर्णोद्धारपछि पोखरी वरिपरिको क्षेत्र र त्यहाँका बासिन्दाको जीवनशैली र आर्थिक अवस्था परिवर्तन भएको छ, यो भनेको स्मार्ट सिटीको एउटा नमुना हो। त्यसैले पिम्बहाः पोखरीमा विशेष कार्यक्रम गर्ने तयारी गरेका छौं। त्यतिमात्र होइन पाटनका मल्ल राजा योगनरेन्द्र मल्लको सिंहासन छ। अब त्यस्तै अर्को सिंहासन निर्माण गर्ने तयारी गरेका छौं। पर्यटकलाई सिंहासनमा बसेर राजाकै जस्तो मल्लकालीन ड्रेसमा सशुल्क फोटो खिच्ने व्यवस्था मिलाउने तयारी गरेका छौं। ललितपुरमा प्रवेश गरेका हाम्रा पर्यटकलाई उनीहरूले सोचेभन्दा बढी मनोरञ्जन दिने तयारी गरेका छौं। दरबारक्षेत्र मात्रै होइन विश्वकै कलाकृतिले भरिएको पाटनका बारेमा सबै पर्यटकलाई पूर्णरूपमा जानकारी दिने भएका छौं। त्यसको सम्पूर्ण तयारी द्रुत गतिमा गरिरहेका छौं। हामीले पर्यटन समितिमार्फत छुट्टै तयारी गरी कार्ययोजना बनाइरहेका छौं।

पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम के गर्दै हुनुहुन्छ ?

पर्यटकको आकर्षणको केन्द्र पाटन दरबार क्षेत्रमा पर्यटकहरू सुरक्षित र रमाइलोसँग हिँडडुल गर्न बत्तीको आवश्यकता पर्छ। त्यहाँ बत्तीको राम्रो व्यवस्था गर्न सके निर्धक्क भएर उनीहरू हिँडडुल गर्न सक्छन्। त्यसैगरी साउन्ड सिस्टमको जडान गरेर त्यो स्थललाई अझै आकर्षक बनाउने तयारी गरिरहेका छौं। पुरातात्विक बगैंचाको शुभारम्भ गर्ने तयारी पनि गरेका छौं। विश्वको हस्तकलाको ३५औं शहरका रूपमा परिचित पाटन कलाको अपार धनी शहर हो। हामीले पर्यटकको बसाइ कम्तीमा पनि एकसाता बनाउने व्यवस्था गरिरहेका छौं। पर्यटकलाई भिन्छेवहाःको प्रस्तरकला, ओकु वहाःको धातुकला, जोम बहाःको काष्ठकला क्षेत्रको भ्रमण गराउने योजना बनाएका छौं। ती बहाःको कला प्रदर्शन गर्न विशेष योजना ल्याउँदै छौं। पाटनमा फुड टुरको समेत व्यवस्था गर्ने तयारी गरेका छौं।

विशेष तयारी ?

नेपाल भ्रमण वर्ष २०२०को अवसरमा हामीले उद्देश्यमूलक पर्यटनलाई चिनाउने तयारी गरेका छौं। जस्तै ललितपुर महानगरभित्र धेरै बौद्ध विहार छन्। बौद्ध विहार जान चाहने पर्यटकलाई त्यस क्षेत्रको भ्रमण गराउने, कलात्मक, पुरातात्विक महत्वका ठाउँको भ्रमण गर्न चाहनेलाई त्यस्ता ठाउँको भ्रमण गराउनेलगायतका विषयमा केन्द्रित रहेर उद्देश्यमूलक पर्यटनको योजना बनाइरहेका छौं।

मंगलबजारदेखि दरबार क्षेत्रसम्म ठूला सवारी निषेध गर्दै छौं। पाटनढोकादेखि दरबारक्षेत्रसम्म घुम्ने पर्यटकका लागि साना विद्युतीय सवारी साधन खरिद गर्ने तयारी गरेका छौं। त्यसका लागि खरिद प्रक्रिया अघि बढाइसकेका छौं। साथै भ्रमण वर्ष शुरू हुनासाथ हामीले ती सवारी साधन सञ्चालनमा ल्याउने विशेष तयारी गरिरहेका छौं। शहर र सडक सफा गर्ने हरियाली बढाउने, विभिन्न क्षेत्रमा आकर्षक प्रचार गर्ने तयारी गरेका छौं। रिङरोडबाहिरका क्षेत्रमा पर्यटन कार्यक्रमलाई अघि बढाएका छौं। महानगरको क्षेत्रभित्र पर्ने बुंगमती, खोकनालाई आकर्षण गर्ने योजना बनाएका छौं। त्यति मात्रै नभई ऐतिहासिक नगरी खोकना र बुंगमतीको विशेष पहिचान दिने गरी टुर प्याकेज तयारी गरिरहेका छौं। खोकना र बुंगमतीमा पर्यटकलाई बास बस्न मिल्ने गरी संरचना निर्माण गर्ने तयारी गरिरहेका छौं। भ्रमण वर्षको शुरूमै सबै काम नभए पनि यसलाई निरन्तररूपमा अघि बढाउने योजना बनाएका छौं। भूकम्पले क्षतिग्रस्त भएर निर्माण हुन बाँकी रहेका सम्पदालगायतका संरचनाको दु्रतरूपमा पुनर्निर्माण गरिरहेका छौं। पर्यटकहरू पाटन क्षेत्रमा आउँदा यहाँको कलासंस्कृतिका बारेमा अन्यसँग साटासाट गर्न मिल्ने गरी विशेष काम शुरूआत गर्ने तयारी गरीरहेका छौं।

प्रतिक्रिया दिनुहोस्