उमालेको मिठाई खाएर समुद्रमा बाँचियो



एथेन्स, (एजेन्सी)।

ग्रिसनजिकको समुद्रमा दुई दिनसम्म एउटा सानो जहाजमा अलपत्र परेकी एक महिला पर्यटक उमालेको मिठाई खाएर जीवित रहेको उद्धारकर्मीले मंगलबार बताएका छन्। न्युजिल्यान्डकी ४५ वर्षीया कुसिला स्टेनलाई आइतबार क्रेटेदेखि उत्तरमा पर्ने एजियन सागरबाट उद्धार गरिएको थियो।

यसरी सागरमा ३७ घण्टासम्म अलपत्र रहँदा उनले ललिपप उमालेर खाएकी र चिसोबाट जोगिन प्लास्टिकको ब्यागभित्र बेरिएर बसेकी बताइएको छ। अनुभवी नाविक रहेकी स्टेनले सहयोगका लागि अरूको ध्यान अकर्षित गर्न ऐनाको प्रयोग गरेकी थिइन्।

व्यापक खोजिकार्यपछि ग्रिक तटरक्षक समूहले ग्रिसको सबैभन्दा ठूलो क्रेटे टापुदेखि करिब १ सय १ किमि टाढा उनलाई फेला पारिएको थियो। उनकी आमा वेन्डी स्टेनले आफ्नी छोरीको सामुद्री तालिमकै कारण उनको ज्यान जोगिएको भन्दै खुसी प्रकट गरेकी छिन्।

स्टेनले दक्षिणी टर्कीबाट एथेन्सतर्फ जाँदै गरेका मार्कनामक एक बेलायतीलाई सहयोग गर्दै थिइन्।उनकी आमाका अनुसार शुक्रबार स्टेन घाममा आफ्ना खुट्टा तन्काउने हिसाबले फोलग्यान्द्रोस टापुमा एउटा सानो जहाजमा बसेकी थिइन्। तर आफ्नो मुख्य राइभल ३४ जहाजमा फर्कने क्रममा उनको जहाज खियाउने पन्यु पानीमा खस्यो ।

दुर्भाग्यवश कडा बतासले उनी बसेको जहाज समुद्रमा परसम्म धकेलियो। स्टेन नफर्केपछि मुख्य जहाजका मालिकले शनिबार बिहान ग्रिक निकायलाई उनी हराइरहेको सूचना दिएका थिए। ग्रिक तटरक्षक टोलीले उनको खोजीमा एउटा हेलिकोप्टर, ६ वटा जहाज र पानीभित्र ड्रोन विमान परिचालन गरेका थिए।

स्टेनले आफू जीवित नरहने आशंकाले सो जहाजको छेउमा आफ्नी आमाको नाम र सम्पर्क ठेगाना लेखेकी थिइन्। तत्कालै अस्पतालमा पुर्याएकी स्टेनको जल विनियोजन र चिसोको उपचार गरिएको थियो।

न्युजिल्यान्ड हेराल्डका अनुसार टेलिफोन गरी आफू जीवितै रहेको खुसीको खबर सुनाउने क्रममा स्टेनले आफूसँग अझै एउटा ललिपप बाँकी नै रहेको भन्दै जिस्किएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्