अमेरिकासँगको परमाणु वार्ता सम्भावना क्षीण

0
Shares

सोल, (एजेन्सी)।

अमेरिकाको विदेश मन्त्रालयद्वारा उत्तर कोरियालाई पुनः ‘आतंकवादको प्रायोजक’ भएको आरोप लगाएपछि प्योङयाङले अमेरिकासँग वार्ताको सम्भावना क्षीण हुँदै गइरहेको बताएको छ।

गत महिना स्विडेनमा उत्तर कोरियाले अमेरिका नयाँ तथा रचनात्मक समाधान पेस गर्न असमर्थ भएकोमा आफू निरास भएको बताउँदै वासिङ्टनसँगको परमाणु वार्ताबाट बाहिर आएको थियो।

दुईबीचको वार्ता प्रक्रिया फेब्रुअरीमा भियतनामको राजधानी हनोइमा उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता भंग भएपछि गतिरोध उत्पन्न भएको हो।

उत्तर कोरियाविरुद्ध अमेरिकी प्रतिबन्ध खुकुलो पार्नुपर्ने तथा अन्य राहतका विषयमा असहमतिका कारण उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो।

त्यही बेलादेखि उत्तर कोरियाले अमेरिका वर्षको अन्त्यसम्ममा नयाँ सोचका साथ अगाडि आउन माग गर्दै आइरहेको हो। यसबीच उत्तर कोरियाले कयौं शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिसकेको छ।

गत हप्तामात्रै सबैभन्दा नयाँ सुपर लार्ज मल्टिपल रकेट लन्चरको प्रक्षेपण गरिएको थियो। शुक्रबार अमेरिकी विदेश मन्त्रालयले आफ्नो वार्षिक प्रतिवेदनमा पुनः एक पटक उत्तर कोरियालाई आतंकवादका प्रायोजकको संज्ञा दिएको छ र विदेशी जमिनमा भएका हत्यामा संलग्न हुने गरेको आरोप दोहोर्याएको छ।

किमका सौतेनी दाजु किम जोङ नामलाई सन् २०१७ मा क्वालालम्पुरको अन्तर्राष्ट्रिय विमानस्थलमा हत्या गरिएको यियो। उक्त हत्यामा उत्तर कोरियाको हात रहेको आरोप छ।

Skip This