ज्यान जोगाउने वृद्धासंग पुनर्मिलन



जेरुसेलम, (एजेन्सी)।

९२ वर्षीया ग्रिक महिलाले पहिलोपटक दोस्रो विश्वयुद्धका बेला आफूले नाजीहरुबाट ज्यान जोगाइदिएका दुईजना दिदीभाइसंग भेटेकी छिन्। आफू किशोरी छँदा मेल्पोनी दिनाले मोर्देचाइ परिवारका छ जना सदस्यलाई नाजीहरुबाट लुकाएर पछि भाग्न सहयोग गरेकी थिइन्।

उक्त घटनाको सात दशकपछि इजरायलको जेरुसेलमस्थित होलोकस्ट मेमोरियल म्युजियममा भावविह्ल पुनर्मिलन भएको थियो। यस म्युजियममा यस्ता घटनाहरु प्रायशः घटिनै रहन्छन्। तर यो भने निकै दुर्लभ किसिमको भएकोे बताइएको छ।

हालसम्म जीवित दिदीभाइ साराह यानाइ र योस्सी मोरले आफ्ना २० जना छोराछोरी र नातिनातिनालाई यस कार्यक्रममा ल्याएका थिए। यानाइले पत्रकारहरुलाई बताएकी छिन्, ‘भावना व्यक्त गर्ने शब्द नै छैनन्। यसरी फेरि भेट्न पाउँदा हामी निकै भावुक बन्न पुगेका छौं।’

हामीलाई उनको घरमा लुकाइएको थियो। उनले हाम्रो परिवारका सम्पूर्ण छ जना सदस्यको ज्यान बचाएकी थिइन्। नाजी जर्मनीले सन् १९४१ देखि १९४४ सम्म ग्रिसमाथि कब्जा जमाएको थियो। तानाशाही नाजीहरुको कारबाहीमा त्यतिबेला करिब ८० हजार ग्रिक यहुदीको ज्यान गएको थियो।

तिनीहरुमध्ये अधिकांशलाई अस्कवित्ज–बिर्केनाउ मृत्यु शिविरमा मारिएको थियो। विश्व युद्धको समाप्ति पछि मोर्देचाइ परिवारका सदस्यहरुको इजरायलमा पुनर्मिलन भएको थियो। सन् १९९४ मा सो म्युजियमले दिनालाई दोस्रो विश्वयुद्धताका यहुदीहरुको ज्यान जोगाउने अत्यन्तै प्रसंसनीय काम गरेवापत सम्मान गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्