हङकङमा छुरा आक्रमण, कान चपाइयो



हङकङ,(एजेन्सी)।

चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा भएको छुरा आक्रमणमा चारजना मानिस घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। हङकङ टापुको ताइ कु जिल्लाको सिटी प्लाजा मलमा यो आक्रमण भएको हो। परिचय नखुलाइएका ती पुरुष आक्रमणकारीलाई मलमा उपस्थित अन्य व्यक्तिहरूले नियन्त्रणमा लिएका थिए।

हालैको प्रजातन्त्रवादी अभियानको क्रममा प्रहरीसँग भएको दंगाको विरुद्ध आइतबार सिटी प्लाजालगायत थुप्रै स्थानमा प्रदर्शन भएको थियो। स्थानीय सञ्चार माध्यमले आइतबार साँझ भएको सो घटना राजनीतिक मतभेदको उपज भएके जनाएको छ।

त्यहाँ उपस्थित भीडले आक्रमणकारीलाई कुटपिट गरेको थियो। आक्रमणकारीले एकजना पीडितको केही भाग कान टाकेर चुँडालेको प्रहरीले जनाएको छ। साउथ चाइना मर्निंग पोस्टले स्थानीय काउन्सिलर एन्ड्रयु चिउ का यिनको कान चपाएको पुष्टि गरेको छ।

हङकङमा आरोप लगाइएका अभियुक्तलाई थप कारबाहीका लागि मुख्य भूमि चीन समक्ष सुपुर्दगी गर्ने विधेयको विरोधमा त्यहाँ प्रदर्शन चर्किएको हो। केही दिनअघि मात्र हङकङ सरकारले बाध्य भएर सो विधेयक औपचारिकरूपमा फिर्ता भएको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्