चीनमा ५–जी नेटवर्क शुरू

0
Shares

बेइजिङ, (एजेन्सी)।

चीनको मोबाइल सेवा प्रदायक संस्थाहरूले आफ्ना ग्राहकका लागि ५–जी सेवा शुरुआत गरेका छन्। यो सेवासँगै चीनले विश्वस्तरमा प्रविधिको मामिलामा एक ठूलो छलाङ्ग लगाएको छ।
चीनका सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो ५–जी डाटा योजना घोषणा गरेका छन्। चीन र अमेरिकाबीच व्यापार तथा प्रविधिको मुद्दामा लगातार तनाब बढिरहेका बेला उक्त घोषणा गरिएको हो।

चीनभन्दा अगाडि दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्षबाट ५–जी नेटवर्क शुरुआत गर्ने योजना सार्वजनिक गरिसकेका छन्। यो ५–जी अर्थात् पाँचौं पुस्ताको मोबाइल नेटवर्क हो। ५–जीमा इन्टरनेटको गति अत्यन्त तीव्र हुने दाबी गरिएको छ।

शुरूमा चीनले अर्को वर्षमात्र ५–जी सेवा ल्याउने बताएको थियो तर यसमा तीव्रता ल्याउँदै यसै वर्षदेखि नै शुरू गरेको छ। यो सुपरफास्ट सेवा चीनका ५० शहरमा शुरू भएको छ। जसमा बेइजिङ तथा सांघाइ पनि परेका छन्। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ५–जी डाटा योजनाको मूल्य १ सय २८ युआनदेखि ५ सय ९९ युआनसम्म छ।

चीनमा ५–जी सेवा शुरू गर्न नेटवर्कसम्बन्धी उपकरण सबैभन्दा धेरै आपूर्ति हुवावे कम्पनीले गरेको छ। चीनको यो विशाल टेलिकम कम्पनीले अन्य कयौं देशमा ५–जी नेटवर्क स्थापित गर्नमा पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ।

तर अमेरिकाले हुवावे कम्पनीलाई सुरक्षासम्बन्धी खतरा बताउँदै कालोसूचीमा राखेको छ। अमेरिकाले आफ्ना सहयोगी देशलाई उक्त कम्पनीको उपकरण प्रयोग नगर्न दबाब दिइरहेको छ।

Skip This