काम गरेर पनि नगरेको जस्तै हुने फिल्म के काम ? : अनु शाह



डेढ दशकअघि मोडलिङ क्षेत्रमा प्रवेश गरी फिल्मी अभिनयमा पाइला अगाडि बढाएकी अनु शाहले द युगदेखि युगसम्मबाट फिल्ममा अभिनय शुरू गरिन्। त्यसपछि धर्मा, पसिना, मिलाप, त्रास, भैरव, नागरिक, शकुन्तला, आधि बाटोलगायतका दुई दर्जनको हाराहारीमा फिल्म खेलिन्। म्युजिक भिडियोको मोडलिङमा समेत लामो समयदेखि छाइरहेकी मोडल तथा अभिनेतृ अनु शाहको क्रेज अहिले पनि उत्तिकै छ। नेपाली म्युजिक भिडियो क्षेत्रकी पहिलो रोजाइकी मोडल तथा अभिनेतृ अनुसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ  :

रश्मी थापा

हाल केमा व्यस्त हुनुहुन्छ ?

केही म्युजिक भिडियोको काम सकियो। अन्य भिडियोको तयारीमा छु।

फिल्मभन्दा मोडलिङमा व्यस्त हुनुहुन्छ। फिल्मबाट अफर पाउन छोड्नुभएको हो ?

अफर नपाएको भन्दा पनि राम्रो स्क्रिप्ट हातमा नपरेका कारण फिल्ममा अभिनय नगरेको हो। काम गरेर पनि नगरेको जस्तै हुने फिल्म के काम ? त्यही भएर ग्याप भएको हो। म प्रायः फिल्ममा लभर गर्लका रूपमा खेलेको छु। त्योभन्दा फरक खालको भूमिका आयो भने अवश्य गर्छु।

पहिले र अहिलेको मोडलिङ र फिल्म क्षेत्रमा के परिवर्तन पाउनुभयो ?

मैले काम गरेको डेढ दशक भयो। यो अवधिभित्र नेपाली फिल्म क्षेत्रमा धेरै परिवर्तन भएका छन्। एक त धेरै नयाँ कलाकार आएका छन्। सिकेर र पढेर आउने कलाकार अहिले धेरै छन्। म कक्षा ८ मा पढ्दापढ्दै म्युजिक भिडियो खेलेर यो क्षेत्रमा भित्रिएको हँु।

त्यस कारण मैले पढेरभन्दा पनि परेर काम गरेको हुँ। मोडलिङ तथा फिल्म क्षेत्रमा आउने कलाकारको संख्या धेरै छ। तर, यो क्षेत्रमा टिकिरहने धेरै कम छन्। पछिल्लो समय थिएटरबाट राम्रा कलाकार फिल्म क्षेत्रमा भित्रिएका छन्। त्यस्तै प्रविधिमा त निकै फड्को मारिसकेको छ।

फिल्म र म्युजिक भिडियोमध्ये कुनमा बढी इन्ट्रेस्ट लाग्छ ?

मेरा लागि दुवै क्षेत्र बराबर छ। म्युजिक भिडियोमा लागेको धेरै समय भयो। त्यस्तै फिल्म द युगदेखि युगसम्मबाट फिल्मी अभिनय शुरू गरेकी थिएँ।

पहिलो फिल्ममा साइन गर्दाको पल मेरा लागि निकै खुसीको पल थियो।त्यसपछि दुवैमा निरन्तर लागि रहें। एउटा कलाकारका लागि जुनमा काम गरे पनि कला देखाउनु हो। यी दुवै विधामा कला देखाउन पाइने भएका कारण दुवैमा उत्तिकै रुचि छ।

आफूलाई सफल अभिनेतृ वा सफल मोडल के भन्न रुचाउनुहुन्छ ?

म दुवैमा उत्तिकै छु भन्ने लाग्छ। तर, पनि अभिनेतृ वा मोडलभन्दा पनि एउटा कलाकार भन्दा राम्रो लाग्छ।

नेपाली फिल्म क्षेत्रमा नायक र नायिकाबीचको पारिश्रमिकमा विभेद छ ?

पहिले नायकको तुलनामा नायिकाको पारिश्रमिक कम भए पनि पछिल्लो समय लगभग बराबरी भइसकेको छ। पहिले हिरोइनको काम हिरोको वरिपरि नाच्ने मात्र हो भन्ने सोच थियो। अहिले त्यो सोच बदलिएको छ। नायिकाहरूले पनि आफ्नो खुबी देखाइरहेका छन् भने कामअनुसारको पारिश्रमिक लिइरहेका छन्।


नेपाली समाजमा नारीको स्थान के छ ?

नारी भनेको सृष्टिको सुन्दर उपहार हो। जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ। घर–समाजमा नारीको सम्मान हुन सकेमात्र सुन्दर समाज र संसारको निर्माण सम्भव छ।

आफ्नो घर–परिवार र अधिकारका लागि सधैं चिन्तित रहने नारी अहिले आफूमाथि भएको अत्याचारप्रति लड्न जस्तोसुकै रूप लिन सक्ने भइसकेका छन्।

अहिलेका नारी आफ्ना हक–अधिकारका लागि लडिरहेका छन्। जो पुरुषसरह हरेक कुरामा अगाडि आउन चाहन्छन्, आएका पनि छन्। हिजो जस्तो घरभित्रै दबिएर बस्ने क्रम अहिले हटेको छ। समाजमा नारीको स्थान उच्च छ।

यति सुन्दर हुनुहुन्छ। सुन्दरताका लागि के–के कुरामा ध्यान दिनुहुन्छ ?

फिल्म तथा म्युजिक भिडियोमा शृंगार गर्नैपर्ने भए पनि घरमा बस्दा र कार्यक्रम छैन भने बाहिर हिँड्दासमेत बिनामेकअप हिँड्छु। बेसन, कागती आदिको प्रयोग गरी बनाएको फेस प्याकको प्रयोग गर्छु। मेकअपमा त्यति धेरै खर्च गर्दिनँ।

लिपिस्टिकचाहिँ अलि धेरै प्रयोग हुने भएकाले बेला–बेलामा किनिरहेको हुन्छु। साथै स्वास्थ्य सन्तुलनका लागि हल्का खालका व्यायाम तथा योग पनि गर्छु। सुन्दरता भनेको मन भित्रैबाटै आउने कुरा हो। जुन मानिसको अनुहारबाट प्रस्ट हुँदैन।

प्रतिक्रिया दिनुहोस्