ट्रम्प विरोधि डेमोक्रेटिक विधायकको निधन



वासिङ्टन, (एजेन्सी)।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोग अनुसन्धानमा सशक्तरूपमा संलग्न रहेका भेटरान अमेरिकी डेमोक्रेटिक कंग्रेस एलिजाह कम्मिंग्सको ६८ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक सूत्रले बिहीबार जनाएको छ। उनको कार्यालयले लामो समयदेखिको स्वास्थ्यसम्बन्धी समस्याका कारण उनको निधन भएको जनाएको छ।

प्रतिनिधसभाको असमझदारी समितिका अध्यक्ष कम्मिंग्सले ट्रम्प सरकारविरुद्ध थुप्रै अनुसन्धानहरू शुरू गरेका थिए। उनी सरकारी अधिकारीहरूविरुद्ध स्वास्थ्य स्याहार र आप्रवासजस्ता विषयमा पनि भिडेका थिए।

यसै वर्षको शुरूमा उनले गृहमन्त्री केभिन म्याकएलिनानसँग आप्रवासीहरूलाई हिरासतमा लिएको विषयमा निकै विवाद गरेका थिए। राष्ट्रपति ट्रम्पले साताभरि शृंखलाबद्ध ढंगले उनका विरुद्ध ट्विट गर्ने क्रममा कालाहरुको बाहुल्य रहेको बाल्टिमोर जिल्ला मुसाले भरिएको घिनलाग्दो भएको बताएका थिए।

थुप्रै डेमोक्रेटिक विधायकहरुले ट्रम्पको टिप्पणीलाई नश्लवादी भएको आरोप लगाएका थिए। केही वर्षयता थुप्रै किसिमका स्वास्थ्य समस्याबाट पीडित रहेका उनको मुटुको पनि उपचार भएको थियो। प्रमुख डेमोक्रेटिक विधायकहरुले उनको निधनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

मेरिल्यान्डको डेमोक्रेटिक पार्टीका महिला अध्यक्ष माया कम्मिंग्सले उनले अन्तिम समयसम्म पनि प्रजातन्त्र र मानवताका लागि समर्पित र सेवारत रहेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्