कांग्रेस नेता तथा पूर्व अर्थमन्त्री सिबिआईको हिरासतमा



एजेन्सी, काठमाडाैँ । भारतीय कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री पी चिदम्बरम सिबिआईको हिरासतमा परेकाछन् । उनले आफूलाई पक्राउ नर्गन माग गर्दै दायर गरेको निवेदनलाइ अस्विकार गर्दै बुधबार बेलुका सिबिआईले चिदम्बरमलाई पक्राउ गरेको थियो ।

चिदम्बरम आइएनएक्स मिडिया प्रकरणका अभियुक्त हुन् । उनले धरौटीमा छाड्न दिल्ली उच्च अदालतमा निवेदन दिएका थिए । तर, उच्च अदालतले भने चिदम्बरम उक्त प्रकरणका प्रमुख योजनाकार भएकाले छाड्न नमिल्ने आदेश दिएको हो ।

मंगलबार अग्रिम धरौटीमा रिहाको माग गर्दै सर्वोच्च पुगेका उनलाई सर्वोच्चले तत्काल सुनवाइ नगर्ने जनाउँदै बुधबारका लागि पेशी तोकेको थियो।तर बुधबार पनि चिदम्बरमलाई अदालतबाट राहत मिलेन। धरौटीमा रिहा गर्ने वा नगर्ने भन्ने हकमा सर्वोच्चले उच्चको फैसलालाई नै सदर गर्दै अर्को सुनुवाइ शुक्रबारका लागि तोकेको छ ।

सर्वोच्चले शुक्रबार उपयुक्त इजलासमा निवेदन राखेर सुनुवाई गर्ने भनेपछि सिबिआई र इडीका कर्मचारीहरुले राति नै चिदम्बरमलाई पक्राउ गरेका थिए । चिदम्बरममको घरको गेट नखुलेपछि सिबिआईको टोली पर्खाल नाघेर उनको घरभित्र छिरेर उनलाई पक्राउ गरेको जनाइएको छ ।

मंगलबार नै उनलाई पक्राउ गर्न सिबिआईको टोली चिदम्बरममको घरमा पुगेको थियो । तर, उनी नभेटिएपछि टोलीले सिबिआईको कार्यालयमा आउन भन्दै चिदम्बरमको घरमा सूचना टाँसेको थियो ।

आज उनलाई सिबिआईको अदालतमा पेस गरिनेछ। उक्त अदालतले उनलाई थुनामा राख्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा राख्ने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्