मामाघर सञ्चालन र व्यवस्थापनमा स्थायी दाताको खाँचो



अर्पण पराजुली (मामा)
परिकल्पनाकार, मामाघर नेपाल, हेटौंडा

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पनि उहाँलाई ‘मामा’ भन्नुहुन्छ। उहाँ सबैका मामा। ‘मामा’ शब्दको पर्यायवाची हुनुभएको छ, अर्पण पराजुली। उहाँलाई चिन्नेजति सबैले ‘मामा’ भन्छन्। उहाँ अर्पण पराजुलीको पहिचान हो–हेटौंडालाई ‘सडक बालबालिकामुक्त क्षेत्र’ बनाउने अभियन्ता। सडकमा जीवन गुजार्ने बालबलिकाका ‘मामा’ भएकोले नै उहाँ सबैका प्रिय र देशभर परिचित हुनुहुन्छ। हेटौंडामा प्रशस्त सडक बालबालिका भेटिएपछि उहाँले सोच्नुभयो कि सडक नै उनीहरूको घर, आकाश नै छानो बनेको बेला केही सहयोग त गर्नैपर्यो। अनि, फुर्यो योजना। उहाँकै प्रयासमा हेटौंडामा सडकमा जीवन गुजार्ने बालबालिका नै छैनन् भने पनि हुन्छ। सडकमा जीवन बिताउने बालबालिकाका लागि उहाँ पथप्रदर्शक हुनुहुन्छ। उहाँकै पहलमा हेटौंडामा खुलेको २०६८ कार्तिक २७ गते स्थापना भएको ‘मामाघर’ सडक बालबालिकाको आफ्नो घर बनेको छ। उहाँ अर्पण पराजुलीसँग ‘मामाघर’ र उहाँको बारेमा नेपाल समाचारपत्र मकवानपुर संवाददाता रोशन पराजुलीले गरेको कुराकानीको संक्षेप ः

मामाघर एउटा अनुकरणीय अभियान नै बन्यो हैन त ?
हो, सडक बालबालिकाको आपतकालीन राहत, उद्दार, परामर्श, पारिवारिक वातावरणमा आवासीय सुबिधा, सीप, शिक्षा र पारिवारिक पुनर्मिलन गराउने कार्य मामाघर नेपालको अभियान हो। सडक बालबालिकामुक्त समाज निर्माण गर्ने हाम्रो लक्ष्यलाई यस अभियानले सार्थक बनाउँदै छ। चोरी, लुटपाट, डेन्ड्राइट सुँघेर हिँड्ने र राति सडकपेटीलाई ओच्छ््यान र आकाशलाई सिरक बनाउँदै आएकाहरूले आश्रय पाएका छन्।

के सोचेर शुरू गर्नुभएको र अहिले के हुँदै छ ?
मकवानपुरलाई सडक बालबालिकामुक्त बनाउने सोच हो। सबैको साथ र सहयोगले यो सम्भव हुँदैछ। उहाँका अनुसार भवन निर्माणका लागि सहयोग प्राप्त भइरहेको छ। नगरपालिकाले पनि यस कामका निम्ति सहयोग उपलब्ध गराएको छ भने प्रदेश–३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले पनि यसमा सहयोग गर्ने आश्वासन दिएको छ। मामाघर नेपालको सञ्चालन र व्यवस्थापनमा स्थायी दाता कोही छैनन्। मकवानपुर तथा आसपासका व्यक्तिले जन्मदिन, विवाह आदि कार्याक्रममा गरेको सहयोगले मामाघरका ‘भाञ्जा’हरूको जीवनयापन भइरहेको छ। बालबालिकालाई उचित अवसर दिनसके उनीहरूमा रहेको विशिष्ट क्षमता प्रष्फुटन हुन्छ। मामाघरमा आश्रयमा रहेका ‘भाञ्जा’हरू १९ वर्षमुनिका को राष्ट्रिय हक्की प्रतियोगिताका लागि पनि छनोट भएका थिए।

अहिलेसम्म के के गरियो ?
५२ दिन हेटौंडाको सडकमा सडक बालबालिकासँगै बसेर अनुसन्धान गरियो। सरकारी, गैरसरकारी, व्यक्तिगत सबैको सकारात्मक साथ र सहयोग पाइयो। १ सय ६३ जना सडक बालबालिकाको सडकबाट उद्दार गरियो। तीमध्ये १ सय १८ जनालाई पारिवारिक पुनर्मिलन गराइयो। पुनस्र्थापना हुन नसकेकाहरू मामाघरको संरक्षणमा छन्। सबै बालबालिका भुटनदेवी माविमा अध्ययन गर्छन्। विद्यालयले सबैलाई निःशुल्क पढाइ दिएको छ। उनीहरूलाई चाहिने ब्याग, ड्रेस, कपी, कलम, किताबका लागि मामाघरप्रति सद्भाव राख्नेहरूको सहयोगले पुगेको छ।उनीहरू क्रिकेट खेल्छन्, मकवानपुर कलिउड कला केन्द्रमा नृत्य सिक्छन्, हक्की खेल्छन्। अन्य थुप्रै सीप सिक्छन्। हेटौंडा–११ मा सिद्धिलाल श्रेष्ठज्यूले दानस्वरुप दिनुभएको जग्गामा आफ्नै भवन बन्यो। अब केही दिनमा नयाँ घरमा सर्ने योजना छ। कुनै नियमित दाता नभए पनि स्थानीय सबैको मानामुठी दान, चन्दा सहयोग र उपहारबाट मामाघर नेपाल चलेको छ।

सडकमा कष्टकर जीवनयापन गर्दै आएका बालकको उद्दार गरेर पालनपोषणका साथै शिक्षा दिइरहेको मामाघरले संस्थागतरूपमा अगाडि बढ्न समाजसेवी श्रेष्ठले प्रदान गर्नुभएको ३ कठ्ठा जग्गामा भवन बनाउन लागिएको हो। २०७१ चैत १४ गते शिलान्यास गरिएको भवन निर्माणले पूर्णता पाउने बेला हुन लागेको छ। ‘भाञ्जा’हरूको आफ्नै घर बनाउने महत्वाकांक्षी योजना बनाएका हौं। त्यहीअनुसार भवन बनाउन शरू गरे पनि बजेट अभावले समस्या भएको थियो। मुलुककै नमुनाकारूपमा विकास भइरहेको मामाघरको बालमैत्री भवन निर्माण जारी छ। ‘मामाघर’ को नयाँ बन्ने भवनमा २६ कोठा रहनेछन्।

भवनमा बालबालिकाका लागि आवासीय कोठा, स्वास्थ्य क्लिनिक, लाइब्रेरी, किचेन, डाइनिङ रुम, टिभी रुम र अत्याधुनिक सभाहल निर्माण हुनेछ। मामाघरले ‘एक व्यक्ति, एक ईंट्टा’ अभियानसहित निर्माण अघि बढाएको थियो। हेटौंडालाई सडक बालबालिकामुक्त सहर बनाउने उद्देश्यले २०६९ भदौ १३ गतेबाट अभियान शरू गरिएको हो। जुन, अहिले सडक बालबालिकाको भविष्य खोज्ने स्थल बनेको छ। सडकमा पुगेका बालबालिकाको भविष्य मामाघरले उज्यालो बनाउने प्रयास गरिरहेको छ।

 

सडक बालबालिकाको अनुसन्धानका क्रममा करिब दुई महिना सँगै बिताएर उनीहरूलाई पुनस्र्थापनाका लागि राजी पार्नुपर्यो। सडक बालबालिकाको दिनचर्या र उनीहरूको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओढेर एक साता रातभर बसपार्कमा बिताएँ।

 

मामाघरको योजना कसरी बन्यो त ?
पाहुनालाई स्वागत गर्न हेटौंडा बसपार्क पुगेको बेला मैले नजिकै ठेलामा बेच्न राखिएको मःम माग्दै गरेका बालबालिका देखें। ग्राहकले मःम खाइसकेपछि फ्याँकेको पात भुईंमा खस्न नपाउँदै केही बालबालिकाले टिपेर चाटेको देखें। म हेटौंडा क्याम्पसमा अध्यापन गर्थें। पीएचडीको तयारीका लागि काठमाडौं लागेको म एक साँझ हेटौंडा बसपार्कमा साथीलाई भेट्न पुगेको थिएँ। त्यहाँ नियमित गतिविधि चलिरहेको थियो। सडक बालबालिकामध्ये कोही बटुवाहरूलाई मःम किनिदिन भनिरहेका थिए, कोही चुरोट तान्दै अपशब्द बोल्दै थिए। कोही दूधका प्याकेटमा डेन्ड्राइट (सुपरग्लु) हालेर सुँघ्दैथिए। कोही बटुवा महिलाको सल तानेर, खुट्टा ढोगेर पैसा माग्दै थिए। मैले एक प्लेट मःम मागेर होटेलबाहिरै खाँदै नजिकै रहेका सानो बालकलाई बोलाएँ। उनी सुस्तरी नजिक आए। मैले अरू पनि मःम अर्डर गरेर बालकलाई अरू साथीलाई पनि बोलाउन हौस्याएँ। एकै छिनमा सडक बालबालिका झुम्मिए। तातोतातो मःम आइरह्यो, उनीहरू खाइरहे। मलाई जिन्दगीकै सबभन्दा सुखद् अनुभूति भयो यो। हिँड्ने बेलामा एक बालकले मलाई बिस्तारै सोधेका थिए–‘भोलि पनि आउने हो अंकल ?’

हेटौंडा बसपार्कमा यस्तो दृष्य देखेपछि म भावुक बनें। मैले मेरो अनुसन्धानको विषय तिनै सडक बालबालिकालाई बनाएँ। प्रारम्भमा मसँग बोल्न नमान्ने र पिटुँलाझैं गर्ने सडक बालबालिका हिजोआज मलाई ‘मामा’ भनी सम्बोधन गर्छन्, सँगै खान्छन् र सँगै सुत्छन्। धरानका विक्रम मगर, दोलखाका राम कार्की, चितवनका दिपेश दराई र दिनेश दराई, सिन्धुलीका सुशील तामाङ, सुनसरीका प्रशान्त ढकालसहित मकवानपुरका अविनाश रायमाझी, राजु अधिकारी, विवेक लामा, राम नेपाली, दीपक लामा र राजु मोक्तानलगायतले अब आफ्नो भविष्य बनाउने तयारी गरेका छन्। कतिपय व्यवसाय गरेर बसेका छन्, कोही गाडी चलाउँछन्, कोही फ्रिज र एअरकन्डिसनर मर्मत काम गर्छन्। आश्रित सबै पूर्वसडक बालकलाई दीर्घकालीन पुनस्र्थापना गर्ने लक्ष्य छ।

अनुसन्धानका क्रममा तपाईंका अनुभव केके छन् ?
सडक बालबालिकाको अनुसन्धानका क्रममा करिब दुई महिना उनीहरूसँगै बिताएर उनीहरूलाई पुनस्र्थापनाका लागि राजी पार्नुपर्यो। सडक बालबालिकाको दिनचर्या र उनीहरूको सर्वपक्षीय गतिविधि अध्ययनका लागि बोरा ओढेर एक साता रातभर बसपार्कमा बिताएँ। अनुसन्धानको क्रममै उनीहरूलाई नुहाइदिन राप्ती खोलामा लैजाँदा १४ जनाको शरीरमा एक सय ९६ वटा जुम्रा भेटिएको थियो। एकै जनाको ९६ वटा जुम्रा फेला परेको थियो। हेटौंडा नगरपालिकाको सहयोगमा मैले बसपार्क वरपर भेटिने सडक बालबालिकाको अध्ययन अनुसन्धान प्रतिवेदन तयार पारें। अनुसन्धानमा समेटिएका बालबालिका १०देखि १७ वर्ष उमेरका थिए। तीमध्ये आठ जना मकवानपुरका हुन्। भेटिएकामध्ये अधिकांश पारिवारिक कलह, सहरको रमझम र साथीको लैहलहैमा लागेर सडकमा आइपुगेका हुन्।

अनुसन्धानका क्रममा हेटौंडामा २३ जना सडक बालबालिका भेटिए। उनीहरू घुमन्ते भएकाले यकिन तथ्यांक आउँदैन। हेटौंडामा भेटिने सडक बालबालिकाहरू बिच्छु, कोब्रा र भ्यान्टे गरी तीन ग्याङमा विभाजित छन्।

अभिभावकबाट टाढा भएका उनीहरू आफ्नो समूहका नाइकेको निर्देशनमा चल्छन्। सबैले मागेको र चोरेको कुरा सामूहिक उपभोग गर्छन्। भोक लाग्दा डेन्ड्राइड सुँघ्ने बानी भएका उनीहरूले अब डेन्ड्राइड प्रयोग गरेका छैनन्, चुरोट खाएका छैनन्, न त चोरी नै गरेका छन्। वाक्कै पिच्छे निस्कने अपशब्द उनीहरूको मुखबाट सायदै निस्कन्छ। सडक बालबालिकाको समूह बिच्छु ग्याङका नाइके सुनसरीका प्रशान्त ढकालले ‘मामा’ भनी सम्बोधन गरेपछि मसँग जोडिएको मामाको साइनो अब अरूतिर पनि सरेको छ। हेटौंडा क्षेत्रमा मलाई चिन्ने जुनसुकै उमेर, तह र तप्काका भएपनि ‘मामा’ भनी सम्बोधन गर्नुहुन्छ।

 

अबका योजना के के छन् ?
अब हेटौंडा–४ मा भाडाको घरबाट आफ्नै घरमा सर्नेछौं।। बालमैत्री, सडक बालबालिकामुक्त समाज बनाउन धेरै काम गर्न बाँकी छ। चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएर बालश्रम न्यूनीकरण, सडक बालबालिकामुक्त र बालमैत्री गतिविधिका लागि विभिन्न क्षेत्रसँग मिलेर काम गर्ने सोच छ। मकवानपुरलाई स्थायीरूपमा सडक बालबालिकामुक्त बनाउने अभियानमा छौं। केही समयअघि जिल्लालाई सडक मानवमुक्त घोषणा गरिए पनि त्यसलाई जोगाइराख्न चुनौती छ। २०७५ सालमा हेटौंडाको सडकमा दुई जनामात्र नयाँ फेला परेका छन्। सडकमा आएका बालबालिकाको उद्दार र संरक्षण भन्दा पनि कसरी बालबालिकालाई सडकमा आउनै नदिने भन्नेमा चिन्तित छौं। यस विषयमा स्थानीय तहसँग समन्वय गरिरहेका छौं। धेरै कामहरू गर्न बाँकी छन्। हामी मुख्यतः अभियानकैरूपमा गर्ने सोचमा छौं। नयाँ बालबालिकाहरू सडक बालबालिकाका रूपमा आउन नदिन चेतनामूलक गतिविधि सञ्चालन गर्ने, मामाघर बालगृहलाई व्यवस्थितरूपमा सञ्चालन गर्ने, पारिवारिक पुनस्र्थापनालाई दिगो र प्रभावकारी बनाउने, बालश्रमिकको संख्या न्यूनीकरण, अनाथ, असहायहरूको प्रभावकारी व्यवस्थापनमा क्रियाशील हुनेछौं।

 

मामाघर नेपाल युवाहरूको समूह मिलेर चलाएको बालमैत्री अभियान हो। सबैको साथ र सहयोग पाइएको छ। सबैले मलाई ‘मामा’ भनेर चिन्नुहुन्छ। व्यक्तिगत प्रगति र सुखलाई प्राथमिकतामा कहिल्यै राखिएन।

 

मामाघर नेपाल शुरू गरेर के पाउनु भयो ? के गुमाउनु भयो ?
मामाघर नेपाल युवाहरूको समूह मिलेर चलाएको बालमैत्री अभियान हो। सबैको साथ र सहयोग पाइएको छ। सबैले मलाई ‘मामा’ भनेर चिन्नुहुन्छ। व्यक्तिगत प्रगति र सुखलाई प्राथमिकतामा कहिल्यै राखिएन। तसर्थ, केही गुनासो छैन। भविष्यमा मामाघरलाई देशभर फैलाउन र सडक बालबालिकालाई मामाघर दिलाउन चाहन्छु म। यसका लागि हामीलाई सबैको साथ चाहिएको छ।

समाजसेवा रहर हो कि बाध्यता ?
समाजसेवा आवश्यकता हो। सबै मानिसको जीवन सहज हुँदैन। सक्नेले नसक्नेलाई, हुनेले नहुनेलाई सहयोग गर्नु पर्छ। समाजसेवाका नाममा धेरैले आफ्नो जीवनमा अप्रत्यासित परिवर्तन गरेका छन्। यस्तो विषयमा गम्भीररूपमा चनाखो हुनुपर्छ। सबैले चाहेर पनि यस्तो परोपकारको काम गर्न सकिँदैन। यस्तो काम अन्तर हृदयबाट नै गरुँगरुँ लागेपछि मात्र गर्न सकिन्छ। हिजो ‘सबैलाई मार्छु’ भन्ने बालक अहिले ‘डाक्टर बन्छु’ भनिरहेकोमा हामीलाई ठूलो सन्तुष्टि मिलेको छ।

सडक बालबालिकाबारे थप अध्ययन गर्दै हुनुहुन्छ नि। किन ?
यसको प्रसंग अलिलामै छ। मैले सडक बालबालिकाका विषयमा पीएचडी गर्ने निश्चय गरें। हेटौंडा नगरपालिकाको कार्यालय गएर सडक बालबालिकाबारे अनुसन्धानको अनुमति मागें। जिल्ला प्रशासन, जिल्ला प्रहरी र महिला तथा बालबालिका कार्यालय पनि पुगें। सहयोग पाएपछि बालबालिका किन सडकमा आउँछन्,? कसरी आउँछन्, ? कति जना छन्,? कुन उमेर समूहका छन्,? सडकमा उनीहरू के गरेर बस्छन्,? उनीहरूको भविष्यको लक्ष्य के छ ?

लगायत ४२ वटा प्रश्न बनाएँ। केही दिन सडक बालबालिकासँग हिँड्ने, खेल्ने, खाने, सुत्ने भएँ। मैले शालिकराम ढकाल, देवराज लामिछानेलगायत साथीलाई मैले गर्न लागेको कामबारे सुनाएँ। अनि शरू भयो अनुसन्धान। सडकमा गएर रमाइलो वातावरण तयार गर्ने क्रममा अनेक खेल खेलाएँ, कथा सुनाएँ, गीत गाएँ, गाउन लगाए। जुम्रा गन्ने प्रतियोगिता गरें। त्यसरी रिसर्च सकेर तुलनात्मक रिपोर्ट बनाउन काठमाडौं गएँ। ठमेलस्थित सञ्चयकोष भवनअघि जम्मा हुने सडक बालबालिकाबारे अध्ययन गर्न ८ दिन त्यहाँ बसें। भरतपुर, बुटवल, भैरहवा र धरान पुगेर सडकमा करिब ३ महिना बिताएँ।

“मामाघर” के गर्दै छ त ?
सबैको प्रयासबाट चलेको मामाघर बालबालिकालाई सडकमा आउन नदिने अभियानमा छ। नगरपालिका, वडा कार्यालय, आमा समूह, बाल क्लब लगायतसँग मिलेर ‘जिम्मेवार अभिभाकत्वबारे चेतना फैलाउने काममा सक्रिय छ। अनाथ बालबालिकालाई नजिकका परिवार र समुदायभित्र व्यवस्थापन गरेर अभिभावकत्व दिनुपर्छ भन्नेमा हाम्रो अभियानले जोड दिएको छ। आफ्नो संरक्षणमा रहेका बालबालिकालाई औपचारिक शिक्षासँगै दिगो सीप सिकाउने नीति लिइएको छ। बालबालिकालाई सडकमा आउनबाट रोक्न परिवारलाई आत्मनिर्भर बनाउने कार्यक्रम पनि चलाइरहेका छौं।

 

 

प्रतिक्रिया दिनुहोस्