नेपाल पूर्वाधार सम्मेलनको तयारी तीव्र



नेपाल समाचारपत्र, काठमाडौं ।

ले आयोजना गर्ने नेपाल पूर्वाधार सम्मेलन तेस्रोको पूर्वतयारीको क्रममा परिसंघले विराटनगरमा छलफल एवम् अन्तरक्रिया कार्यक्रम गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेश उद्योग, पयर्टन वन तथा वातावरणमन्त्री जगदीश प्रसाद कुशियैत, प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेल, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकरप्रसाद शर्मा तथा प्रदेश–१ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले परिसंघले आयोजना गर्न लागेको नेपाल पूर्वाधार सम्मेलन प्रदेश–१ को पूर्वाधार विकासको सन्दर्भमा समेत एक महत्वपूर्ण एवं उत्साहजनक कार्यक्रम हुने भएकाले प्रदेश–१ बाट समेत त्यस क्षेत्रका सम्भावित परियोजनालाई सम्मेलनमा प्रस्तुत गर्ने र आगामी दिनमा यस्ता योजनालाई अझै परिस्कृत गर्दै लगिने जनाउनुभयो ।

उक्त अवसरमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रदेशहरुमा पूर्वाधारको सम्भावना र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई पूर्वाधार सम्मेलनमा छलफल सहित अगाडि बढाउन परिसंघबाट समेत आवश्यक पहल गरिने उल्लेख गर्नुभयो ।

यसपटकको तेस्रो पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्व सम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी सबै प्रदेशहरुको पूर्वाधारको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी सम्मेलनमा गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई नेपाल पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्ने गरी परिसंघबाट कार्यक्रम तय गरिएको छ ।

सो कार्यक्रममा परिसंघ प्रदेश–१ का संयोजक मीनप्रकाश मैनाली, परिसंघका गभर्निङ काउन्सिल सदस्य वासुदेव गोल्यान, नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष एवं परिसंघका राष्ट्रिय परिषद् सदस्य आनन्द सुवेदी, मोरङ उद्योग संगठन, मोरङ व्यापार संघ लगायत स्थानीय उद्योगी तथा लगानीकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्