अध्यक्षको मनोमानी लगानी, ८ सय सदस्यको ५० लाख जोखिममा



भद्रपुर । झापाको शिवसताक्षी ९ दुधेमा कार्यालय रहेको साना किसान कृषि सहकारी संस्थाका लगभग ८ सय सदस्यको करिब ५० लाख रुपैंयाँ लगानी जोखिममा परेको छ । संस्थाका अध्यक्षले मनोमानी लगानी गरेका कारण सहकारीका सयौ सदस्यको लगानी जोखिममा परेको हो ।

धितो मुल्यांकन नगरी संस्थाका अध्यक्ष धनबहादुर थेबेले मनोमानी रुपमा लगानी गरेका कारण लाखौं रुपैंयाँ डुब्ने अवस्थामा छ । सहकारीमा बचत भएको रकम अपचलन गरेको सदस्यहरुले आरोप लगाएका छन् । लगानी नउठेका कारण साना किसान सहकारीको बिवाद अहिले दुधेमा उत्कर्षमा पुगेको छ । सदस्यहरु दैनिकजसो शेयर फिर्ता माग्न आउने गरेको भए पनि उनीहरुले पाउन नसकेको बताइएको छ ।

सहकारी संस्थाले प्रत्येक वर्ष साधारणसभा मार्फत् आय–व्याय सार्वजनिक गर्नु पर्ने नियम छ । विगत दुई वर्षदेखि सो संस्थाको साधारण सभा समेत हुन सकेको छैन । केही सेयर सदस्य भने आफ्नो सेयर माया मारेर अर्के सहकारीमा कारोबार गर्न थालेका छन् । सदस्य गिता अधिकारीका अनुसार आफ्नो सेयर डुबेको थाहा पाएर सहकारी छोडेको बताउँनुभयो । जम्मा गरेको सेयर रकमसमेत प्राप्त गर्न नसकेको उहाँको गुनासो छ । सहकारी संस्थालाई नियमन गर्न प्रत्येक पालिकामा सहकारी शाखा स्थापना गरिएको छ । शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख बद्री दाहालले त्यो सहकारीमा रकम हिनामिना भएको थाहा पाएको तर, अहिलेसम्म अनुगमन भने नगरेको बताउँनुभयो ।

जिल्ला सहकारी संघले पनि २०७४ सालपछि अनुगमन र कारबाहीका लागि सिफारीस गर्ने अनुमति पाएको छ । तर, साना किसान सहकारी दुधेका सदस्यको लगानी डुब्दासमेत सम्बन्धित निकायमा पहल गर्न नसकेको संस्थाका सचिव युवराज ढकालले बताउँनुभयो र्। सदस्य तुलसा योङ्याले शेयर र बचत रकम फिर्ता नदिएको बताउँनुभयो । अहिले सहकारीले लगानी गर्न सकेको छैन भने सेयर सदस्यको रकमसमेत फिर्ता दिन आनाकानी गरिरहेको समेत उहाँको भनाइ छ ।

अध्यक्ष थेबेले सहकारीको रकम आफूले नभई कर्मचारीले हिनामिना गरेको आरोप लगाउँनुभयो । सहकारीको डुबेको रकम उठाएर सदस्यलाई फिर्ता दिने उहाँले दाबी गर्नुभयो ।

सहकारीमा ८ सय सदस्यको प्रतिसदस्य एक हजार सेयर ३ सय सेवा शुल्क र उनीहरुले बचत गरेको रकम अहिले जोखिममा छ । सदस्यहरुले सम्बन्धित निकायले पहल गरी आफ्नो रकम फिर्ता गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्