के बन्ने ? किन बन्ने ?



माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विभिन्न समुदायका किशोर किशोरीलाई उनीहरूको भविष्यको चाहना र सपनाका सम्बन्धमा प्रश्न गर्दा परम्परागतभन्दा भिन्न जवाफ प्राप्त भएको छ। पहिला डाक्टर, इन्जिनियर बन्ने चाहना नै पहिलो प्राथमिकतामा पथ्र्याे भने अब अन्य पेसालाई पनि उनीहरूले उत्तिकै महत्व दिन थालेका छन्। राजधानीका ११ किशोर किशोरी जसले भर्खरै एसईई उत्तीर्ण गरेर कलेजको खोजी गर्दै थिए, उनीहरूलाई ‘के बन्ने, किन बन्ने’ भनेर प्रश्न गर्दा उनीहरूले दिएको जवाफ प्रस्तुत छ:

डाक्टर बन्ने धोको
म भविष्यमा डाक्टर बन्न चाहन्छु। किन डाक्टर बन्ने भनेर मैले आफैंलाई प्रश्न गर्दा धेरै प्रकारका जवाफ पाएँ। पहिलो त मुलुकमा थरिथरिका रोग र अस्वस्थता देखिएका छन्। जब नागरिक बिरामी हुन्छ, अन्ततः देश नै बिरामी हुन्छ। म मेरो देशका नागरिकलाई स्वस्थ बनाएर मुलुकको सेवा गर्न चाहन्छु। म अहिले जहाँबाट एसईई उत्तीर्ण गरें त्यही विद्यालयमा नै विज्ञान पढ्ने सोचमा छु। आफूले सानैदेखि पढेको विद्यालय नै उत्कृष्ट लागेको छ। यहाँका सबै शिक्षक योग्य हुनुहुन्छ, माया पनि गर्नुहुन्छ।
विज्ञान विषय लिँदा डाक्टर बन्न नसके पनि इन्जिनियर तथा नर्सिङको पाटो त बाँकी नै रहेकाले हाल विज्ञान विषय नै रोजेकी हुँ। सानैदेखि विज्ञानमा रुचि भएकाले मैले यो विषय रोजेकी हुँ, परिवारको ईच्छा पनि यही नै छ।

यास्ना भट्ट
जीपीए ः ३.४५
सिद्धार्थ वनस्थली इन्स्टिच्युट
बालाजु, काठमाडौं

सेफ बन्ने सपना
म सेफ बनेर आफ्नो, परिवारको र मुलुकको भविष्य उज्ज्वल बनाउन चाहन्छु। मलाई लाग्छ सुखी जीवन त्यो बेला हुन्छ जब मीठो खाना, राम्रो नाना र बलियो छानाको व्यवस्था हुन्छ। मलाई विश्वास छ, सेफ भएपछि यी आधारभूत आवश्यकता पूरा गर्न गाह्रो पर्दैन। मलाई थाहा छ, सेफको आम्दानी पनि राम्रो हुन्छ। सफल सेफहरू देश–विदेशमा जागिर खाइरहेका हुन्छन्। विकसित मुलुकको भ्रमण पनि हुने स्वाद पनि फेरिने, क्या मज्जा ¤
खासमा मेरो अन्तिम धोको भनेको नेपालमै होटेल तालिम केन्द्र खोलेर सञ्चालन गर्ने हो। नयाँ नयाँ स्वादका खाना बनाउन सक्ने जनशक्ति तयार भएपछि विदेशीलाई आकर्षित गरेर पर्यटन व्यवसायको पनि विकास हुन्छ। स्वादिलो खानाका लागि मानिस कति लामो बाटो हिँडेर आउँछन्। जीवन आनन्ददायी बनाउने हो भने गाँस, बास, कपासको पहिलो बुँदालाई पहिलो प्राथमिकता दिनुपर्छ।

समीर पाख्रिन
जीपीए ः ३.३५
पाँगा माध्यमिक विद्यालय
कीर्तिपुर, काठमाडौं

इन्जिनियर बन्ने योजना
सोचेको सबै पूरा भइदिए त मान्छे, मान्छे रहँदैनथ्यो सायद। सोचेजस्तो नतिजा नआए पनि त्यसको छेउछाउसम्मको ल्याएकामा खुसी छु। कक्षा १० को नतिजाका आधारमा मैले एसईईको नतिजा अलि बढी आशा गरेको थिएँ।
मेरो अब कक्षा ११ र १२ को रोजाइ ब्राइट फ्युचर नै हो। सबै साथी उपत्यकाका विभिन्न शैक्षिक संस्था चाहारिरहेका छन्। गन्तव्यविहीन कुइराको कागजस्तो हुनुभन्दा मैले आपूm पढेको विद्यालय रोजें उच्च शिक्षाका लागि। बाल्यकालदेखि यसै संस्थामा पारिवारिक वातावरणका साथ पढें। मैले विज्ञान विषय लिएर पढ्ने योजना बनाएकोे छु। परिवारको चाहना पनि यही छ।

शायन कार्की
जीपीए ः ३.८०
ब्राइट फ्युचर मावि
तीनथाना, नैकाप, काठमाडौं

फार्मेसिस्ट बन्ने योजना
अहिलेसम्म पढ्दै आएको एम्स एकेडेमी स्कुल नै मेरो कक्षा ११ र १२ का लागि रोजाइ हो। १२ उत्तीर्ण भएपछि ब्याचलर लेबल आर्मी कलेजमा पढ्नेछु। त्यहींबाट फामेर्सीमा उत्कृष्ट नतिजा ल्याएर देशमै फार्मेसिस्ट बन्छु। ललितपुरको ट्याङ्गलमा जन्मिएकी मैले आफ्नो वरिपरि फार्मेसी पढेर राम्रो काम गर्ने अग्रजहरू देखेकी छु, म पनि फार्मेसीबाटै देशको सेवा गर्नेछु।

कीर्तिका कपाली
एडभान्स इन्टरनेसनल मोडल स्कुल
(एम्स एकेडेमी)

एमबीए गर्न विदेश जान्छु
मैले युनाइटेड एकेडेमी ललितपुरबाट एसईई उत्तीर्ण गरें। म पुनः विद्यालयमा नै व्यवस्थापन विषय पढ्ने भएकी छु। कम्तीमा पनि १२ कक्षासम्म यही विद्यालयमा नै पढ्ने र त्यसपछि कान्तिपुर विश्वविद्यालयमा पढ्ने धोको छ। भविष्यमा उच्च शिक्षाका लागि एमबीए गर्न विदेश जाने विचारमा छु। पारिवारिक पृष्ठभूमिले पनि आफूलाई व्यवस्थापनतिर तानेको हो कि ¤ मेरो बुबा बैंकर भएकाले पनि मलाई व्यवस्थापनतिर रुचि भएको हुन सक्छ।
रिद्धि डंगोल
जीपीए ः ३.८०
युनाइटेड एकेडेमी
ललितपुर

चार्टर्ड एकाउन्टेन्ट बन्ने
कहाँ भर्ना हुने अझै निर्णय लिइसकेकी छैन। तर, राम्रो विद्यालयमा व्यवस्थापन संकायमा भर्ना हुन चाहन्छु। म भविष्यमा राम्रो चार्टर्ड एकाउन्टेन्ट बन्छु। देशमा एउटा कुशल व्यवस्थापक बन्ने मेरो ईच्छा छ। परिवारको सल्लाहमा व्यवस्थापन तहमा अध्ययन गर्ने भएपछि मैले देशमा सक्षम चार्टर्ड एकाउन्टेन्ट हुने चाहना राख्नु स्वाभाविक हो।
उरुसा खनाल
महामञ्जुश्री स्कुल

 

 

 

डाक्टर बन्ने चाहना
मैले विज्ञान पढ्ने मन बनाएको छु। मेरो परिवारको ईच्छा पनि यही छ। भविष्यमा मेरो चाहना डाक्टर बन्ने हो। कक्षा ११ र १२ पढ्न पहिलो गन्तव्य सेन्ट जेभियर्स नै हो तर कारणवश जान सकिएन भने ब्राइट फ्युचर दोस्रो गन्तव्य हो। ब्राइट फ्युचर किन पनि मेरो गन्तव्य हो भने बाल्यकालदेखि नै यहाँको वातावरणमा घुलमिल हुँदै पढ्ने अवसर मिल्यो। यस विद्यालयले हासिल गरेको प्रसिद्धि र शैक्षिक उचाइका कारण पनि मलाई यहीं पढ्ने ईच्छा भएको हो।
अविनेश घिमिरे
जीपीए ः ३.९५
ब्राइट फ्युचर मावि
तीनथाना नैकाप, काठमाडौं

कुसल व्यापारी बन्नेछु
भविष्यमा विल्कुलै फरक किसिमको एउटा कुशल दक्ष व्यपारी बन्ने उद्देश्यका साथ व्यावस्थापन संकायमा अध्ययन गर्ने विचार गरेकी छु।
मैले अझै कुन कलेजमा पढ्ने निर्णय भने गरिसकेकी छैन। मेरो सानो छँदाको उद्देश्य थियो, विज्ञान पढेर डा. बन्ने अनि गरिब दीनदुखीको धेरैभन्दा धेरै सेवा गर्ने तर यो मेरो उद्देश्य म्यानेजमेन्ट विषयतिर आकर्षित भएको छ। एउटा सफल व्यापारी बन्नेतिर जागृत भएको छ। जसका लागि म तनमनका साथ आहोरात्र खट्नेछु र यो मेरो सपना र उद्देश्यलाई पूरा गर्नेछु।
ऋतु राई
ग्रेड ः ए प्लस
रिलायन्स इन्टरनेसनल ऐकेडेमी कपन, काठमाडौ

 

इन्जिनियर बन्नेछु
पहिला त विज्ञान विषय लिएर ११ र १२ उत्तीर्ण गर्नुछ। त्यसपछिको मेरो चाहना इन्जिनियरिङ अध्ययन हो। भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने चाहना छ।
निशान्त भण्डारी
जीपीए ः ३.६५
एड्भान्स इन्टरनेसनल मोडल स्कुल
(एम्स एकेडेमी)

फेसन डिजाइनर बन्ने सपना
कक्षा ११ र १२ व्यवस्थापन विषय लिएर पढ्छु। मेरो भविष्यको चाहना फेसन डिजाइनर बन्ने हो। पहिला व्यवस्थापनमा कक्षा १२ उत्तीर्ण गरेपछि फेसन डिजाइनिङ विषय लिएर उच्च शिक्षा हासिल गर्नेछु। नेपालमै फेसन डिजाइनर भएर काम गर्ने मेरो ईच्छा छ।
एलिशा क्षेत्री
जीपीए ः २.८५
वैष्णवी वैकल्पिक विद्यालय

 

 

 

सिभिल इन्जिनियरका लागि तयारी
सिभिल इन्जिनियर पढ्नुको मूल उद्देश्य भनेको टेक्निकल विषय लिएर पढ्दा आफ्नो भविष्य सुनिश्चित गर्ने आधार नै हो। मलाई लाग्छ प्राविधिक विषयमै धैरे स्कोप रहेको छ। सानैदेखि सिभिल इन्जिनियर बन्ने ईच्छा छ। मैले माध्यमिक तह रामेछाप सरकारी स्कुलमा पढेको हुँ। अब उच्च शिक्षा काठमाडौंमा नै बसेर पढ्ने निर्णय गरेको छु। अहिले पढ्ने विद्यालय भने रोजेको छैन। अहिले ११–१२ मा विज्ञान विषय लिएर पढ्छु, पछि सिभिल इन्जिनियरिङ पढ्ने लक्ष्य रहेको छ।
इराज कार्की
जीपीए ः ३.२५
श्री भैरवी माध्यमिक विद्यालय
मन्थली–५, रामेछाप

प्रतिक्रिया दिनुहोस्