बलुचिस्तान पृथक्तावादी संगठन बीएलए आतंकवादी घोषित



वासिङटन (एजेन्सी)
अमेरिकाले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा पाकिस्तानी सरकार विरुद्ध लडिरहेका पृथक्तवादी संगठन ‘बलुचिस्तान लिबरेसन आर्मी‘ (बीएलए)लाई आतंकवादी समुह घोषणा गरेको छ ।

उक्त संगठनले बंदरगाह शहर ग्वादरमा एक पाँच तारे होटलमा हमला गरेको घटनापछि अमेरिकाको उक्त निर्णय आएको हो । पाकिस्तानले सन् २००६ मा उक्त संगठनमाथि प्रतिबन्ध लगाएको थियो र अमेरिकालाई पनि त्यसतै गर्न अनुरोध गरेको थियो ।

अमेरिकको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ– बीएलए एक हतियारधारी पृथक्तावादी समुह हो र यसले पाकिस्तानको मुख्य रुपमा जातिय बलुच क्षेत्रमा सुरक्षाबल र आम नागरिकलाई निसाना बनाउँदै आइरहेको छ ।

मन्त्रालयले अमेरिकाको कुनै ब्यक्ती वा संस्थाबाट बीएलए उग्रवादीहरुको मद्दत गर्नु अपराध हुने जनाएको छ । उक्त संगठनले सन् २०१८ मा बलुचिस्तानमा चीनका इन्जिनियरलाई निशाना बनाउन गरिएको आत्मघाती हमला सहित विगतका बर्षमा कयौं आतंकवादी हमला गरेको मन्त्रालयले उल्लेख गरेको छ । यस संगठनले सन् २०१९ मा ग्वादरको एक विलासी होटलमाथि हमला गरेको थियो ।

अमेरिकाको कदमको स्वागत गर्दै पाकिस्तानले यस कारवाहीले बीएलएमाथि अंकुश लगाउन सुनिश्चित हुने जनाएकोछ । पाकिस्तानबाट अलगिने माग सहित विद्रोहमा लागेका उक्त संगठनलाई भारतको सहानुभति र सहयोग रहेको आरोप छ । नयाँदिल्लीले बलुचिस्तानमा भइरहेको दमनलाई लिएर पाकिस्तानको आलोचना गर्दै आइरहेको छ । इस्लामाबादले पनि बलुचिस्तानमा हुने अतिवादी हमलामा भारतको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउदै आइरहेको छ ।

अमेरिकाको यस निर्णयले बलुचिस्तानलाई लिएर भारतको नितिलाई पनि प्रभावित पार्ने निश्चित छ । अब नयाँदिल्लीले बलुचिस्तानको प्रतिबन्धित उक्त संगठनलाई सहयोग गरेको प्रमाण भेटिएमा त्यसले एक आतंकवादी संगठनलाई सहयोग गरेको प्रमाणित हुने छ । यसले अमेरिकी नितिको पनि उलंघन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्