रूपन्देहीमा पूर्वाधार विकासलाई प्राथमिकता



यमलाल भुसाल,
रुपन्देही जिल्लामा रहेका १६ वटा स्थानीय तहमध्ये ६ वटा नगरपालिका रहेका छन्। बुटवल उपमहानगरपालिका र ५ वटा नगरपालिका रहेकामा लुम्बिनी सांस्कृतिक नगरपालिकाबाहेकका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन्।

बुटवल उपमहानगरपालिकासहित पाँचवटा नगरपालिकाले ६ अर्ब २९ करोड ५९ लाख २५ हजार रुपियाँको बजेट सार्वजनिक गरेका छन्।बजेटमा सबै नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन्।

सबै स्थानीय तहले बजेटको स्रोतका रूपमा स्थानीय आन्तरिक स्रोत (कर, सेवा शुल्क, दस्तुर) र संघीय सरकारको तर्फबाट प्राप्त हुने समानीकरण, सशर्त, पूँजीगत अनुदानलाई बजेटमा समावेश गरेका छन्।

बुटवल उपमहानगरपालिकाले १ अर्ब ९० करोड रुपियाँबराबरको बजेट सार्वजनिक गरेको छ। जसअन्र्तगत चालूतर्फ १ अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पूँजीगततर्फ ७७ करोड ९८ लाख अर्थात् ४१ प्रतिशत बजेट विनियोजन गरेको छ।

चालू वर्षभन्दा करिब ३५ करोड बढी रकमको बजेट प्रस्तुत गरेको छ। बुटवल उपमहानगरले चालू आवमा १ अर्ब ६६ करोड ५० लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो।नगर उप–प्रमुख गुमादेवी आचार्यले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य सबल आर्थिक केन्द्र समुन्नत बुटवल निर्माण गर्दै ‘समृद्ध बुटवल: खुसी जनता’ रहेको बताउनुभयो। उपमहानगरले पारित नीति तथा कार्यक्रमलाई आधार बनाएर बजेट ल्याएको नगरप्रमुख शिवराज सुवेदीले बताउनुभयो।

बुटवलले सार्वजनिक गरेका बजेटमा पूर्वाधार विकासका लागि ३५ करोड ९८ लाख २५ हजार छुट्टयाइएको छ। यस्तै वन वातावरण, हरियाली प्रवद्र्धन सरसफाइ तथा विपद् व्यवस्थापन एवं सूचना प्रविधिका लागि ४ करोड ९० लाख बजेट विनियोजन गरिएको छ। यसै गरी वडास्तरीय कार्यक्रमका लागि १७ करोड बजेट विनियोजन भएको छ।

त्यसै गरी सिद्धार्थनगर नगरपालिकाले पर्यटन, कृषि, खेलकुद, फोहोर व्यवस्थापन, पूर्वाधार विकासलगायतलाई प्राथमिकता दिँदै १ अर्ब १८ करोड ४७ लाख ६४ हजार रुपियाँबराबरको बजेट ल्याएको नगर उप–प्रमुख उमा काफ्लेले बताउनुभयो।

बजेटमा पूँजीगततर्फ १ अर्ब रुपियाँ र चालूतर्फ समाजिक सुरक्षासमेत २६ करोड ५९ लाख १८ हजार विनियोजन गरिएको छ। जसमा संघीय सरकारबाट समानीकरणतर्फ १८ करोड १२ लाख, राजश्व बाँडफाँडबाट १० करोड, सशर्त अनुदानबाट १८ करोड ५६ लाख, सामाजिक सुरक्षातर्फ ७ करोड र सडक बोर्डबाट १ रुपियाँ प्राप्त हुने जनाइएको छ।

यस्तै प्रदेश सरकारबाट समानीकरणतर्फ ४९ लाख ७६ हजार, राजश्व बाँडफाँडबाट १ करोड १७ लाख ७३ हजार र समपुरकबाट २ करोड प्राप्त हुने जनाइएको छ। नगरप्रमुख हरिप्रसाद अधिकारीले उद्योग, पर्यटन, व्यापार क्षेत्रमा लगानी वृद्धिका लागि स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने गरी बजेट ल्याएको बताउनुभयो।

नीति तथा कार्यक्रममा रहेका विषय रोजगारी वृद्धि गर्ने, डण्डा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने, सार्वजनिक पार्क बनाउने र भएका पार्कलाई व्यवस्थित गरी आन्तरिक पर्यटन विस्तार गर्ने, आवश्यक जनशक्ति तयार गर्ने, घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने, पाँच तलाभन्दा माथि निर्माण गरिने भवनहरूलाई विशेष छुट दिने, पार्किङ व्यवस्थापन गर्ने, नगरको स्वामित्वमा रहेका सार्वजनिक जमिन खोजी गरी व्यवस्थित गर्ने, युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने, पर्यटकीय गेट, सामुदायिक कृषि भवन, दरखसवा पार्क, डण्डामा बोटिङ सञ्चालन गर्ने, नगरका सबै सडक पक्की गर्ने, लैगिंक हिंसा न्यूनीकरणमा विशेष अभियान सञ्चालन गर्ने गरी बजेट ल्याएको मेयर अधिकारीले बताउनुभयोे।

त्यस्तै तिलोत्तमा नगरपालिकाकी उप–प्रमुख जागेश्वरी चौधरीले १ अर्ब ५४ करोड ३९ लाख १० हजार रुपियाँको बजेट ल्याएको बताउनुभयो।

आगामी आर्थिक वर्षका लागि ल्याइएकोे बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १९ करोड बढी छ। बजेटमा चालू खर्चतर्फ ५३ करोड ३९ लाख अर्थात् ३४ दशमलव ५९ प्रतिशत र पूँजीगत खर्चतर्फ १ अर्ब ९९ लाख ४० हजार अर्थात् ६५ दशमलव ४१ प्रतिशत रुपियाँ विनियोजन गरिएको छ। बजेट शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको र ‘समृद्ध नगर: खुसी नगरबासी’ लाई विशेष प्राथमिकता दिएको मेयर वासुदेव घिमिरेले बताउनुभयो।

त्यसै गरी देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले ७५ करोड ८७ लाख रुपियाँको बजेट ल्याएकोे बताउनुभएको छ।

सर्शततर्फ १८ करोड २६ लाख, सामाजिक सुरक्षातर्फ १२ करोड, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमतर्फ १ करोड ५० लाख, अनुदान राजश्व बाँडफाँड समपूरक अनुदान र आन्तरिक राजश्वतर्फ गरी ४४ करोड ११ लाख रुपियाँ विनियोजन गरिएको छ।

नगरप्रमुख हीराबहादुर खत्रीले नगरपालिकाले कृषि, पर्यटन, उद्योग र पशुपालनलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको र सोही कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको बताउनुभयो। त्यस्तै सैनामैना नगरपालिकाले ९० करोड ८५ लाख ५१ हजार रुपियाँको बजेट सार्वजनिक गरेको उप–प्रमुख बिना रानाले बताउनुभयो। सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्कीले विनियोजित बजेटमध्ये चालू खर्चमा ४४ करोड ११ लाख १० हजार विनियोजन गरिएको छ भने पूँजीगत खर्चका लागि ४६ करोड ७४ लाख ४१ हजार विनियोजन गरिएको बताउनुभयो।

नगरप्रमुख कार्कीले बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइने, जेष्ठ र अपांग नागरिकको भावनालाई कदर गर्दै प्रदेश सरकारसँगको सहकार्यमा वडा नं. १ मा प्रदेशस्तरको जेष्ठ नागरिक ग्राम र अपांग ग्राम स्थापना गरिने बताउनुभयो।

बजेटले सैनामैना नगरपालिका–८ को मेजर रोडदेखि उत्तर चक्रपथभन्दा दक्षिण अन्दाजी २ सय ५० बिगाहा क्षेत्रफल रहेको जग्गामा भवन निर्माण संहिताले निर्धारण गरेको मापदण्डअनुसार व्यवस्थित, सुन्दर र सुविधासम्पन्न नमुना बस्ती विकासका लागि बजेटमा प्राथमिकता दिएको मेयर कार्कीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्