युरोपमा प्रचण्ड गर्मीः फ्रान्सको तापक्रम कीर्तिमानमा



पेरिस (एजेन्सी)
युरोपमा भइरहेको चर्को गर्मीले त्यहाँको जनजीवन प्रभावित भइरहेको छ । युरोपका विभिन्न स्थानमा गर्मीले किर्तिमान तोडिरहेका छन् । शुक्रबार फ्रान्सको तापक्रम किर्तिमान ४५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । सरकारले नागरिकहरुका लागि स्वास्थ्यमा पर्न सक्ने असरलाई लिएर चेतावनी जारी गर्न परेको छ ।

गर्मीका कारण युरोपमा कयौंको मृत्यु भइसकेको छ । गर्मी हावा अर्थात लुले जंगलमा आगलागीका घटनाहरु बढेको छ । विमान सन्चालन देखि रेलका लिकमा समेत गर्मीले असर देखिएपछि रेलसेवा सन्चालन प्रभावित भएका छन् । अत्यधिक गर्मीका कारण स्कुल बन्द गरिएका छन् भने हावाको गुणस्तरलाई लिएर अलर्ट जारी गरिएकोछ ।

तापक्रममा आफैमा किर्तिमानको स्तरमा पुगेका छन् । अपेक्षाकृत चिसो मानिने युरोपमा तापमानको यो बृद्धीलाई अनौथो मानिएको छ ।

उत्तरी अफ्रिका, पोर्चुगाल र स्पेनबाट आउने तातो हावाका कारण हावाको चाप बढेपछि उत्तरी युरोपमा तातो हावा बहन थाल्छ । यसले तापक्रम पनि बढ्छ ।
युरोपियन सेन्टर फर मिडियम रेन्ज वेडर फोरकास्टमा आवद्ध टिमोथी हेवसनले आकाश सफा हुनुका कारण तापक्रम अझ बढ्ने बताए । त्यसैगरि बेलायतका मौसम विभागका विशेषज्ञ ग्रेम मेगडेले तापक्रममा उतार चढाव प्राकृतिक रुपमा हुने तर अहिले विश्व औद्योगिकिकरणले गर्दा पहिलाको अपेक्षामा १ डिग्री सेल्सियस धेरै गर्मी भएको बताए ।


युरोपमा सबैभन्दा धेरै ४८ डिग्री सेल्सियस तापक्रम सन् १९७७ जुलाइमा रिकर्ड गरिएको थियो । तर त्यसपछि २० सबैभन्दा गर्मी बर्ष विगतका २२ बर्षमा दर्ता गरिएका छन् । विश्व मौसम संगठनका अनुसार यसमा सन् २०१५ देखि २०१८ बीचका बर्ष उच्च ४ बर्षमा पर्छन् ।

उच्च तापमानका लागि मानविय गतिविधि पनि धेरै हदसम्म जिम्मेवार मानिएको छ । यही स्थिति रहेमा सन् २०४० दशक सम्ममा पुरै युरोपमा हरेक दोस्रो बर्ष गर्मीको अवस्था यसतै हुने छ । सन् २१०० सम्ममा ३ देखि ५ डिग्री सेल्सियससम्म तापक्रममा बृद्धी हुन सक्छ ।

कम्तिमा ३ दिनसम्म तापक्रम सामान्यबाट ५ डिग्री वा त्यो भन्दा बढी रहेमा त्यसलाई लु मानिनेछ । यो रातीको तापक्रम, आद्र्रता र हावाको गतिमा पनि निर्भर रहेने हेवसन बताउँछन् । तातो हावाको बहाव अर्थात लुले सबै जीवको स्वास्थ्यमा असर पार्छ । मुटु, किडनी र स्वास सम्बन्धी समस्या रहेका वयस्क तथा बच्चाहरुका लागि लु प्राण घातक समेत बन्न सक्छ ।

लुका कारण बेहोस हुन सक्ने र विभिन्न अंगहरुमा असर पर्न सक्ने वा मृत्यु नै हुन सक्ने सम्भावना रहन्छ । एक अध्ययनमा सन् २००३ को भिषण गर्मीपछि पहिलाको तुलनामा ७० हजार भन्दा बढीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्