निगमको जापान उडानको तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल वायुसेवा निगमले जापानको ओसाका विमानस्थलबाट असार १९ गतेदेखि नियमित उडान गर्ने भएको छ । निगमले जापानको ओसाका र नारिता विमानस्थलमा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम आउने निगमको अपेक्षा छ ।

नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने योजना रहेको निगमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

निगमका अनुसार अहिले निर्धारित उडान तालिकाअनुसार हप्ताको तीन वटा उडान मंगलबार, बिहीबार र शनिबार हुनेछ । काठमाडौंबाट बिहान २ बजेर ३० मिनेटमा ओसाकाका लागि उडेको विमान स्थानीय समय अनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन सा“झ ६ बजे काठमाडौं आइपुग्ने छ ।

यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई ह“ुंदै ओसाकासम्म उडान गर्दै आएको थियो । तत्कालीन समयमा विमानको अभावका कारण जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा जापानबाट काठमाडौंका लागि सबैभन्दा बढी ४१ हजार ७० जनाले नेपाल यात्रा गरेका थिए । जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिब २२ हजार यात्रु आएका थिए ।

ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६ सय १३ यात्रुमा सीमित भएको थियो । निगमले सो संख्या बढेर हाल वार्षिक सिट क्षमता ५७ हजार हुने जनाएको छ ।

निगमको गृष्मकालीन तालिकाअनुसार काठमाडौं–ओसाका र ओसाका–काठमाडौं उडान एकतर्फी करिब ६ घण्टा ३० मिनेटको हुनेछ । दोस्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामा समेत नियमित उडान गर्ने योजना बनाई प्रक्रिया अगाडि बढाइएको निगमको भनाइ छ । निगमले एकतर्फी करिब ५० हजार र दुईतर्फी करिब ८० हजार रुपिया“ भाडा निर्धारण हुनेछ ।

टोकियोको नारिता विमानस्थलमा उडान शुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना निगमको रहेको छ ।

विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान सन् २००७ सम्म नियमित रुपमा भएकोे थियो । बोइङ ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो । तर, अबको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइडवडी विमानबाट सिधा उडान गरिने छ ।

ओसाकाको सबै उडान वाइडवडी ए ३३०–२०० बाट हुनेछ ।२ सय ७४ सिट क्षमताको एयरबस ३३०–२०० मा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लासका सिट रहेका छन् ।