ज्योतिष गाउँ पाङ्ग खुर्कोटमा संस्कृत पढाउन नयाँ पाठशाला

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
ज्योतिष बिद्या पढ्नका लागि सयौ बर्ष पहिले देखि परिरिच ठाउँ हो पर्वतको पाङ्ग । यहाँ ज्योतिष बिद्या सिक्नका लागि साविकको गण्डकी, धौलागिरी, लुम्बिनी मात्रै होइन कर्णालीका जिल्लाबाट समेत बटुकहरु अहिले पनि आउने गर्छन । बुढापाकाले संस्कृत र ज्योतिष बिद्या सिकेपछि युवा पुस्तामा अमेरिका मोह जागेपछि पुरानो पहिचान हराउँदैछ ।

ज्योतिष गाउँका रुपमा परिचित पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ पाङ र वडा नम्बर २ खुर्कोटमा संस्कृत भाष र ज्योतिष बिद्या सिक्ने क्रम हराउन थालेपछि फेरी संस्कृत जोगाउन अभियान चलाउन थालिएको छ ।

टोल–टोलमा ज्योतिष र पुरोहित भएकै कारण पाङ, खुर्कोटलाई बिद्वानहरुको गाउँको रुपमा परिचित पाङ्ग खुर्कोटमा संस्कृत पाठशाला सञ्चालनमा ल्याएको छ। पछिल्लो पुस्ता संस्कृत भाषा र ज्यातिष बिद्याप्रति ध्यान नदिँदा लोप हुने चिन्ताले यहाँका बासिन्दाले संस्कृत पाठशाला सञ्चालन गर्ने अभियान चलाएका हुन ।

दुबै वडाका बासिन्दा मिलेर वडा नम्बर १ खुर्कोटको राधाकृष्ण मन्दिरसँगै शारदा संस्कृत बिद्यापीठ स्थापना गरेका छन् । उनीहरुले यो संस्कृत बिद्यापीठमा संस्कृत भाषासँगै ज्योतिष बिद्यासमेत अध्ययन गराउने उदेश्य रहेको जानकारी दिएका छन् ।

शारदा संस्कृत बिद्यापीठका अध्यक्ष द्रोर्णराज उपाध्यायले मान्छेलाई आचरण सिकाउने काममा संस्कृत ज्ञानले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

माओबादी जनयुद्धकालको समयमा आफु हिमालय माविको प्रधानाध्यापक भएको समयमा कक्षा ६, ७ र ८ को संस्कृत बिषयको जाँच लिइरहेको बेला प्रश्नपत्र र उत्तरपुस्तिका च्यातिएको र त्यसपछि सामुदायिक बिद्यालयले संस्कृत बिषय हटाएको अनुभब उहाँको छ । त्यतिबेला संस्कृत बिषय हटाउनु दुर्भाग्य भएको भन्दै आफु प्रधानाध्यापकबाट निबृत्त भएपछि संस्कृत बिद्यापीठ स्थापना अभियानमा लागेको जानकारी दिनुभयो ।

ज्योतिष गाउँमा संस्कृत पाठशाला सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय एवम् पर्वतका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्माले आफु अव नियमित रुपमा संस्कृत पढ्न जाने बताउनुभयो ।
कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले संस्कृत भाषा अन्य भाषाभन्दा उत्कृष्ट भएको भन्दै पछिल्लो समय नासाले समेत संस्कृतका पाठयपुस्तकमा चासो दिएकाले नेपाल सरकारले नै सबै बिद्यालयमा संस्कृत भाषाको समेत पठनपाठन सुरु गर्नुपर्ने बताउनुहुन्छ ।

कुश्मा नगरपालिका वडा नम्बर २ खुर्कोटका वडा अध्यक्ष यदुनाथ बाँस्तोला र वडा नम्बर १ का वडा अध्यक्ष देबेन्द्र सुवेदीले ज्योतिष गाउँमा संस्कृत बिद्यापीठ खोल्ने बर्षौदेखिको सपना पुरा भएको बताउनुभयो ।

संस्कृत बिद्यापीठको कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले उद्घाटन गर्दै संस्कृत भाषा बिद्यालय तहमा नरहदा ब्यक्तिको आचरण, नैतिकता र ब्यवहारमा फरकपन आएको बताइन ।

मानिसको आचरण, नैतिकता, सदभार्ग र ब्यावहारिक ज्ञानका लागि संस्कृत पठनपाठन महत्वपूर्ण भएको धारणा राख्नुभयो । ‘मानिसमा अहिले आचरण, नैतिकता हराउदै गएको छ, त्यसको मुल कारण संस्कृत भाषाको पठनपाठन नगराउनु हो’ उहाँले भन्नुभयो ।

Skip This