नयाँ संहितामा कुष्ठ रोगीलाई विभेद



सरोज यादव, विराटनगर
नयाँ संहिताले कुष्ठरोगीलाई विभेद गरेको शुक्रबार विराटनगरमा भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । एशोसिएशन फर आइडिया नेपालको आदर्श र नीति कुष्ठ प्रभावित व्यक्तिहरुको आत्मसम्मान र प्रगति बिषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै एशोसिएशन फर आइडियल प्रदेश नम्बर ३ का महासचिव तारानाथ सिग्देलले नयाँ संहिताले कुष्ठरोगीहरुप्रति विभेद गरेको बताउनु भयो ।

उहाँले नयाँ संहिताले कुष्ठरोग यदि श्रीमानलाई लागे श्रीमतीले पारपाचुके दिन पाउने र श्रीमतीलाई लागे श्रीमान्ले दिन पाउने ऐन आएको भन्दै सो दफा तत्काल संशोधन गर्न माग गर्नुभयो । यस्तै देवानी संहिताको दफा ७१ को २ को ग मा कुष्ठरोगी भएकोलाई विवाह गर्नु या गराउनु हुदैन भनेर उल्लेख भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् ।

कार्यक्रममा बोल्दै एशोसिएशन फर आइडिया नेपालका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलले अहिलेको कानुन कुष्ठप्रभावितका लागि विभेदपूर्ण रहेको बताउनु भयो । उहाँले हाल नेपालमा ३ हजार २ सय कुष्ठरोगी रहेको बताउनु भयो । यसैगरी विश्वमा २ लाख कुष्ठरोगी रहेका मध्य भारतमा मात्रै ५० हजार कुष्ठरोगी रहेको उहाँको भनाई थियो । नेपाल कुष्ठप्रभावित मुलुक मध्ये ४ औ स्थानमा रहेको पनि उहाँले जानकारी दिनुभयो । यसैगरी प्रदेश नम्बर १ मा झापा, मोरङ र उदयपुरमा बढी मात्रामा कुष्ठ प्रभावित रहेको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका क्षयकुष्ठ अधिकृत ध्रुव उराँवले जानकारी दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद केदार कार्कीले विभेद कानुनका बारेमा सदन र सम्बन्धीत ठाँउहरुमा आवाज उठाउने बताउनु भयो । यसैगरी एशोसिएशन फर आइडिया नेपालको १ नम्बर स्तरीय समिति गठन गरेको छ । दिपक मण्डलको अध्यक्षतामा ७ जनाको नयाँ कार्य समित निर्माण भएको हो । एशोसिएशन फर आइडिया नेपालले कुष्ठरोग प्रभावित व्यक्तिहरुको हकअधिकार संरक्षणका क्षेत्रमा काम गर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्