विराटनगरका सामुदायिक विद्यालयमा विद्यार्थीको घुइँचो



सरोज यादव, विराटनगर
अंग्रेजी माध्यममा पढाइ हुने विराटनगरका सामुदायिक विद्यालयहरूमा भर्नाका लागि विद्यार्थीहरूको घुइँचो लागेको छ । निजी विद्यालयहरूले चर्को शैक्षिक शुल्क लिन थालेका बेला सामुदायिक विद्यालयले अंग्रेजी माध्ययमबाट अध्यापन सुरू गरेपछि भर्नाका लागि विद्यार्थीहरू घुइँचो लागेको हो ।

अंग्रेजी माध्यममा पढाइ थालेका विराटनगरका सामुदायिक विद्यालयले भर्ना चाहने विद्यार्थीहरूले अनिवार्यरूपमा प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था गरेका छन् । विराटनगरमा पोखरिया, गोग्राह आदर्श र सत्यनारायण, महेन्द्र माध्यमिक विद्यालयलगायतका सामुदायिक विद्यालयले अंग्रेजी माध्ययममा अध्यापन गराउँदै आएका छन् ।

ती विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा दिने विद्यार्थीहरूको भीड लागेको छ । विसं २०७० सालदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको पोखरिया माविमा भर्नाका लागि प्रवेश परीक्षामा सामेल हुन २ हजार ७७ जनाले आवदेन दिएका छन् । प्रवेश परीक्षामा १ हजार ४ सय २२ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । सो विद्यालयले विगत पाँच वर्षदेखि अंग्रेजी माध्यमबाट पढाउन सुरू गरेको हो ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थीहरूले उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुन थालेपछि निजीबाट विद्यार्थी आउने क्रम वर्षेन बढेको हो । सो विद्यालयमा विराटनगरका चर्चित बोर्डिङ स्कूलहरू बीकेभीएम, एभरेष्ट, सगरमाथा, सेन्टजोसेफलगायतका विद्यार्थीसँगै सप्तरी, सिरहा, खोटाङ, भोजपुरलगायतका जिल्लाबाट समेत विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । विद्यालयका प्राचार्य खेमराज भट्टराईले राम्रो शिक्षा र निजी विद्यालयको मनोमानी शुल्कका कारण सामुदायिक विद्यालयतर्फ आकर्षण बढेको बताउँदै आफूहरुलाई विद्यार्थीेको भार थेगिनसक्नु भएको बताउनुभयो ।

पोखरियामा आगामी शैक्षिक सत्रका लागि कक्षा ६ देखि ९ सम्म साधारणतर्फ २ सय ३० जना विद्यार्थीको भर्नाका लागि आवेदन माग गरिएकोमा निजी विद्यालयमा पढेका १४ सय २२ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । अगामी शैक्षिक वर्षदेखि विद्यालयमा दरबन्दीसहित स्टाफ नर्सको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयका हाल १८ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । ‘निजी विद्यालय छाडेर सामुदायिक विद्यालय पढ्न चाहने विद्यार्थीको चाप थेगी नसक्नु छ’, प्राचार्य भट्टराईले भन्नुभयो– ‘प्रवेश परीक्षामा सहभागी सबै विद्यार्थी अब्बल छन् । तर कोटाभन्दा धेरैको आवेदन परेका कारण विद्यार्थी छनोटका लागि प्रवेश परीक्षा लिन विद्यालय बाध्य भएको हो ।’

त्यस्तै विसं २०७२ बाट अग्रेजी माध्यम सुरू गरेको विराटनगरको सत्यनारायण माविमा पनि कोटाभन्दा बढी विद्यार्थीले भर्नाको आवेदन दिएका छन् । सो विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलका अनुसार १ सय ५० विद्यार्थीको कोटा रहेकोमा ५ सय जना विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षामा सामेल भएका छन् । यस्तै विराटनगर बरगाछीस्थित गोग्राहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमबाट अध्ययनगर्न चाहने विद्यार्थीको १ सय ६० सिटका लागिआवेदन खुलाएको छ। सो विद्यालयमा समेत विद्यार्थीको चाप अत्यधिक रहेको विद्यालयका प्रधानाध्यापक वेदुकुमार खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्