महोत्सवको पैसाले संग्रहालय भवन निर्माण



धनवीर दाहाल, रुकुम
बिभिन्न मेला र महोत्सव आयोजना गरेर त्यसको आय व्यय सार्वजनिक नगर्ने र रकम हिनामिना गर्ने गरेका घटनाहरु छन् । तर रुकुम पश्चिममा भएको एउटा महोत्सवबाट जम्मा भएको पैंसाले जिल्ला स्तरिय संग्राहलय भवन निर्माण भएको छ ।

चैत्र ७ गतेदेखी १७ गते सम्म आयोजना गरिएको सांस्कृतिक महोत्सवबाट जम्मा भएको रकमबाट संगित संग्राहलय भवन निर्माण गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम शाखाले कलाकार मस्त विष्ट र पुनित पुनको स्मृतिमा संगीत संग्राहलय तथा कला संगीत प्रशिक्षण केन्द्र बनाउने उद्देश्यले भवन निर्माण गरेको हो ।

संग्राहलयमा लोकबाजा संकलन गरेर संरक्षण गर्ने, बाजा बजाउने सन्दर्भमा पुस्ता हस्तान्तरण गर्दै जाने, भवनमा अर्को तला थप गरेर कला संगीत केन्द्रको स्थापना गर्ने र समृद्धिको यात्रामा रचनात्मक काम गर्न यस भवनको उपयोग गरिने प्रतिष्ठानका अध्यक्ष अमित परियारले बताउनुभयो । प्रतिष्ठानको जिल्ला शाखामा भवन निर्माण गर्ने यो पहिलो शाखा भएको भन्दै उहाँले सबैको सहयोगमा पहिलो संगीत संग्राहलय समेत स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।
तत्कालीन सांसद गणेशमान पुनको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट १० लाख र तत्कालीन जिल्ला विकास समितिबाट एकलाख रुपैयाँबाट थोरै काम बाँकी रहेकोमा प्रतिष्ठानले सञ्चालन गरेको सांस्कृतिक महोत्सवबाट प्राप्त चारलाख रुपियाँ बजेट थप गरेर भवन निर्माण कार्यलाई पूर्णता दिइएको प्रतिष्ठानका सचिव तुल देवकोटाले जानकारी दिनुभयो ।
दुईलाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र त्यसको लागि स्रोतको खोजी भैरहेको उहाँले बताउनुभयो । त्यसभन्दा बढी रकम सहयोग प्राप्त भएमा तला थप गर्ने योजना रहेको बताइएको छ ।

प्रतिष्ठानले महोत्सवबाट ५ लाख रुपियाँ आम्दानी गरेपनि नेपाल प्रहरीले रुकुम कारागारमा सञ्चालन गरेको कारागारलाई किताब अभियानमा सहयोग गरेको तथा महोत्सव सञ्चालनको क्रममा काम गर्ने व्यक्तिलाई करेन्ट लागेर घाइते हुँदा उपचार खर्च समेत गर्दा चारलाख रुपैयाँ मात्र बचत भएको सचिव देवकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्