पुडासैनीको ‘शहरभित्रको शहर’   



बेइजिङ, कवि दामोदर पुडासैनीको कविता सङ्ग्रह ‘शहरभित्रको शहर’ चीनको राजधानी बेइजिङमा मङ्गलबार विमोचन गरिएको छ ।

चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले विमोचन गर्दै पुडासैनीको पछिल्लो कृतिले नेपाली भाषा र साहित्यमा सकारात्मक योगदान गर्ने बताउनुभयो । ‘भाषा कुनै पनि सार्वभौम देशको अभिन्न अङ्ग र साहित्य समाजको ऐना हो । भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नु हरेक नागरिकको दायित्व हो”, राजदूत पौड्यालले भन्नुभयो ।

सो अवसरमा राजदूत पौड्यालले नेपाल रञ्जना लिपि चीनका विभिन्न ऐतिहासिक स्थानमा पाइएको र नेपाली दूतावासले थप खोजी गर्दै त्यस्ता लिपिलाई अभिलेखीकरण गर्ने जानकारी दिनुभयो ।

नेपाल–चीनबीच कला, साहित्य, संस्कृति र अन्य विधाका पुस्तकहरु अनुवाद गर्ने कार्य भइरहेको भन्दै पौड्यालले यस्ता गतिविधिले दुई मुलुकको समाजलाई एकापसमा बुझ्न र संस्कृतिको सम्मान गर्दै सौहार्दता निर्माण गरेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा कवि पुडासैनीले आफ्नो कविता सङ्ग्रह मिथिला क्षेत्रको माटोको सुगन्धमा केन्द्रित रहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयका वरिष्ठ अधिकारीसमेत रहनुभएका कवि पुडासैनीले आफ्ना कविता स्थानीय विषयलाई केन्द्रित गरी सिर्जना गरिएको तथा कुनै आग्रह र पूर्वाग्रहबाट टाढा रहेको भनाइ राख्नुभयो ।

सो अवसरमा नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्साल र साहित्यकार शङ्कर भारतीले पुडासैनीको लेखनमा मिठासपूर्ण भाषाशैली, सामाजिक दायित्व, सौन्र्दयता रहेको चर्चा गर्नुभयो ।

समारोहमा कवि लक्ष्मी लम्साल, गोविन्दप्रसाद घिमिरे, अजय अलौकिक, ढुण्डीराज पोखरेललगायतले आफ्ना कृतिहरु वाचन गर्नुभएको थियो । नेपाली साहित्यकारहरुको एक प्रमण्डल आफ्नो साहित्यिक भ्रमणका सिलसिलामा अहिले चीनमा छ ।

पछिल्लो समयमा बेइजिङस्थित नेपाली दूतावासले नेपाल–चीन सम्बन्धलाई प्रगाढ पार्न पुस्तक प्रदर्शनी, अनुवाद कार्य, साहित्यकारको भ्रमण आदानप्रदानलगायतका कार्यमा प्रगति भएको जानकारी दिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्