पर्वतको लुंखु-हुवास सडक कालोपत्रे हुने, संघीय मामिला मन्त्रालयले दियो स्विकृत



पर्वत, (नेस)।
पर्वतको सदरमुकाम देखि सदरमुकाम कुस्माबजारलाई मध्य भाग भएर जोड्ने लुंखु—हुवास सडक कालोपत्रे हुने भएको छ ।

पर्वतको लाइफलाइन मानिने लुखुं हुवास सडक कालोपत्रे गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्न सहमति दिएपछि सडक कालोपत्रे हुने भएको हो ।

मन्त्रालय अन्र्तगतको ग्रामिण सडक संजाल सुधार आयोजना (आरसिआइपि) ले लुंखु—हुवास सडक खण्डमा १५ किलोमिटर सडक कालोपत्रे गर्न बहुबर्षिय ठेक्का प्रकृया शुरु गर्ने भएको छ । आरसिआइपीले मन्त्रालयमा ठेक्का प्रकृया स्विकृतिका लागि पेशभएका देशभरका ९ आयोजना मध्ये पर्वतको लुंखु हुवास सडक कालोपत्रे गर्नका लागि मंगलबार स्विकृति दिएको छ ।

उक्त सडक कालोपत्रे गर्नको लागि गएको मंसिरमा बिस्तृत आयोजना प्रतिबेदन(डिपीआर) तयार भएको थियो । डिपीआर तयार भएपनि ठेक्का सम्झौता गर्न स्विकृति नदिदा अन्यौल कायम थियो । सडक कालोपत्रे गर्न ४४ करोड लागत अनुमान गरिएको छ।

महाशिला र पैयूँ गाँउपालिका जोड्ने २० कि.मि. जोड्ने यो कालोपत्रे भएपछि पैंयु गाउँपालिकाका बासिन्दा स्याङ्गजा, पोखरा भएर बर्षा याममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मा देखि फलेवास सम्मको ६ दशमलब ७ किमी सडक कालोपत्रे भईसकेको ने लमायखोला देखि लुंखु सम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न काम भैरहेको छ । अब लुंखु देउराली देखि हुवास सडक खण्ड पनि कालोपत्रे हुने भएपछि कुश्मा देखि सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ ।

सडक कालोपत्रेको काम अबको दुई बर्षभित्र पुरा भएपछि कुस्मा देखि हुवास सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ । यो सडकमा पर्ने शेराबेसी र गेडीखोलामा पक्की पुलको पनि डिपीआर बनाउने काम अन्तिम चरणमा छ । यी पुल पनि यसैबर्ष ठेक्का प्रकृयामा जानेछन ।
निकै लामो सयमको अथक प्रयास पछि कुश्मा देखि दक्षिण पर्वत लाई कालोपत्रे सडकले जोड्न सफल भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री बिकास लम्सालको भनाई छ ।

‘संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निरन्तरको प्रयास सफल भएको छ ।’ उहाँले भन्नुभयो ‘पर्वतको लाइनलाईनको रुपमा रहेको सडक कालोपत्रे हुँदा यस क्षेत्रको आर्थिक क्षेत्रमा ठुलो परिर्वतन आउनेछ ।’ सडक कालोपत्रेका लागि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना , मन्त्री लम्साल, साँसद पदम गिरीले आफ्नो ठाउँबाट पहल गर्दै आउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्