महाकाली पुलमाः भारतीय तिर्थालुको थामी नसक्नु लस्कर



मनोज भट्ट, महेन्द्रनगर ।
भारतको उत्तराखण्ड टनकपुरस्थित पूर्णगिरी धाममा लागेको मेलाले कञ्चनपुरका धार्मिक स्थलमा तिर्थालुको भिड लागेको छ । पूर्णागिरी मेलाले कञ्चनपुरको ब्रह्मदेव तथा महेन्द्रनगरस्थित रहेको सिद्धबाबा मन्दिरमा तिर्थालुको घुँइचो लागेको हो ।

फागु पूर्णिमादेखि असार पूर्णिमासम्म चल्ने पूर्णागिरी मेलाको दर्शन गरेपछि सिद्धबाबा मन्दिरको दर्शन गरे मनोकाँक्षा पुरा हुने धार्मिक बिश्वास रहि आएको छ । सिद्धनाथ मन्दिर विकास समितिका सचिव पुष्कर उप्रेतीले नवरात्रीको समयमा दैनिक १० हजार बढि तिर्थालुले सिद्धबाबा मन्दिरको दर्शन गर्ने गरेको बताए ।

पुर्णागिरी मेलाले गर्दा महेन्द्रनगर बजार लगायत सीमावर्ती सहरमा पनि चहलपहल बढेको छ । भारतको टनकपुर हुँदै नेपाल प्रवेश गर्ने अधिकाश तिर्थयात्रुले ब्रह्मदेव मन्दिर तथा महेन्द्रनगरको सिद्धबाबा मन्दिरको दर्शन गर्ने गरेका छन् । पूर्णागिरीको दर्शनपछि सिद्धबाबा दर्शन गरे मनोकाँक्षा पुरा हुने भारतको टनकपुरका सुवम कुमारले बताए ।

नेपाल–भारत पश्चिमी सीमा नदि महाकालीमाथीको पुलमा यात्रुहरुकोे घँुइचो तथा सवारी साधनको अत्याधिक चापले आवत जावतमा समस्या भएको छ ।

सोमवार महेन्द्रनगरको सिद्धबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका तिर्थालु तथा तिर्थालु सवार साधनको चापले आवतजावतमा समस्याका साथै प्रहरीलाई अवस्था नियन्त्रण लिन हम्यहम्य परेको छ । सीमावर्ती बनबासा पुलमा ओहोरदोहोर गर्ने मानिसको संख्या बढेपछि अवस्था नियन्त्रण बाहिर गएको शारदा ब्यारेज बनबासा चौकीका प्रमुख गोविन्द सिँह बिष्टले बताए । हाल भने अवस्था सामान्य रहेको र यात्रुहरुलाई महाकाली पुल तथा सवारी साधनलाई गडिगाठको बाटो लगाइएको उनले बताए ।

तिर्थयात्रुका लागि ‘भण्डारा’

भीमदत्त नगरपालिका–२ मा रहेको सिद्धनाथ मन्दिर दर्शन गर्ने आउने दर्शनार्थीका लागि भण्डाराको व्यबस्था गरिएको छ । सिद्धनाथ भण्डारा समितिले नवरात्रीका समयमा मन्दिर दर्शन गर्न आउने दर्शनार्थीका लागि निःशुल्क खाना अर्थात् भण्डाराको व्यबस्था गरेको हो ।

समितिका अध्यक्ष गजाधर भट्टले३५ जना स्थानीय व्यापारी एंवम् समाजसेवीको समिति गठन गरेर भण्डारा सञ्चालन गरिएको बताए । १० दिन सम्म चल्ने भण्डारा सञ्चालनका लागि ५० लाख भन्दा बढि खर्चको अनुमान गरिएको छ । उक्त रकम स्थानीय व्यापारी तथा समाजसेवी, दानपेटिकाबाट प्राप्त रकमबाट बेहोरिने समितिले जनाएको छ ।

कारोबार बढ्यो

पुर्णागिरी मेलाले गर्दा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरको बजारमा चहलपहल बढ्नुका साथै व्यापार–व्यवसायमा बृद्धि भएको छ । मेला अवधिमा आउने तिर्थालुका कारण तुलनात्मक रुपमा महेन्द्रनगरको कारोबारमा बृद्धि भएको हो । अन्य समयको तुलनामा शत प्रतिशत व्यापार बढेको कञ्चनपुर उद्योग बाणिञ्य संघका अध्यक्ष जंग बहादुर मल्लले बताए । मेलालाई मध्यनजर गर्दै कञ्चनपुरको सुरक्षा अवस्था कडा पारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्