विपक्षी नेता गुआइदोलाई १५ वर्ष प्रतिबन्ध



काराकास, (एजेन्सी)
भेनेजुयलाका विपक्षी नेता हुवाँ गुआइदोमाथि आगामी १५ वर्षसम्म कुनै पनि सरकारी कार्यालयको ओहदा बस्न नपाइने गरी शुक्रबार प्रतिबन्ध लगाइएको सरकारी वित्त नियन्त्रण कार्यालयले जनाएको छ। यो प्रतिबन्ध त्यहाँको प्रचलित कानुनमा व्यवस्था भएअनुसारको अधिकतम भएको बताइएको छ।

सो निकायका प्रमुख एल्भिस आमोरोसोले गुआइदोको व्यक्तिगत आर्थिक विवरणमा अनियमितता देखिएको बताएका छन्। विपक्षी राजनीतिक समूहको बाहुल्य रहेको राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गुआइदोले गत जनवरीमा आफूलाई भेनेजुयलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।

उनले संयुक्त राज्य अमेरिकालगायत विश्वका ५० वटा भन्दा बढी राष्ट्रको समर्थन पाउन सफल भएका छन्। भेनेजुयलाको राजधानी काराकासस्थित बीबीसीका पत्रकार विल ग्रान्टका अनुसार यदि राष्ट्रियसभाका अध्यक्षको कार्यकाल सकेपछि उनले पुनः चुनाव लड्ने निर्णय गरेको खण्डमा उनीविरुद्धको यो प्रतिबन्ध कार्यान्वयन गरिने बताएका छन्।

गुआइदोले आमोरोसोको घोषणा अस्वीकार गर्दै उनी देशको महालेखा परिक्षक नभएको बताएका छन्। उनले वैधानिक कंग्रेससंग मात्र महालेखापरिक्षक नियुक्त गर्ने अधिकार हुने पनि बताएका छन्। गत साता गुआइदोका प्रमुख सहयोगी ४९ वर्षिय रावर्टो मार्रेरोलाई राष्ट्रघाती काम गरेको अभियोगमा उनकै निवास स्थानबाट अपहरण शैलीमा गिरफ्तार गरिएको थियो।

तर भेनेजुयलाका गृहमन्त्री नेस्टोर रिभेरोलले गुप्तचर निकायले छापा मार्दा उनको घरबाट हातहतियार र विदेशी मुद्रा वरामद भएको बताएका छन्। मार्रेरोको गिरफ्तारीलाई लिएर अमेरिका र युरोपेली संघले कडा आलोचना गरेका थिए। गुआइदोले मार्रेरोका घरमा ती अवैध वस्तुहरू सुरक्षाकर्मीहरू आफैंले राखेको दाबी गरेका थिए।

गुआइदोले राष्ट्रपति निकोलस माडुरोका राजीनामा माग गर्दै विरोध प्रदर्शनको नेतृत्व गर्दै आएका छन्। शुक्रबार अमेरिकी वरिष्ठ नाकाबन्दी सम्बन्धी अधिकारी सिगल म्यान्डेल्करले अमेरिकाले भेनेजुयलामाथि थप कडा नाकाबन्दी लगाउन चाहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्