ब्रेक्जिट प्रक्रियामा भूमिका निर्वाह गर्ने पक्षमा मतदान



लन्डन, (एजेन्सी)
बेलायतका सांसदले ब्रेक्जिट प्रक्रियामा ठूलो भूमिका निर्वाह गर्न सोमबार मतदान गरेका छन्। यसले उनीहरूलाई ब्रेक्जिटको विभिन्न विकल्पका लागि आफ्नो प्राथमिकता राख्ने अधिकार प्राप्त भएको छ।

यद्यपि सरकारले उक्त अप्रत्यासित कदमलाई खतरनाक बताएको छ। सांसदले ३ सय २ का विरुद्ध ३ सय २९ मतले बुधबार संसदीय कामकाजमा नियन्त्रण हासिल गर्न सम्पन्न मतदानमा जित हासिल गरेका छन्।

यसैबीच सरकारविरुद्ध मतदान गरेपछि ३ जना कनिष्ठ मन्त्रीले राजीनामा पनि दिएका छन्। राजीनामा दिनेमा विदेश कार्यालय मन्त्री अलिस्टेयर बर्ट र स्वास्थ्यमन्त्री स्टिव ब्राइन भएको सरकारी सूत्रले जानकारी दिएको छ। यसबीच उद्योगमन्त्री रिचर्ड हेरिङ्टनले ट्विटरमा सरकार छोड्ने निर्णयको घोषणा गरेका छन्। ब्रेक्जिट मन्त्रालयले उक्त मतदानका कारण अत्यन्त निराश भएको उल्लेख गर्दै एक विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनेको छ– ‘यसले हाम्रो लोकतान्त्रिक संस्थानबीचको सन्तुलन समाप्त पार्नेछ र खतरनाक र अप्रत्यासित नजिर स्थापित गर्नेछ।’
युरोपेली संघबाट अलग हुने पक्षमा मतदान गरेको ३ वर्षपछि सोमबार भएको मतदानले अहिलको जटिल राजनीतिक संकट अन्त्य गर्ने सबैभन्दा राम्रो तरिकालाई लिएर सरकार र संसद्बीच सम्भावित संघर्षको मार्गचित्र तयार गरेको आशंका गरिएको छ।

अब सांसदहरूसँग अनुच्छेद ५० हटाउन र ब्रेक्जिटलाई रद्द गर्न, अर्को जनमत संग्रह गराउन वा बिनासम्झौता युरोपेली संघबाट अलग हुने जस्ता विभिन्न विकल्पमा मतदान गर्ने मौका हुनेछ। यद्यपि सांसदलाई कुनै पनि मुद्दामा बहुमत हासिल भए पनि सरकार त्यसको निर्देशन पालना गर्न कानुनीरूपमा बाध्य हुनेछैन।

प्रतिक्रिया दिनुहोस्