सीमा पर्खाल निर्माणका लागि पेन्टागनले १ अर्ब दिने



वासिङ्टन (एजेन्सी)
अमेरिकी रक्षा मन्त्रायल पेन्टागनका कार्यवाहक प्रमुख पेट्रिक सेनहानले अमेरिका मेक्सिको सीमामा पर्खाल निर्माणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पको मागअनुरूप १ अर्ब डलर दिन स्वीकृत गरेको बताएका छन्। गृह सुरक्षा विभागले पेन्टागनलाई ९२ किलोमिटर लामो साढे ५ मिटर अग्लो पर्खाल बनाउन, सडक सुधार्न र पर्याप्त बत्तीको व्यवस्था गर्न भनेको थियो।

सेनहानले अमेरिकी सेनाको इन्जिनियर समुहका कमान्डरलाई आन्तरिक सुरक्षा र सीमाशुल्क तथा सीमा गस्ती विभागको मद्दत गर्नका लागि १ अर्ब डलर धनराशी खर्च गर्ने योजना शुरू गर्न नियुक्त गरेको पेन्टागनको एक विज्ञप्तिमा जनाएको छ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावको प्रमुख मुद्दामध्येको एक सीमा पर्खाल निर्माणका लागि साढे ५ अर्ब डलर माग गरेकोमा संसद्ले १ अर्ब ५ करोड डलर मात्र उपलब्ध गराउने बजेट पारित गरेको थियो। संसद्को अवरोधपछि अप्ठ्यारोमा परका ट्रम्पले सीमा क्षेत्रमा संकटकाल लागू गरेको घोषणा गरेका थिए। यस कदमबाट उनलाई आफ्नो योजना पूरा गर्न सुरक्षा निकायबाट आवश्यक बजेट जुटाउन मार्गप्रशस्त गरेको हो।

सन् २०१६ को राष्ट्रपति चुनावमा ट्रम्पले आप्रवासीको अनियन्त्रित घूसपैठलाई राक्ने प्रतिबद्धता व्यक्त गर्दै अमेरिका मेक्सिको सीमा पर्खाल निर्माण गर्ने आश्वासन दिएका थिए। अवैध आप्रवासीका कारण अमेरिकामा बेरोजगारीको समस्या बढेको र देशको सुरक्षामा चुनौती बढेको उनले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्