म्यानमारबाट चीनमा युवती तस्करी !



बेइजिङ । बिहीबार मानव अधिकार निरीक्षण, एचआरडब्लुले सार्वजनिक गरेको रिपोर्टअनुसार चीन र म्यानमार दुवै तर्फका अधिकारीहरू महिला तस्करीलाई रोक्न असफल भइरहेका छन् ।

‘हामीलाई बच्चा देऊ अनि हामी तिमीलाई जान दिनेछौँ ’ भन्ने शीर्षकसहितको १ सय १२ पाना लामो रिपोर्टमा म्यानमारबाट दुलहीहरूलाई तस्करी गरिँदै चीन लगिनेबारे विस्तृत रूपमा जानकारी पेस गरिएको हो । तस्करीबाट भाग्न सफल ३७ पीडित र यसको सिकार बनेका थुप्रै परिवारले यस घटनाबारे दिएको अन्तर्वार्तापछि प्रमाणहरू संकलन गरी सो रिपोर्ट तयार पारिएको थियो ।

विशेषगरी, म्यानमारको उत्तरी सान र काचिन प्रदेशबाट महिलाहरूलाई दुलहीका रूपमा ३ हजार डलरदेखि १३ हजार डलरसम्म बिक्री गर्ने गरिएको पाइएको हो । राम्रो जागिर लगाइदिने प्रलोभन देखाउँदै विपन्न परिवारका युवतीहरूलाई निसाना बनाइने गरिएको बताइएको छ । पीडितहरूका अनुसार चीन पु¥याइएपछि उनीहरूलाई कैद गरेर राख्ने गरिन्छ । जहाँ बच्चा जन्माउन बाध्य पार्ने गरिएको र अधिकांश बलात्कारको सिकार हुने गरेको बताइएको छ ।

रिपोर्टका अनुसार १९७९ देखि लागू गरिएको चीनको एक सन्तान नीतिको परिणाम स्वरुप यस किसिमको अपराध वृद्धि हुँदै गएको हो । चिनियाँ सरकारको यस नीतिले देशभरको जनसंख्यामा लैंगिक असन्तुलन गराएको हुनाले नै चीनमा दुलहीको चरम अभाव सुरु भएको र तस्करीको उपाय अपनाउन थालिएको रिपोर्टले जनाएको छ ।

एउटा मात्र सन्तान जन्माउन पाउने भएपछि अभिभावकहरूले छोरालाई बढी प्राथमिकता दिने गर्दा स्त्री भ्रणहत्याले व्यापक रूप लिन सुरु गरेको हो, जसबीच महिला जनसंख्या तीनदेखि चार करोडसम्म कम भएको बताइन्छ । यसरी अहिले म्यानमार मात्र नभएर उत्तर कोरियालगायत चीनका अरू छिमेकी देशहरू पनि यस्ता अपराधप्रति संवेदनशील मानिएको डेलीमेलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्