अरब सागरमा विशाल तेल भण्डार फेला पर्ने संकेत, आर्थिक समस्या समाधान हुनेमा प्रधानमन्त्री आशावादी



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश अरब सागरमा ठूलो परिमाणको तेल र ग्याँस भण्डार खोजको नजिक पुगेको बताउँदै यदि यो सफल भयो भने यो देशका लागि ज्याकपट हुने बताए।

यस खोजले आर्थिक संकटसँग संघर्ष गरिरहेको देशको आर्थिक समस्या समाधान हुनेछ। तेलका लागि तटीय क्षेत्रमा उत्खनन् अन्तिम चरणमा पुगेको र यो ठूलो खोज हुने उनले बताए। प्रधानमन्त्रीले बिहीबार भने– ‘हामी सबै प्रार्थना गर्छौं कि पाकिस्तानलाई प्रचुर मात्रामा प्राकृतिक संसाधन मिलोस्। हाम्रो अपेक्षा तटीय क्षेत्रमा भइरहेको उत्खनन्मा छ जुन एक्सोन मोबिलको नेतृत्व समूहले गरिरहेका छन्।

उनले भने– ‘पहिला नै ३ हप्ता ढिलो भइसकेको छ तर हामीलाई जुन संकत प्राप्त भइरहेको छ त्यसले हामीलाई आफ्नो जल क्षेत्रमा विशाल भण्डार फेला पार्न सकिने बलियो सम्भावना देखाएको छ। यदि यो हुने हो भने पाकिस्तान एक अर्कै स्थानमा हुनेछ।

केही अखबारका सम्पादक तथा वरिष्ठ पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा खानले उक्त तटीय क्षेत्रमा भइरहेको उत्खनन् प्रक्रियाका बारेमा जानकारी साझा गरेका थिएनन्।

एक्सोन मोबिल तथा अन्तर्राष्ट्रिय तेल उत्खनन् कम्पनी ईएनआईले पनि यस विषयमा कुनै आधिकारिक बयान दिएको छैन। यी कम्पनीहरू जनवरीदेखि समुद्रको अत्यन्त गहिराइ करिब २ सय ३० मिटरमुनि उत्खनन् गरिरहेका छन्। उक्त क्षेत्रलाई केकरा–१ नामले चिनिन्छ।

इटालीको ईएनआई तथा अमेरिकी तेल कम्पनी एक्सोन मोबिलले संयुक्त रूपमा पाकिस्तानको अरब सागर क्षेत्रमा ग्यासका लागि उत्खनन् गरिरहेका छन्। इस्लामिक कट्टरपन्थीका कारण पश्चिमी देशका कयौं अन्य कम्पनी पाकिस्तान छोडेर गइसकेका थिए। तर एक्सोन मोबिल करिब १ दशकपछि पाकिस्तान फर्केको हो। गत वर्ष एक सर्वेक्षणमा पाकिस्तानको जल क्षेत्रमा ठूलो परिमाणको तेल भण्डार रहेको संकेत प्राप्त भएपछि कम्पनी यहाँ फर्केका हुन्। यदि तेल भण्डार फेला पर्योे भने पाकिस्तानका कयौं आर्थिक समस्या हट्ने र देशको विकासलाई कसैले रोक्न नसक्नेमा प्रधानमन्त्री विश्वस्त छन्। एक प्रश्नको जवाफमा आर्थिक स्थिरता कायम गर्नु सबैभन्दा ठूलो चुनौती भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्