ब्राजिलका पूर्वराष्ट्रपति गिरफ्तार



रियो दि जेनेरो, (एजेन्सी)
बृहत् भ्रष्टाचार काण्डको अनुसन्धान गर्ने क्रममा ब्राजिलका पूर्वराष्ट्रपति मिचेल टेमरलाई साओ पावलोमा गिरफ्तार गरिएको छ। पसाले वकिलसमेत रहेका ७८ वर्षीय टेमर सन् २०१६ देखि २०१८ सम्म राष्ट्रपति रहेका थिए।

उनीविरुद्ध थुप्रै विषयमा अनुसन्धान भइरहेको छ। तर उनले आफूले कुनै गलत काम नगरेको अडान दोहोर्याउँदै आएका छन्। उनको कार्यकाल सकिना साथ विशेष प्रत्याभूति अधिकार पनि समाप्त भएकाले उनलाई पक्राउ गरिने निश्चित भएको थियो। ‘अपरेसन कार वास’ अभियान अन्तर्गत थुप्रै राजनीतिज्ञ र व्यापारिक नेताहरूलाई विभिन्न अभियोग लगाएर गरिफ्तार गरिएको छ।

रियो दि जेनेरोबाट आफ्नो गृहनगर साओ पावलो पुगेका टेमरलाई बिहीबार बिहान गिरफ्तार गरिएको थियो। स्थानीय सञ्चार माध्यमले प्रहरीले उनलाई बुधबारदेखि नै व्यापक खोजी गरिरहेको जनाएको छ।
उनको राष्ट्रपति कालका पूर्वखानी तथा उर्जामन्त्री मोरेइरा फ्रान्कोलाई पनि गिरफ्तार गरिएको छ। वामपन्थी नेता दिल्मा रुस्सेफलाई महाअभियोग लगाइएपछि सन् २०१६ को अगस्टमा मध्यमार्गी दक्षिणपन्थी एमडीबी पार्टीका टेमर ब्राजिलको राष्ट्रपति बनेका थिए। कार्यकालकै समयमै टेमरमाथि लगाइएका भ्रष्टाचारका अभियोग कंग्रेसमा उनको गठबन्धनले शिथिल पारेको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्