न्युजिल्यान्डमा अर्ध–स्वचालित हतियार प्रतिवन्धित हुने



अकल्यान्ड, (एजेन्सी)
न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्दा अर्डर्नले क्रिस्टचर्च स्थित मस्जिदमाथि भएको हमलामा प्रयोग भएका जस्ता लगायत सबै प्रकारका अर्ध – स्वचालित हतियारको प्रयोगमा प्रतिबन्ध लगाइने विहिवार बताएकी छिन् ।

गत शुक्रबार दुई वटा मस्जिदमा हमला गरेर अष्ट्रेलियाली नागरिक ब्रेन्टेन टारान्ट नामक एक बन्दुकधारीले प्रार्थना गरिरहेका पचास जना मानिसको हत्या गरेका थिए । त्यस घटनापछि न्यूजिल्याण्डमा बन्दुक खरिद र त्यसलाई साथमा राख्ने नियम कानुन माथि बहस शुरु भएको थियो । बन्दुक साथमा राख्ने अनुमति लिएका टारान्टसंग पाँचवटा बन्दुक थिए ।

प्रधानमन्त्री अर्डर्नले बन्दुकसँग सम्बन्धित नयाँ नियम कानुन आगामी ११ अप्रिलसम्म आउन सक्ने जानकारी दिएकी छिन् ।

उनका अनुसार हाल यस्ता हतियार साथमा रहेका मानिसहरुसंग ति हतियार फिर्ता लिनका लागि औपचारिक नियम बनाइने भएको छ ।

अर्डर्नले भनेकीछिन् , ‘ हामी मस्जिदमा आतंककारी आक्रमण भएको ६ दिनपछि, न्यूजिल्याण्डमा अब सबै प्रकारका अर्ध–स्वचालित ‘एमएसएसए’ र एसल्ट राइफलमाथि प्रतिबन्धको लगाउने घोषणा गरिरहेका छौं । साथै यी बन्दुकलाई एमएसएसएमा बदल्नका लागि प्रयोग हुने सम्बन्धित पार्टपुर्जा र अन्य सबै उच्च क्षमतायुक्त गोलीमाथि पनि प्रतिबन्ध लगाइने छ । ’

सरकारी अधिकारीहरुको अनुमान अनुसार ति हतियारलाई प्रयोगकर्ताबाट पुनः खरिद गर्न करिब दस देखि बिस करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । तर अर्डर्नले देशका जनतालाई सुरक्षित राख्नका लागि यो मूल्य जसरी पनि चुकाइने बताएकी छिन् ।

एआर–१५ अर्धस्वचालित राइफल बोकेका एक्ला बन्दुकधारी टारान्टले गत शुक्रबार मस्जिदमा गोलीबारी गरेर थुप्रैको ज्यान लिएका थिए । उनले आफ्नो हतियारमा उच्च क्षमता भएको म्यागजिनका लागि विशेष परिवर्तन अर्थात मोडिफाइ गरेका थिए । अष्ट्रेलियाली ब्रेन्टन टारेन्टले न्यूजिल्याण्डमा सन् २०१७ मा बन्दुकको लाइसेन्स प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्