तल्लो मोदी जलविद्युत् आयोजनामा आगलागी



नेपाल समाचारपत्र
पर्वत
विद्युत् उत्पादन गर्ने अन्तिम तयारीमा रहेको पर्वतमा निर्माणाधीन २० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनामा सोमबार विहान आगलागी भएको छ ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको जलविद्युत् आयोजनाको सुरुङदेखि विद्युत् गृहसम्म पानी पठाउने पेनस्टक पाइपमा विद्युत् सट हुँदा आगलागी भएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पाइपमा रङ लगाउने क्रममा अचानक विद्युत् सर्ट भए करिब साढे १० बजे आगो लागेको हो । साढे १० बजे लागेको आगो दिउँसो १ बजे नियन्त्रणमा आएको आगो निभाउन सक्रिय सुरक्षाकर्मीहरुले बताए । पर्वतका प्रहरी प्रमुख डीएसपी भुवनेश्वर तिवारीसहितका जनपथ प्रहरी, सशस्त्र प्रहरी, सेना, आयोजनाका कर्मचारी र कुश्मा नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको हो ।

आगलागीमा पाइपमा रङ लगाउँदै गरेका तीन जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ रहेको पर्वत प्रहरीले जनाएको छ । ३२७ मिटर लामो पाइपको भित्री भागमा रङ लगाउँदा उज्यालोका लागि लगिएको विद्युत् तार सर्ट भएको हो । तार सर्ट भएपछि लागेको आगोले पाइपभित्र लगाएको सबै रङ जलेको आयोजना प्रमुख पवनकुमार यादवले बताउनुभयो । ‘फलामको पाइप भएकाले पाइपलाई असर गर्दैन,’ उहाँले भन्नुभयो–‘पाइपको भित्री भागमा लगाइएको रङ मात्रै जलेको हो ।’

आगो लागेको पाइपभित्रबाट धुवाँको मुस्लो निस्किरहेकाले क्षतिको विवरण आउन नसकेको आयोजना प्रमुख यादवले बताउनुभयो । पाइपभित्र लागेको आगोको मुस्लो र धुवाँ पावरहाउसमा जडित डाइनार ओ र उपकरणसम्म समेत फैलिएको थियो । पावरहाउसका उपकरणमा भने क्षति नभएको आयोजनाले जनाएको छ । समयमा आगो नियन्त्रणमा लिन नसकेको भए विद्युत् गृहमा जडित जेनेरेटर लगायतका उपकरणसमेत जल्ने खरता रहेको जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्वासेले जानकारी दिनुभयो ।

आयोजनाले चैतको अन्तिमसम्ममा परीक्षण उत्पादनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्