व्यावसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यावसायिक प्रतिनिधिमण्डलले पँर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी र सदस्यहरू समेत सहभागी रहनु भएको प्रतिनिधिमण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा केही दिन अघि भएको विस्फोट र तत्पश्चात उत्पन्न व्यावसायिक सुरक्षाका विषयमा ध्यानाकर्षण गरायो ।

प्रतिनिधिमण्डलको तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष गोल्छाले अहिले व्यवसाय गर्ने वातावरण असजिलो भइरहेको बताउनुभयो । लगानी सम्मेलन नजिकिँदै गरेको अवस्थामा देशमा घटिरहेका विभिन्न किसिमका घटनाहरूले व्यावसायीहरू त्रसित भइरहेको उहाँले जानकारी गराउनुभयो । महासंघका उपाध्यक्ष ढकालले सुरक्षा लगायत विभिन्न कारणले वैदेशिक रोजगार व्यवसाय संचालन गर्न कठिनाई परेको जानकारी गराउनुभयो ।

सो भेटवार्ताका क्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङले घटनाबारे विस्तृत जानकारी गराउनुहुँदै व्यवसाय संचालनमा समस्या भैरहेको बताउनुभयो । भेटका अवसरमा प्रतिनिधिमण्डलका सदस्यहरूबाट व्यवसाय सुरक्षाको प्रत्याभुति हुनुपर्ने, व्यवसाय गर्न वातावरण सुधार गर्नुपर्ने लगायतका धारणा राख्नु भएको थियो ।

सो अवसरमा नेकपाका अध्यक्ष दाहालले सरकार र आफ्नो व्यक्तिगत तर्फबाट समेत समस्याको विषयमा सम्बोधन गर्ने प्रयास भइरहेको जानकारी गराउनुभयो । सरकार व्यवसाय र व्यवसायीहरूको व्यावसायिक सुरक्षाको निमित्त सदैव संवेदनशील रहेको बताउनुहुँदै व्यवसायीहरूको नोक्सानीको क्षतिपँर्ति दिलाउनका लागि पनि सरकारसँग छलफल गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्