फेब्रुअरीमा सवा लाख पर्यटकद्वारा नेपाल भ्रमण



काठमाडौं, (नेस)
सन् २०१९ को फेब्रुअरीमा १ लाख २४ हजार ४ सय २१ ज्ना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागका अनुसार यो संख्या अघिल्लो वर्षको सोही अवधिमा भन्दा ३९ प्रतिशले बढी हो ।

फेब्रुअरीमा हवाई मार्गबाट ९७ हजार ६ सय ५४ र स्थलमार्गबाट २६ हजार ७ सयभन्दा बढी पर्यटक नेपाल आएका छन् । छिमेकी राष्ट्र चीनबाट १६ हजार २ सय ५ जनाले नेपाल भ्रमण गरेका छन् । सार्क राष्ट्रबाट ३१ हजार ८ सय ३१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिमा भन्दा ८५ प्रतिशतले बढी हो ।

त्यस्तै थाइल्यान्ड र जापानका पर्यटकको पनि उल्लेख्य मात्रमा संख्यामा वृद्धि भएको छ भने कोरियाबाट ४७ प्रतिशतसम्म वृद्धि भएको विभागले जनाएको छ । फेब्रुअरीमा बेलायतबाट ५ हजार २ सय ६८, जर्मनीबाट ३ हजार ३ सय ४० र फ्रान्सबाट १ हजार ९ सय ७८ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

यसैगरी अमेरिकाबाट ७ हजार १ सय ३३ जना पर्यटक नेपाल आएका छन् । फेब्रुअरीमा नेपाल भ्रमण गर्ने अष्ट्रेलियन पर्यटक २ हजार ९ सय ७८ पुगेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटक आगमनमा वृद्धि हुृनुले सन् २०२० को नेपाल भ्रमण वर्ष सफल बनाउनको लागि आधार बन्दै गएको जनाएको छ ।
यस वर्षको जनवरीमा करिब ९२ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्