औद्योगिक व्यापार मेलामा आकर्षण बढ्दो



नेपाल समाचारपत्र, हेटौंडा
स्वदेशी उत्पादन प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ फागुन १८ गतेदेखि हेटौंडा–५, क्याम्पाडाँडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ।

मेला अघिल्ला वर्ष भन्दा पृथक रहेको मेला अवलोकनकर्ताले प्रतिक्रिया दिएका छन्। मकवानपुरका चेपाङले खाने गिठ्ठा, भ्याकुर जस्ता स्थानीय तथा मौलिक वस्तु प्रदर्शनी, पञ्चैबाजा, खैंजडी भजन जस्ता स्थानीय साँस्कृतिक, भेषभुषा प्रवद्र्धन, स्थानीय माछा, कृषि उपज प्रवद्र्धन लघु तथा घरेलु उद्यम, हस्तकला मेलाको प्रमुख आकर्षण बन्न पुगेका छन्। मेला भव्यतासाथ सम्पन्न गर्न ३६ वटा उपसमितिले मेहनत लगाएर काम गरिरहेको उद्योग वाणिज्य संघ अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो। मेलामा राखिएका स्टलमा उद्योगका १४, महिला हस्तकलाका २०, अधिकृत बिक्रेताका ३०, कृषिका १०, अटोका १०, मोबाइलका २०, कम्प्यटरका २०, होटलका २०, आइस्क्रिमका १०, हस्तकला, पर्यटन र अन्य स्टल रहेको र ती स्टलमा भव्यतासाथ अवलोकन भइरहेको आयोजक मूल समिति स्टल व्यवस्थापन संयोजक माधव न्यौपानेले बताउनुभयो।

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको मेलामा डुंगा, हेलिकोप्टर सयर भइरहेको छ। डुंगामा १ सय रुपियाँ, कार्डसहित प्रवेश गर्ने विद्यार्थीलाई ५० प्रतिशत छुट दिइएको छ। हेलिकोप्टरमा प्रतिव्यक्ति ४ चार हजारमा सयर गर्न सकिनेछ। मेलाका अवलोकनकर्तालाई बुद्धचोक, सीमाचोक, उद्योग वाणिज्य संघ चोकबाट मेलास्थलसम्म जान तीनपांग्रे सवारीको भाडादर ३० रुपियाँ कायम गरिएको छ भने तीन वटा बस निःशुल्क व्यवस्था गरिएको छ।

मेला सुरक्षा व्यवस्थापनदेखि खानेपानी, शौचालय, सरसफाइ आदिको व्यवस्था मिलाइएको छ। मेलाको टिकटदर ५० तोकिएको छ भने विद्यार्थी कार्डमा ३० र ७० वर्ष माथिकालाई निःशुल्क प्रवेश दिइने छ। स्थानीय कलाकार प्रवद्र्धनका लागि हेटौंडा आइडल र बालबालिकाका लागि मनोरञ्जनात्मक क्रियाकलाप पनि चलिरहेको छ। जीपीएक्स हेटौंडा आइडलको प्रथम पुरस्कार ४० हजार, दोस्रो पुरस्कार २० हजार र तेस्रो पुरस्कार १० हजार र अन्य सुविधा तोकिएको जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्