बैंक ग्यारेन्टीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन माग



नेपाल समाचारपत्र, बुटवल
पट्रोलियम पदार्थ बिक्रेताहरूले नेपाल आयल निगमले बैंक ग्यारेन्टीको आधारमा व्यवसायीलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्ने माग गरेका छन्।

व्यवसायीले साविकमा बिक्री गरेको तथ्यांकका आधारमा बैंक ग्यारेन्टीबाट पेट्रोलियम पदार्थ उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्। पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको १५औं वार्षिक साधारणसभामा शनिबार रुपन्देहीको मणिग्राममा बोल्दै पेट्रोलियम व्यवसायीले यस्तो माग गरेका हुन्। कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको पुनर्संरचना गर्ने काममा आफू लागिरहेको बताउनु भएको छ। कार्यकारी निर्देशक पौडेलले निगममा हुने गरेका विकृति, विसंगतीको अन्त्य गर्दै निगमका हरेक कारोबारलाई पारदर्शी बताउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आयल निगममा समस्या रहेको स्वीकार गर्दै यसको उपचार खोजिरहेको बताउनुभयो।

उहाँले निगमका गतिविधिलाई प्रभावकारी बनाउने योजना पनि आफूले अगाडि सारेको उल्लेख गर्नुभयो। निगमको सुधारको लागि शून्य सहनशीलताको नीतिलाई कडाईका साथ लागू गर्ने कार्यकारी निर्देशक पौडेलको भनाइ छ। मुलुकलाई परी आउने समस्या समाधान गर्न र पेट्रोलियम पदार्थको बढ्दो मागलाई व्यवस्थापन गर्न भण्डारण क्षमता वृद्धि अहिलेको पहिलो प्राथमिकता हुनुपर्ने उहाँले बताउनुभयो।
भण्डारण क्षमता वृद्धिका लागि नेपाल आयल निगमले दुई वर्षदेखि माग मूल्यांकन गरी ७ वटै प्रदेशमा ९० दिनको भण्डारणका लागि पूर्वाधार विकासको काम शुरु गरेकोमा पूर्वाधार विकासका लागि किनिएको जग्गामा अनियमितता भएको पाइएपछि यो कामले गति लिन नसकेको उहाँको भनाइ छ। उहाँले अहिले भारतसँग मात्रै ६८ प्रतिशत व्यापार रहेकोमा १३ प्रतिशत पेट्रोलियम पदार्थले ओगटेको उल्लेख गर्दै पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नैपर्ने बताउनुभयो।‘अब विद्युतीय सवारी साधनको प्रयोगमा जानुपर्छ, यसका लागि हरेक पेट्रोलियम डिलर्सले आआफ्नो क्षेत्रमा चार्जिङ स्टेशन राख्नुपर्छ’–उहाँले भयो।

उहाँले पेट्रोलियम पदार्थमा गरिएको लकिङ प्रणालीलाई साझा अभियानका रुपमा अघि बढाउन व्यवसायीलाई आग्रह गर्दै डिपोदेखि डिलर्ससम्मको लकिङ प्रणाली पनि व्यवसायीले अपनाउँछन् भने निगम बजेट दिन तयार रहेको बताउनुभयो। कार्यकारी निर्देशक पौडेलले भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाजका लागि पेट्रोलियम पदार्थ फिलिङका लागि स्थान नै व्यवस्थापन नगरिएकोले त्यसतर्फ गम्भीर बन्न जरुरी रहेको बताउनुभयोे।

विमानस्थल बन्दा नै ख्याल गरिएन भने सञ्चालनका क्रममा विकराल समस्यापर्ने उहाँले बताउनुभयो। कार्यक्रममा बोल्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष लिलेन्द्र प्रधानले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गर्नुभयो। पेट्रोलियम व्यवसाय सेवामूलक व्यवसाय भएकाले लागत अनुसारको प्रतिफल पाउनुपर्ने भन्दै उहाँले व्यवसायीका समस्या समाधानमा निगमको ध्यानाकर्षण गराउनुभयो।

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले व्यवसाय बचाउनका लागि कम्तीमा ६ प्रतिशत कमिसन दिनुपर्ने, धरौटीमा बैंकले दिने सरह ब्याज उपलव्ध गराउनुपर्ने माग गर्नुभयो। कार्यक्रममा एसोसिएसनका सल्लाहकार वीरेन्द्र यादव, एमके मियाँ, पूर्वअध्यक्ष राजेन्द्र गुप्ता, मध्यपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष टीपी न्यौपाने, रोडाढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष गोपाल ज्ञवाली, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, तिलोतमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारीलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्