तानसेनमा सडक खाना महोत्सव



पाल्पा, (नेस)
‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नारा लिएर तानसेनको भीमसेनटोल विकास संस्था महिला उपसमितिको आयोजनामा सदरमुकाम तानसेनमा एक दिने सडक खाना महोत्सव आयोजना गरिएको छ। भीमसेन टोल विकास संस्थाको आयोजनामा विगत चार वर्षदेखि सञ्चालन हुँदै आएको महोत्सवलाई यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर निरन्तरता दिइएको हो।

प्रदेश पाँचमा रहेका स्थानीय खानाको संरक्षण गर्ने, खानाको स्वाद आन्तरिक तथा बाह्य पर्यटकलाई चखाउनुको साथै भीमसेनटोलमा सञ्चालन हँुदै आएको खुला वाचनालयलाई व्यवस्थित गर्दै, टोलको सरसफाई गर्नको लागि आवश्यक रकम जुटाउने उद्देश्यले सडक खाना महोत्सवको आयोजना गरिएको संस्थाका अध्यक्ष प्रकाशनाथ गोंगलले जानकारी दिनुभयो।

सडक खाना महोत्सवमा नेवारी, मगरी, ब्राह्मण, मुस्लिमलगायत जातिजातीका भेषभुषा सहित परम्परागत खाजा तथा खानाको परिकारहरूको ३० वटा स्टल रहेको टोल विकास संस्था महिला उपसमितिकी उपाध्यक्ष सिर्जना अमात्यले जानकारी दिनुभयो। महोत्सवमा वटुक, विभिन्न प्रकारका छोइलादेखि लिएर पाल्पाको प्रसिद्ध खाना चुकाउनीलगायतका परिकार रुचाएका देखिन्थे। दर्शकले स्थानीय खानाको स्वादसँगै विभिन्न जात जातिका भेषभुषा र नाचगानसहित मनोरञ्जन लिएका थिए। नारायणस्थान चोकदेखि, टुँडिखेलसम्म स्टल राखिएका थिए। तानसेनलगायत विभिन्न ठाउँबाट सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न र स्थानीय खाना परिकारको स्वाद लिनका लागि विभिन्न स्थानबाट पारखी आएका थिए। यस प्रकारको कार्यक्रबाट पाल्पाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीयले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्