उत्तर कोरियामा पुन भुउपग्रह प्रक्षेपण स्थल निर्माण शुरु



सोल,(एजेन्सी)
राजनीतिक विश्लेषकहरुले उत्तर कोरियाको भुउपग्रह तस्वीरहरुले प्योंगयाँगले नष्ट गर्ने प्रतिवद्धता जाहेर गरिसकेको एउटा रकेट प्रक्षेपण क्षेत्र पुन निर्माण हुँदै गरेको देखिएको दावी गरेका छन् ।

दक्षिण कोरियाको गुप्तचर निकायबाट ति तस्वीर प्राप्त भएको हो । संयुक्त राज्य अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उन बिच भियतनामको राजधानी हनोइमा वार्ता भएको दुई दिनपछि ति तस्वीरहरु सार्वजनिक भएका हुन् ।

सो दोश्रो चरणको वार्ता बिना कुनै निष्कर्स टुँगिएको थियो । गतवर्षको १२ जुनमा सिंगापुरमा तिनीहरुबिच भएको पहिलो चरणको वार्तामा किम र ट्रम्पबिच कोरियाली प्रायद्विपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा सहमति भएके थियो ।
तर उत्तर कोरियाको तोंगचाँग–री प्रक्षेपण स्थल व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि नभई भूउपग्रह प्रक्षेपण र इन्जिन परिक्षणका लागि मात्र प्रयोग हुने गरेको बताइएको छ ।

यस क्षेत्रलाई नष्ट गर्ने कार्य गत वर्ष शुरु गरिएको थियो । तर अमेरिकासंगको वार्ता अवरुद्ध हुन थालेपछि नष्ट गर्ने कार्य रोकिएको थियो । वासिंगटनको विशवास जित्नकै लागि उत्तर कोरियाले सो क्षेत्र नष्ट गर्न खोजेको थियो ।

यसैबिच अमेरिकाले यदि उत्तर कोरियाले निशस्त्रीकरणका लागि कदमहरु नचालेको खण्डमा थप नाकावन्दि लगाउने चेतावनी दिइसकेको छ । हालै अमेरिका र दक्षिण कोरियाले अबदेखि ठूलो संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका थिए । उत्तर कोरियाले तिनीहरुको त्यस्ता सैनिक अभ्यास आफु विरुद्धको युद्धको तयारीको रुपमा लिने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्