दीपेन्द्र थापा, काठमाडौं
नेपाली कम्पनीले विदेशी पुँजी बजारमा धितोपत्र जारी गर्न पाउने भएका छन् । उद्योग, बाणिज्य तथा आपँर्ति मन्त्रालयले संसदमा पेश गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०७५ मा सो विषय उल्लेख गरिएको छ ।
विधेयकमा नेपालमा स्थापन भएका कम्पनीले विदेशी पुँजी बजारमा ऋणपत्र तथा धितोपत्र जारी गरी लगानी भित्र्याउने सक्ने व्यवस्था गरिएको छ । विधेयकमा गरिएको व्यवस्था अनुसार नेपालमा स्थापना भएको कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा धितोपत्र जारी गर्न प्रचलित कानुन बमोजिम अख्तियारी पाएको संगठित संस्थाले नेपाल राष्ट्रले बैंक र धितोपत्र बोर्डको स्वीकृति लिई विदेशी मुलुकको पुँजी बजारमा ऋणपत्र वा अन्य धितोपत्र जारी गरी ऋण लिन वा विदेशी मुद्रा प्राप्त गर्न सक्नेछन् ।
नेपालमा विदेशी लगानी भित्र्याउनका लागि सरकारले यस्तो खालको व्यवस्था गरेको उद्योग, बाणिज्य तथा आपँर्ति मन्त्रालयलका सहसचिव दिनेश भट्टराईले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
‘हाल विदेशीले नेपालमा नै आएर लगानी गर्न सक्ने व्यवस्था थियो । तर, लगानीको वातावरणलाई सहज बनाउन सरकारले यस्तो व्यवस्था गरेको हो।’ सहसचिव भट्टराई । सरकारले विदेशी लगानीमा नेपालमा स्थापना भएका कम्पनीले समेत धितोपत्र जारी गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
उद्योग मन्त्रालयले संसदमा पेश गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा कम्पनीले धितोपत्रसम्बन्धी प्रचलित कानुनको अधिनमा रही नेपालभित्र धितोपत्र जारी गरी ऋण लिन सक्ने व्यवस्था गरिएको हो ।
तर, धितोपत्र जारी गरी लिएको ऋण वा विदेशी मुद्रा नेपालमा लगानी गर्नुपर्नेछ ।
धितोपत्र जारी गर्ने सम्बन्धी अन्य व्यवस्था सम्बन्धी प्रचलित कानुन बमोजिम हुने विधेयकमा उल्लेख छ । विदेशी संस्थागत लगानीकर्ताले कुनै उद्योग स्वपुँजी लगानी गर्ने प्रयोजनका लागि प्रचलित कानुनअनुसार कम्पनी स्थापना गरी पुँजी लगानी कोष स्थापना गर्न सक्नेछन् । पुँजी लगानी कोष खडा गर्ने संस्थागत विदेशी लगानीर्ताले धितोपत्र कारोबारका लागि धितोपत्र बोर्डमा दर्ता हुनुपर्ने सर्त उल्लेख छ । धितोपत्र बोर्डमा दर्ता भएको विदेशी लगानीकर्ताले ऐन बमोजिम विदेशी लगानी गर्न सकिने उद्योगको धितोपत्रको दोस्रो बजारमार्फत कारोबार गर्न सकिने विधेयकमा व्यवस्था गरिएको छ ।
धितोपत्र सम्बन्धी कारोबार गर्दा खरिद गर्नुपर्ने धितोपत्रको न्यँनतम् संख्या, लगानीको सिमा, धितोपत्र खरिद गरेपछि आफँले राख्नुपर्ने न्यँनतम् अवधि, धितोपत्र खरिद गर्न विदेशी मुद्रामा राख्नुपर्ने जगेडाका कोष (रिजर्भ फन्ड) र सो सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
विदेशी लगानी भएको कुनै उद्योगले प्रचलित नेपाल कानुन बमोजिम मन्त्रालयको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिमा विदेशी सरकार वा वित्तीय संस्थाबाट परियोजना ऋण वा परियोजना लगानी सम्झौता गरी ऋण लिन पाउने छन् । नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताले लगानी गर्न रकम र लगानीको हिस्साको अधिकतम् सीमा तोकिने छैन ।
सेवा उद्योगको हकमा नेपालले विश्व व्यापार संगठनको सदस्यता प्राप्त गर्दाका बखत सम्बन्धित क्षेत्र वा उपक्षेत्रका सम्बन्धमा बनाएको प्रतिबद्धताभन्दा कम नहुने गरी विदेशी लगानीको स्वपुँजीको अधिकतम् सीमा र धितोपत्रमा गरिने लगानीको सीमा तोक्न विधेयकमा उल्लेख गरिएको छ ।
त्यस्तै लगानी गर्ने विदेशी लगानीकर्ताले नेपालमा गरेको आफ्नो लगानीसम्बन्धी कामको लागि आफ्नो साझेदार लगानीकर्ता वा अर्को विदेशी लगानीकर्ता र नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बाणिज्य बैंकसँग सम्झौता गर्न सक्नेछ ।











प्रतिक्रिया